5 years ago
March 31, 2020
कप्तान कथन
अच्युतकृष्ण खरेल, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान
जब हामीले सहज रुपमा खेल्ने वातावरणसमेत पाएका थिएनौं, तबदेखि मेरो मनमा खेलप्रतिको लगाव झाङ्गिँदै गएको थियो । ७१ वर्षअघि काभ्रेपलान्चोकको खरेलथोक गाविसमा जन्मिएको म जस्ताले खेल्ने खेल सिमित नै हुन्थे । डन्डिबियो, कपर्दी अनि उफ्रने, हामफाल्ने जस्ता खेल नै हामीलाई खुसी राख्न पर्याप्त थिए । त्यसबेला काठमाडौंमा जन्मिएकाले हामीभन्दा बढीमा केहि खेल्थे भने त्यो गुच्चा नै थियो ।
११–१२ वर्षको हुँदो हुँ, पढाइकै सिलसिलामा काठमाडौंको पद्मोदय माध्यामिक विद्यालयमा कक्षा ४ मा भर्ना भएपछि मेरो खेलजीवनले पनि एउटा लय समात्यो । त्यसबेला हाम्रा खेल शिक्षक हुनुहुन्थ्यो, वसन्तकुमार शर्मा । काठमाडौं आएपछि मेरो रुचि खेल्नतिर बढ्दै गयो । त्यसमाथि ५ नम्बरको भकुन्डो नै खेल्ने रहर भने हरेक दिन बढ्दै जान थाल्यो । तर, हामी जस्ता स्कुले ठिटाका लागि त्यो भकुन्डो खेल्न पाउनु सम्भव नै थिएन । त्यो ५ नम्बरको भकुन्डो खेल्न नपाए पनि हामीसँग विकल्पै नभएको कहाँ हो र, भोगटेलाई भकुन्डो बनाएर खेल्दा कपित पटक खुट्टाका नङसमते उप्कन्थे ।
हुन त विद्यालयमै पनि एउटा भकुन्डो त थियो नै, तर खेल्न रहर गर्ने धेरै भएकोले त्यसबाट हाम्रो खेल्ने हुटहुटी पूरा हुँदैन थियो । फुटबल खेल्ने रहरलाई कहिल्यै मार्न सकिएन । केही नभए पनि दाजु यादव खरेलले ठूलासँग मिलेर खेलेको हेर्न म टुँडिखेलसम्म पुग्थे । तर, दाजुले देख्यो कि घर जा भने हप्काइहाल्ने । तैपनि मैदान बाहिर आएको बल समातेर दिँदा नै आनन्द आउँथ्यो । त्यो मोहलाई समेत त्याग्न नसक्दा गाली खाएरै भए पनि म खेल हेरिरहन्थें । बल कहिले मैदानबाहिर आउला भनेर ढुकिरहन्थे ।
हामी (दाजु राम खरेल र म) फुुटबल खेल्नकै लागि टुकुचा पूर्वको टोली बनाएर टुँडिखेल पुग्थ्यौं । त्यसबेला काठमाडौं सानो थियो । टुकुचा पश्चिमलाई सहर भनिन्थ्यो अनि हामी धोबिधारामा बस्नेलाई गाँउले । टुँडिखेल आजको जस्तो सङ्कीर्ण थिएन । रानीपोखरीदेखि आजको दशरथ रंगशालासम्मै एउटै विशाल चौर थियो । त्यसबेला हाम्रो टोलीसँग भकुन्डो हुँदैन थियो । त्यसैले जोसँग भकुन्डो छ, त्यही टोलीसँग एक मोहरको बाजी खेल्ने । यसरी पूरा गरिन्थ्यो, फुटबल खेल्ने रहर ।
त्यसबेला जर्सीको चलन पनि थिएन । टस गर्यो जसले जित्यो उसले लुगा लगाएर खेल्ने । हार्ने टोलीको कपडा फुकालेर गोलपोष्ट बनाइन्थ्यो । त्यस्तो पोष्टमा हानेको गोल सधै विवादित नै हुने । खेल जित्दा समेत सहरिया काठमाडौंवासीले बाजी थापेको एक मोहरसमेत नदिएको घटना धेरै छन् । एकपटक त्यही विषयमा झगडा पर्दा उनीहरुले हामीलाई लखेटेको अहिलेसम्म पनि बिर्सन सक्दिनँ । धन्न दाजुभाई अलग अलग नै सही लुक्न सकेकाले पिटाइ भने खाएनौं ।
८–९ कक्षामा पढ्ने भएपछि विद्यालयको टोलीमै स्थान बनाउन थालेँ । वसन्त सरले सधै खेल्न जाुनअघि सगुनका रुपमा अन्डा खुवाउनुहुन्थ्यो । रहर त थियो, अन्डा खाने, तर परिवारिक सोचका कारण त्यो रहर पूरा हुन सकेरहेको थिएन । तर, फुटबलले नै मलाई अन्डा खाने बनायो । त्यसबेला विद्यालयस्तरीय फुटबलमा खेल्न उचाई ५ फिटभन्दा बढी हुनुहुँदैन थियो । त्यसबेला शरीरमा साइकलका ट्युब बाँधेर एकाध इन्च घटाउने प्रयोगसमेत गरिन्थ्यो । विद्यालयस्तरीय देवीमाया ममोरियल सिल्ड खेल्न पाउनु नै मेरो फुटबल जीवनको महत्वपूर्ण मोड बन्यो । मेरो खेल जीवनका हरेक सफलताको जस म त्यही प्रतियोगितालाई दिन्छु ।
