6 years ago
April 2, 2020
कप्तान कथन
गणेश थापा, पूर्वकप्तान – राष्ट्रिय फुटबल टोली
मेरो जन्म २०१६ सालमा भएको हो । केही सिक्ने उमेर पुगेदेखि नै फुटबल खेलियो । खुट्टाले हानेर खेलियो, कहिले झुम्रो कोचेको डल्लोलाई कहिले भकुण्डो जस्तो देखिने रबर वा अन्य वस्तुलाई । हो हामीले सुरुवाती दिनमा खेल्ने फुटबल त्यस्तै थिए । अहिले जस्तो खेल्न मन लाग्यो कि कहाँ उपलब्ध हुन्थ्यो र फुटबल ।

बाटोमा खेलियो । खाली ठाउँ जहाँ भेटियो, त्यहीँ खेलियो । सानोमा त खाली खुट्टा नै खेलियो । अलि ठूलो भएपछि कपडाको जुत्ता लगाउन थालियो । साना हुँदा बुट त देखिएन । मैले फुटबल बुट देखेकै अलि ठूलै भएपछि हो । हेटौँडामा एउटा साथीले भारतबाट ल्याएको थियो, त्यहि बेला पहिलो पटक बुट दर्शन भयो । तर, बुट नदेख्दा र नलाउँदैमा खेलाडी भने कमजोर थिइन, राम्रै खेल्थ्येँ । बुवाले निकै खेल्न निकै सहयोग र समर्थन गर्नु भयो । सधैँ हौसला दिनुहुन्थ्यो । जे गरे पनि पहिलो हुनुपर्छ भन्नु हुन्थ्यो । उहाँका ति भनाइ आजसम्म मनमा ताजै छन् ।
सुरुमा गाउँ टोलमा खेलियो । त्यसपछि स्कुल स्तरमा । जिल्ला, अञ्चल हुँदै १७ वर्षको हुँदा त राष्ट्रिय टोलीबाटै खेल्न थालेको थिएँ । सन् १९७८ मा होला, त्यो बेला राष्ट्रिय टोली भन्ने हुँदैन थियो, नेपाल ११ भनेर टोली बनाइएको थियो । भारतीय क्लब मोहन बगानसँगको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेँ । त्यसपछि आगा खाँ गोल्ड कप खेल्न बंगलादेश जाने मौका पाएँ ।

त्यसपछि राष्ट्रिय टोलीबाट लगातार खेलेँ । क्लबमा चाहिँ सुरुमा संकटा, त्यसपछि एनआरटी, फ्रेण्डस क्लब अनि आरएनएसीबाट पनि खेलेँ । घरेलु लिगमा सबै भन्दा धेरै चाहिँ फ्रेण्डस्बाटै खेलेँ । यस्तै विदेशीका क्लबबाट पनि खेलेँ । बंगलादेशको प्रसिद्ध क्लब मोहमण्ड तथा भारतीय क्लबबाट पनि खेलेँ ।
मेरो पोजिसन स्ट्राइकरको थियो । त्यसैले धेरै गोल गरियो । हेड राम्रो थियो, भली पनि राम्रो थियो । त्यसको प्रभाव परेको हुन सक्छ, अहिले पनि धेरैले मन पर्ने खेलाडीको रुपमा मेरो नाम लिँदा खुशी लाग्छ । मलाई चाहिँ नेपालका मणि शाह तथा विदेशी खेलाडीमा म्याराडोना बढी मन परे ।
मणि राम्रा खेलाडी हुन् । उनी अलि होचा भए पनि फुटवर्क राम्रो थियो । हामी मैदानमा निकै तालमेलका साथ खेल्थ्यौँ । धेरै रमाइला क्षण बिताइयो ।
गोल त धेरै गरियो । पाकिस्तानमा भएको खेलको क्रममा चीनको राष्ट्रिय लिगमा दोस्रो भएको स्याङ्गडोङ्ग क्लबलाई नेपालले हराएको थियो । त्यसमा मैले गोल गरेको थिएँ । सेन्टरबाटै लगेर गरेको गोलको अहिले पनि सम्झना आउँछ । सायद यो सन् १९८३ तिरको कुरो हुनु पर्छ ।

