काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० को एसिया क्षेत्र अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले सान्त्वाना जित निकालेको छ । प्रतिष्ठाको लडाई बनेको खेलमा नेपालले अन्तिम खेलमा इन्डोनेसियालाई २–१ ले पराजित गरेको हो ।
सुरुवाती दुई खेलमा पराजित हुदै तेस्रो चरण पुग्ने सम्भावना सकिएको नेपालले अन्तिम खेलमा भने इन्डोनेसियालाई पराजित गर्न सफल भयो । नेपाल अघिल्ला दुई खेलमा म्यानमार र भारतसँग समान ३–१ ले पराजित भएको थियो ।
म्यानमारस्थित बाथो स्टेडियममा मंगलबार भएको खेलमा नेपाललाई जिताउन दुवै गोल सावित्रा भण्डारीले गरिन् । इन्डोनेसियाका बेइक अमियाटन सालिहाले गोल गरिन् ।
खेलको ३६औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् । दोस्रो हाफको सुरुको दोस्रो मिनेटमै बेइक अमियाटन सालिहाले बराबरी गोल फर्काइन् । बराबरीतर्फ धकेलिएको खेलको १ मिनेट बाँकी रहँदा साम्वाले दोस्रो गोल गर्दै नेपालाई सान्त्वना जित दिलाइन् ।
नेपाल रहेको समूह ‘ए’ बाट आयोजक म्यानमारले तेस्रो चरणमा स्थान बनाउन सफल भयो । म्यानमारले आजै भएको अन्तिम खेलमा भारतसँग ३–३ गोलको बराबरी खेलेपनि गोलअन्तरमा अघि रहँदै तेस्रो चरणलाई छनोट हुन सफल भयो । छनोटमा म्यानमार र भारतले समान ७ अंक जोड्दा नेपालले ३ तथा इन्डोनेसिया अंकबिहीन बन्यो ।