तैपनि बुट लाएर खेल्ने चाहना भने पूरा गर्न सकिएन, स्कुले जीवनमा । कलेज टोलीमा पर्न थालेपछि दाजु मोहनकृष्ण खरेलको पुरानो बुट लगाएर खेल्ने मौका पाइयो । जीवनमा पहिलो पटक पुरानो नै सही बुट लगाएर खेलेको खेलमा बेस्ट प्लेर घोषित हुँदा फुटबल खेल्ने उर्जा झनै थपियो । तैपनि, ‘खेलेर कसरी जीवन धान्छन्’ भन्ने गाली सुनी नै रहनुपर्थ्यो, घरमा । फुटबल खेल्ने सनककै कारण २०२१-०२२ साल तिर पहिलो पटक मेरा पाइतालाले दशरथ रंगशालाको मैदान टेक्यो ।
महावीर क्लबबाट खेल्न सुरु गर्दा म नै सबै भन्दा कान्छो खेलाडी थिएँ । सबैले माया गर्थे । त्यही कारणले होला मलाई क्लबको कप्तान नै बनाइयो । त्यसबेला अहिलेजस्तो प्रशिक्षक हुँदैन थिए । खेलाडीले नै आफ्नो पोजिसन मिलाउनुपथ्र्यो । सबैले आफ्नो पोजिसन छानेपछि मलाई सेन्टर हाफबाट खेल्न भनियो । मलाई त्यो पोजिसनमा रहेर कसरीले खेल्ने भन्ने थाहै थिएन ।
सिनियर खेलाडी आरबी राजालाई त्यो पोजिसनबाट कसरी खेल्ने भनेर सोधें । उहाँले ‘जसरी मन लाग्छ त्यसरी खेल’ भन्नुभयो । दिक्क लाग्यो । सेन्टर हाफको काम पूरा मैदान भ्याउनुपर्ने रहेछ, तर मेरो सौभाग्य, त्यही प्रतियोगितमा मैले बेस्ट म्यान कप जितें पनि । महावीरबाट खेल्दा पनि चन्दा उठाएरै जर्सी बुट किन्नुका साथै डाइटका रुपमा जेरी स्वारी समेत खानुपर्थ्यो ।
मेरै नेतृत्वमा पहिलोपटक नेपालको अन्तर्राष्ट्रिय फुटबल टोली समेत बनाइयो । टोलीको प्रशिक्षणका लागि भारतबाट थापर र किटु तथा कोरियबाट चाङलाई ल्याइयो । मेरै नेतृत्वमा विभिन्न मुलुकमा च्याम्पियनसिप तथा मैत्रीपूर्ण खेल खेलियो । जो भविष्यको टोलीलाई मार्गदर्शकसमेत बन्यो ।
सन् १९७१ मा जापानको टोकियोमा एसियन युथ खेल्न जाँदा पहिलोपटक एक लाख दर्शक अटाउने रंगशाला देखें । प्रतियोगिताअघि सबै टोलीको मार्चपास गर्ने ड्रेस थियो, हामीबाहेक । हाम्रो अवस्था देखेर एक जापनी कम्पनीले हामी सबैलाई पाइन्ट प्रायोजन गरेको सम्झना कहिल्यै मेटाउन सकिनँ । त्यही प्रतियोगितामा खेल्न जानुअघि मैले बिएससी पास गरेर प्रहरी सेवाका लागि प्रहरी अधिकृत तालिम लिरहेको थिएँ । प्रशिक्षक किटुले मलाई पनि टोलीमा राखेछन् ।
त्यसबेला स्वर्गिय कुमार खड्गविक्रम शाह राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव भएका कारण फुटबल प्रशिक्षण लिन त कठिन भएन । प्रशिक्षणका लागि लिन र छाड्न गाडी नै आउँथ्यो । तर, जापान जान भने मलाई मनै थिएन । तत्कालीन डिआइजी खड्गजित बरालले जापान जाने भए तालिम छाड्नुपर्ने बताउनुभयो । म त्यो पक्षमा थिइनँ । राखेपका तत्कालिन सदस्य सचिव शाहलाई आफ्नो कुरा सुनाएँ ।
तत्कालीन श्री ५ महाराजाधिराजका ज्वाइँ उहाँले तालिम छाडेर जान नपर्ने बरु खेलेर आएपछि परीक्षा बस्न दिने आश्वासन दिलाउनुभयो । म पनि मख्ख परेर जापानसमेत हेर्न पाउने मोहका साथ टोलीको नेतृत्व गर्दै त्यहाँ गएँ । तर, फर्कंदा केही अधिकृतहरुको मनमुटावका कारण मैले पास आउट परिक्षा दिन नपाउने भएँ । धन्य तत्कालनि प्रधानमन्त्री कीर्तिनिधि विष्टका कारण प्रहरी अधिकृत बन्न मैले थप अर्को एक वर्ष कुर्नु भने परेन ।
