एजेन्सी – प्रशिक्षक जिनेदिन जिदानले रियल म्याड्रिडका फरवार्ड ग्यारेथ बेललाई लिगअन्तर्गत भिल्लारियलविरुद्ध खेलको लागि टोलीबाट बाहिर राखेका छन् ।

पछिल्लोपटक घरेलु मैदानमा समर्थकहरुले बेलको प्रदर्शनप्रति निराशा व्यक्त गर्दै उनीविरुद्ध नाराबाजी नै गरेका थिए । जिदानले आइतबार बर्नाबाउमै हुने भिल्लारियलविरुद्ध खेलमा भने बेललाई टोलीमा राखेका छैनन् । चोटका कारण बाहिर रहेका ब्राजिलियन विंगर भिनिसियस उपलब्ध भएपछि जिदानले बेललाई टोलीमा नराख्नुले उनको भविष्य रियलमा नरहेको संकेतको रुपमा लिइएको छ ।
रियलको टोलीमा कप्तान सर्जियो रामोस, फरवार्ड करीम बेन्जेमा र अल्भारो ओड्रीओजोला पनि चोटका कारण उपलब्ध छैनन् । प्रशिक्षक जिदानले ड्यानी सेबलोस र लुका मोड्रीचलाई पनि यस खेलका लागि विश्राम दिएका छन् ।