टुरिन (एजेन्सी)– स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो आयक्सविरुद्ध बुधबार हुने च्याम्पियन्स लिग क्वार्टरफाइनलका लागि सुरुवाती रोजाईमा पर्ने पक्का भएको छ ।

गत महिना सर्बियाविरुद्ध युरोपियन च्याम्पियनसिप छनोटका दौरान रोनाल्डो ह्यामिस्ट्रिङ समस्याबाट गुज्रेका थिए । त्यसयता रोनाल्डो मैदान बाहिर रहँदै आएका छन् । तर, आयक्सविरुद्ध बुधबार हुने च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा उनी सुरुवाती रोजाईमा रहने भएका छन् ।
प्रशिक्षक मासीमिलानो एलेग्रीले खेलको पूर्वसन्ध्यामा रोनाल्डोले पहिलो रोजाइमा खेल्ने पक्का गरेका हुन् । ‘रोनाल्डोले टोलीसँग प्रशिक्षण गरेका छन् । उनले पहिलो रोजाइमा खेल्नेछन्,’ एलेग्रीले भने । रोनाल्डोले युभेन्टसका लागि एटलेटिको म्याड्रिडविरुद्ध ह्याट्रिक प्रहार गरेयता कुनै खेल खेलेका छैनन् । उनले चोटका कारण लिगअन्तर्गत जेनोआ, एम्पोली, काग्लियारी र एसी मिलानविरुद्ध खेल गुमाएका थिए ।
यता रोनाल्डोका सहकर्मी जोआओ क्यान्सेलो भने टोलीमा पर्ने नपर्ने निश्चित भएको छैन । ‘रोनाल्डो अभ्यासमा सामेल भइसकेका छन् । उनी मैदानमा उत्रन जे गर्न नि तयार छन् । मलाई लाग्छ उनी टोलीमा समेटिनेछन्,’ क्यान्सेलोले खेलको पूर्वसन्ध्यामा भने, ‘म नि ठिक छु । पिडौलाको दुखाईले मैले पछिल्ला दुई खेल खेल्न सकिन । रोनाल्डोले पहिलो रोजाईमा खेल्न नखेल्ने प्रशिक्षकले निर्णय गर्नेछन् ।’
लगातार आठौं पटक इटालियन सिरि ए जित्ने सम्भावना रहेको युभेन्ट्सले अंक तालिकामा २० अंकको अग्रता लिएको छ ।