राष्ट्रिय टोलीको कप्तानी गर्दाका दिनले सधैं गौरवान्वित तुल्याउँछ । सन् १९८५ देखि १९९० सम्म कप्तानको भूमिका निभाएँ । खेलाडी मात्रै हुनु र कप्तान हुनुमा अवश्य फरक हुने नै भयो । तर नेतृत्व गर्ने क्षमता रहेकाले सजिलै आफ्नो भूमिका निभाएँ । खेलाडी, प्रशिक्षक र पदाधिकारीबिच पुलको काम गरियो । टिम स्पिरिट कम हुन दिइन । सम्झिँदा रमाइलो लाग्छ । रुपकराज शर्मा दाइको कप्तानीमा खेलेको र उहाँ पछि मैले कप्तानको जिम्मा पाएकाले उहाँको प्रभाव ममा पनि थियो ।
नेपालमा आधुनिक फुटबलको सुरुवात हुँदा कै बेला टोलीबाट खेल्ने मौका पाएँ । जर्मन प्रशिक्षक रुडी गुडन्डोर्फले नेपाली फुटबलमा आधुनिक फुटबलको स्वाद पस्किएका हुन् । हामी त उनीसँग निकै डराउँथ्यौँ । धेरै सिक्ने मौका पनि पायौँ । अहिले पनि उनैले बसालेको जगमा त छ, नेपाली फुटबल । त्यसरी नडराएको भए वा नसिकेको भए कहाँ उत्कृष्ट खेलाडी हुन सकिन्थ्यो र ? विसं २०३५ मा सर्वोत्कृष्ट खेलाडी बनेर राखेपबाट एक तोला सुन पनि कहाँ पाउँथेँ होला र ?

मेरो जीवन फुटबलबाट सुरु भयो र अहिलेसम्म पनि त्यसकै सेरोफेरोमा घुमिरहेको छ । पहिले खेलाडी, त्यसपछि टोलीको कप्तानीको जिम्मेवारी । अनि पछि आएर व्यवस्थापकको रुपमा पनि काम गरेँ । बाहिर जे–जस्ता कुरा गरिए पनि मैले गरेको काममा मलाई कुनै गुनासो र पछुतो छैन । परिबन्धमा परेर प्रतिबन्ध लाग्यो, त्यसको भने दुःख छ । तर फुटबलका लागि जे गरेँ त्यसलाई सम्झिँदा जहिले खुशी नै लाग्छ ।
नेपाली फुटबललाई आवश्यक आधारभूत विषय तयार नै छन्, अहिलेको आवश्यकता भनेको त्यसलाई थप राम्रो बनाउने मात्रै हो । राम्रा खेलाडी छन् । मैदान खेल्दा तनावको बेला अलि रिस पनि उठ्दो रहेछ, मेरो अनुभवले सिकाएको हो । त्यसलाई नियन्त्रण गर्न सके राम्रो हुने रहेछ । अहिलेका खेलाडीले पनि यो कुरामा ध्यान दिनु पर्छ ।

म सारो रिसाउँथेँ, रुपक दाइले मलाई सम्झाउनु भयो, त्यसपछि रिस कन्ट्रोल गर्न सिकें, अनि पो टोलीलाई राम्रो बनाउन सकियो । अहिले पनि टिम स्प्रिट भयो र भएका सुविधाको विस्तार गर्न सकियो भने नेपाली फुटबलको भविष्य राम्रो देखिन्छ । तर त्यसका लागि गर्नु पर्ने सबैभन्दा महत्वपूर्ण कुरो भनेको खेलमा राजनीति पस्न दिनु हुँदैन । अनि विकास त हुँदै जान्छ ।
साभार– फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक स्मारिकाबाट गरिएको हो । मिसनसँग हाम्रो खेलकुद डटकमले अनलाइन सहकार्य गरेकाले आउने दिनमा स्मारिकामा रहेका अन्य लेख क्रमश: प्रकाशित हुनेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]