त्यसअघि पाकिस्तान र बंगालदेश छुट्टिनुअघि आगा खाँ गोल्डकप खेल्न नरशमशेर जबराको अगुवाइमा ढाका गइयो । त्यो टोलीको कप्तान मै थिएँ । हामीलाई ढाकाको सुविधा सम्पन्न शाहवाग होटलमा राखियो । नढाँटी भन्नुपर्दा म त्यसअघि त्यति सम्पन्न होटलमा कहिल्यै बसेकै थिइनँ । यस्तै नयाँ दिल्लीमा डिसिएम कप खेल्न जाँदा तत्कालनी राजा महेन्द्रले त्यहाँस्थित नेपाली राजदूतावासमा हामीलाई दर्शनभेट बक्सियो । हामी गौरवान्वित भयौं । खेलकुदले समाजिक इज्जत नपाएको तत्कालीन अवस्थामा खेलाडीमा यस्ता भेटले हौसला बढाउँदो रहेछ । त्यसपछि हामीले उपाधि जित्नै नसकेपनि राम्रो भने खेल्यौं ।
मैले जीवनमा असंख्य प्रतियोतिगमा मुलुक र आफ्नो क्लबका लागि नेतृत्व गरेँ । हामीले खेल्ने दिनमा अर्थात् सन् ७० को दशकमा जापान, कोरिया, कुवेत जस्ता एसियाली मुकुलहरु हामीभन्दा केही मात्रामा मात्र माथि थिए । तर, उनीहरुले त्यही बेलादेखि भौतिक पूर्वाधारमा लगानी गर्न थालिसकेका थिए । हामी भने आजसम्म त्यही थोत्रा पूर्वाधारमा खेलिरहेका छौं । जसले गर्दा समयको गतिसँगै हुनुपर्ने विकास त नेपाली फुटबलमा भएको छ, तर छलाङ मार्न भने कहिल्यै सकेन । त्यसैले कसैले यो खेलको विकास गरेँ भनेर ठकुवा नगरे पनि हुन्छ ।
बरु नेपाल प्रहरी र नेपाली सेनाले आफ्नो क्षमताले भ्याएसम्म खेलाडी र खेलको संरक्षण गरिरहेका छन् भन्ने मलाई लाग्छ । साथै नयाँ खेलाडीलाई मौका दिनुपर्छ भन्ने विश्वासमा पनि म सधै अडिग छुँ । हुन त राष्ट्रिय टोलीबाट २०३२ सालमै बिदा लिएँ । तर, पुलिस क्लबका लागि भने खेली नै रहेको थिएँ ।
तर, २०३४ सालमा विराटनगरमा महेन्द्र गोल्डकपको फाइनलमा मेरो नेतृत्वमा खेलेको खेल महेन्द्र पुलिस क्लबले भारतको भागपुरलाई १–० ले हराएर उपाधि जितेलगत्तै मैले खेलाडी जीवनबाट सन्न्यास लिएँ । ससुराली सहरमा खेलेको जीवनको अन्तिम खेलमा सर्वोत्कृष्ट खेलाडी समेत घोषित भएँ । मैले जीवनमा जति क्लब राष्ट्रिय टोलीबाट खेलें सधै कप्तान नै रहे । मेरो जीवनको यो पनि मीठो संयोग नै हो ।
साभार– फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक स्मारिकाबाट गरिएको हो । मिसनसँग हाम्रो खेलकुद डटकमले अनलाइन सहकार्य गरेकाले आउने दिनमा स्मारिकामा रहेका अन्य लेख क्रमश: प्रकाशित हुनेछ ।
February 8, 2025
हिमाल खरेल,बिर्तामोड सुनकला राईको ४ गोल मद्दतमा आयोजक बिर्तामोड नगरपालिकाले प्रथम झापा अन्तरपालिका महिला फुटबल प्रतियोगितामा सानदार सुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शनिवार उद्घाटन खेलमा बिर्तामोडले छिमेकी पालिका बुद्धशान्ति गाउँपालिकालाई ५-० गोल हरायो । एकोहोरो दबाब सिर्जना गरेको खेलमा बिर्तामोडका लागि सुनकलाले १० औं, १७ औं, १९ औंमा गोल गर्दैै ह्याट्रिक पूरा […]
February 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा शनिवार आयोजक ‘बी’ टोली र ग्रिन भिलेज एजुकेशन फाउण्डेशनबिचको खेल २-२ बराबरीमा टुंगिएको छ। खेलमा ग्रिन भिलेजका स्वप्निल निल बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलएका थिए । सो पछि ग्रिन भिलेजबाट आत्मघाती गोल उपहार दिएपछि खेल […]
February 8, 2025
हिमाल खरेल, बिर्तामो सहिद स्मारक ‘बी’ डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौं झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नव ज्योति युथ क्लबलाई १–० ले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८ औँ मिनेटमा गरेको […]