काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ताको टोलीले इन्डोनेसियन लिग वानमा विजयी सुरुवात गरेको छ ।
घरेलु मैदानमा आइतबार भएको खेलमा पर्सिजाले बोर्नियोलाई ३–२ ले हराएको थियो । रोहितको टोलीले हाफमा २–० को अग्रता बनाएको थियो । ओस्भाडो हेले २१ औं मिनेटमा गोल गर्दै पर्सिजालाई अग्रता दिलाएका थिए भने मार्को सिमिकले ३६ औं मिनेटमा गोल थपेका थिए ।
फ्रान्सिस्को वाङ्सेले ७१ औं मिनेटमा गोल फर्काएका थिए । इभान डिमास डामोनोले ८६ औं मिनेटमा गोल गर्दै पर्सिजालाई ३–१ ले अग्रता दिलाएका थिए । रिउजी उटोमो प्रावोओले इन्ज्युरी समयको चौथा मिनेटमा आत्मघाती गोल गरेपछि अन्तर घटेको थियो ।
रोहितको टोलीले अघिल्लो सिजन भने औसत प्रदर्शन गरेको थियो । दुई वर्षअघि भने टोली लिग च्याम्पियन बन्दा रोहित सर्वोत्कृष्ट खेलाडी समेत बनेका थिए ।