एजेन्सी – निकै समयको कसरतपछि अन्तत: टोटेनहम हट्स्परका डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन इटालियन क्लब इन्टर मिलान जाने भएका छन् ।
इंग्लिस टोलीसँगको सम्झौता ६ महिनामात्र बाँकी रहेको अवस्थामा एरिक्सनले क्लब छाड्ने आशय व्यक्त गरेपछि इन्टरले उनलाई अनुबन्ध गर्ने प्रयास थालेको थियो । सन् २०१३ मा क्लबमा आबद्ध भएका एरिक्सनले क्लबका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए । एरिक्सनले इन्टरसँग व्यक्तिगत रुपमा भने सम्झौता गरिसकेका छन् । उनले टोटेनहममा पाइरहेको भन्दा दोब्बर तलब इन्टरमा कमाउनेछन् ।
दुई क्लबबीच एरिक्सनको ट्रान्सफर रकमलाई लिएर लामो समयदेखि छलफल चल्दै आएको थियो । इन्टरले १० मिलियन युरो दिने बताएपनि टोटेनहमले २० मिलियनभन्दा कममा खेलाडी नछाड्ने अडान लिएको थियो । इन्टरले बोनससहित २० मिलियनको सम्झौतामा अनुबन्ध राजी भएपछि एरिक्सन इन्टर जाने भएका हुन् ।
इन्टर हाल लिग तालिकाको दोस्रो स्थानमा छ । युभेन्टसले शीर्षस्थानमा ४ अंकको अग्रता कायम गरेको छ । प्रशिक्षक एन्टोनियो कोन्टेले आफू इटालियन क्लबको जिम्मेवारीमा पुगेपछि प्रिमियर लिगबाट खेलाडी अनुबन्ध गरेको यो पाँचौ अवसर हो । यसअघि यसै विन्डोमा भिक्टर मोसेस पनि लोनमा इन्टर मिलान पुगेका थिए ।
इन्टरले म्यानचेस्टर युनाइटेडबाट नै पछिल्लो ६ महिनामा तीन खेलाडी अनुबन्ध गरेको छ । समर विन्डोमा रोमेलु लुकाकु र एलेक्सिस सान्चेज भित्र्याएको इन्टरले केहि दिनअघि मात्र एस्ली योङलाई अनुबन्ध गरेको थियो । सान्चेज भने लोनमा इन्टर पुगेका हुन् । कप्तान योङले छोडेपछि ह्यारी मगाएरलाई युनाइटेडले कप्तानको जिम्मेवारी सुम्पिएको थियो ।