एजेन्सी – बार्सिलोना कप्तान लिओनेल मेसीले जारि सिजन फ्रिकिकबाट मात्र गोल गरेका छन् । मंगलबार राती भिल्लारियलविरुद्ध बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दा मेसीले ९० औं मिनेटमा फ्रिकिक प्रहार गरेका थिए ।

मेसीले लगातार फ्रिकिकमा गोल गरिरहँदा विपक्षी टोलीले भने मेसीका लागि फ्रिकिक र पेनाल्टी उस्तै रहेको बताउन थालेका छन् । भिल्लारियलका प्रशिक्षक जाभी कालेजाले मंगलबार ४-४ को बराबरपछि भने,’ मेसीका लागि फ्रिकिक पनि पेनाल्टी झैं गोल गर्ने अवसर भएको छ ।’
सन् २०१६/१७ मा पनि मेसीले ९० औं मिनेटमा भिल्लारियलका गोलरक्षक सर्जियो असेन्जोलाई फ्रिकिकमै गोल गरेका थिए । मंगलबारको खेलमा पनि त्यसै भयो । ‘जब कसैले फ्रिकिकको समयमा गोलरक्षक पोस्टमा हुँदा गोल गर्न सक्दैनन् भन्छ, मलाई हाँसो लाग्छ, ‘ गोलरक्षक असेन्जोले खेलपछि भने, ‘मैले फ्रिकिकबारे जोर्डी अल्बासँग कुरा गरें र उनका अनुसार मेसीले प्रशिक्षणमा पनि यस्तै गोल गरिरहेका हुन्छन् ।’
मेसीले बार्सिलोनाको पछिल्लो तीनै खेलमा फ्रिकिकआ गोल गरेका छन् । रियल बेटीसविरुद्ध फ्रिकिक छिराएका मेसीले एस्पान्योलविरुद्ध चिप सट प्रहार गर्दै गोल गरेका थिए । मंगलबार भिल्लारियलविरुद्ध फ्रिकिक पनि पोस्टमा लाग्दै गोलमा परिणत भएको थियो ।

शनिबार बार्सिलोनाले अंक तालिकाको शीर्ष स्थानमा महत्त्वपूर्ण असर गर्ने खेलमा एटलेटिको म्याड्रिडको सामना गर्दैछ । पछिल्लो पटक यी दुई टोली भिड्द मेसीको फ्रिकिक गोलमा नै बार्सिलोना १-० ले विजयी रहेको थियो ।
मेसीले हालसम्म बार्सिलोनाका लागि ४१ पटक फ्रिकिकमा गोल गरेका छन् । त्यसमध्य यसै सिजन ७ गोल गर्न सफल भएका छन् । त्यसका लागि उनले ६२ फ्रिकिक लिएका छन् । मेसीले यस सिजन समग्रमा ४२ गोल गरेका छन् र पछिल्लो सिजन गरेको ४५ गोलको आँकडा पार गर्न सह देखिन्छ ।
मेसीले मंगलबार भिल्लारियलविरुद्ध अन्तिम ३० मिनेट मात्र खेलेका थिए । बार्सिलोनाको लागि अबको दुई साता निकै महत्त्वपूर्ण रहेको छ । बार्सिलोनाले शनिबार एटलेटिको म्याड्रिडसँग खेलेपछि बुधबार म्यानचेस्टर युनाइटेडसँग ओल्ड ट्राफर्डमा खेल्दैछ । अप्रिल १३ मा हुएस्कासँग खेलेपछि अप्रिल १६ मा युनाइटेड क्याम नोउमा आउनेछ ।