default_image

4 years ago

March 30, 2020

नेपालमा फुटबलको उदय

नेपालमा कहिलेदेखि फुटबल खेल्न सुरु गरियो भन्ने आधिकारिक दस्तावेज नभेटिए पनि सन् १९२० को दशकदेखि नेपालमा खेल्न सुरु गरिएको भनाइ बलियो छ । तत्कालीन राण शासकहरुको प्रमुख गन्तव्य भारतको कोलकाता हुने गर्थ्यो । कोलकाता फुटबलका लागि अति प्रसिद्ध सहर । अंग्रेज शासकका कारण बेलायतमा खेलिने हरेक खेल भारतमा पनि लोकप्रिय थियो नै । त्यो बेला […]

276 views

0 Bookmark

नेपालमा कहिलेदेखि फुटबल खेल्न सुरु गरियो भन्ने आधिकारिक दस्तावेज नभेटिए पनि सन् १९२० को दशकदेखि नेपालमा खेल्न सुरु गरिएको भनाइ बलियो छ । तत्कालीन राण शासकहरुको प्रमुख गन्तव्य भारतको कोलकाता हुने गर्थ्यो । कोलकाता फुटबलका लागि अति प्रसिद्ध सहर । अंग्रेज शासकका कारण बेलायतमा खेलिने हरेक खेल भारतमा पनि लोकप्रिय थियो नै ।

त्यो बेला घुम्न र पढाईका सिलसिलामा कोलकाता जाने राणाहरुले फुटबल खेल नेपाल भित्र्याएको तथ्य भने पुष्टि हुन्छ । तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरका नाति नरशमशेर जबराले यो खेलको विकासमा योगदान दिएको अभिलेखहरुमा पाइन्छ । तर, उनले नै यो खेल नेपालमा भित्रएको हो भनेर किटान गर्ने आधार भने भेटिएको छैन । तर उनको योगदानका कारण यो खेल लोकप्रिय र सर्वसाधारणमा परिचित भने भएको हो ।

सुरुवाती कालखण्डमा राणाका दरबारभित्र मात्र सीमित यो खेल बिस्तारै सर्वसाधारणले पनि खेल्न थाले । विशेषगरी भारतमा अध्ययन गरेर फर्किएका युवाहरुकै कारण यो खेल प्रसिद्ध बन्दै गयो । छिमेकीको प्रभावकै कारण काठमाडौं उपत्यकासँगै भारतीय सीमा क्षेत्रमा बसोबास गर्नेमाझ पनि यो खेल लोकप्रिय बन्यो । यद्यपी, मोफसलमा फुटबल खेलको विकासमा अनेकौं रहस्य अझै पनि ओझेलमै छन् ।

१९९५ सालमै पहिलो पटक नेपालमा अनाधिकारिक लिग फुटबल सुरु भएको हो । यसको श्रेय नरशमशेरलाई नै जान्छ । नरशमशेर अन्य खेलसँगै फुटबलका पनि अति नै पारखी थिए । उनी खेल्नका लागि अनकौं बहाना बनाएर कोलकाता जान्थे । सुरुवाती समयमा फुटबल अति नै झगडालु खेल मानिन्थ्यो । प्रायः खेल झगडामा नै सकिन्थे । ९० सालताका बिरामीकै बहाना बनाएर कोलकाता गएका नरशमशेको मनमा त्यहाँ झै यहाँ पनि लिग फुटबल गराउने चाहना उब्जियो ।

त्यतिबेला, काठमाडौंमा सिंहदरबार, लक्ष्मीनिवास, टंगाल दरबार, जावलाखेल, नरसिंह क्याम्प, बबरमहल, पाटन दबारभित्र फुटबल खेल हुने गथ्र्यो । नरशमशेरको अथक प्रयासपछि नेपालको पहिलो अनाधिकारिक लिग फुटबल आयोजना भयो, १९९५ सालमा । त्यो लिग पाटन टुंडिखेलमा गर्ने निर्णय पनि गरियो , जहाँ अहिले सेनाको राजदल गणको ब्यारेक छ । त्यो लिगमा नरशमशेरको सक्रियतामा जावलाखेल, भारतीय दूतावासका कर्मचारीमिश्रित ठमेल, डिल्लीबजारको महावीर क्लब, पाटन, क्रषिकेश शाहहरुको सक्रियातामा गठिन इन्टर इन्टिस्च्युटलगायत टोली समावेश थिए ।

लिग एक घन्टा खेलाइन्थ्यो । सबै खेलाडी खाली खुट्टै मैदानमा उत्रिन्थे । त्यतिबेला खेल्ने फुटबल पाकिस्तानको सियालकोटबाट झिकाउने गरिन्थ्यो । रबरको ब्लाडरमा हावा हालेर बाहिर छालाले बेरेर लेस बाध्नुपर्ने बलबाट खेलाईएको नेपालको पहिलो अनाधिकारिक लिग झगडाकै कारण पूरा भने हुन सकेन ।

कारण थियो, जवालखेल र ठमेलबीचको खेलमा नरशमशेर र रामनारायण मित्रबीचको झगडा । नरशमशेर त्यतिबेला शासकीय रुपमा निकै शक्तिशाली थिए । भन्ने गरिन्छ, खेलमा कहिल्यै हार्न हुँदैन भन्ने मान्यता उनीमा थियो । त्यही मान्यताले भारतीय दूतावासका कर्मचारी रामनारायण र उनीबीच मैदानमा झगडा भएको थियो ।

त्यतिबेला दूतावासका थुप्रै कर्मचारी फुटबल खेल्न ठमेल ११ मा आबद्ध हुन्थे । अहिले भारतीय दूतावास भएको ठाँउको नाम लैनचौर हुनुमा पनि ती भारतीय खेलाडीको ठूलो हात रहेको मानिन्छ । त्यतिबेला दूतावासमा बस्ने केटालाई लैन छोकडा (केटा) भनेर बोलाउने गरिन्थ्यो । त्यही लाइनमा चौर थियो, अहिले स्काउट भएको ठाँउमा । पछि त्यहीँ दुइटा नाम अपभ्रंश हुँदै त्यो ठाँउको नामै लैनचोर बन्न गयो, भन्ने भनाइ छ ।

भनिन्छ, ती दुईको झगडा त्यबेलाका राणा प्रभानमन्त्रीकहाँ समेत पुगेको थियो । त्योबेला सत्तामा रहेका राणाहरुको भनाई थियो, ‘राणाहरुले जनतासँग झगडा गर्नुहुन्न ।’ अनि उनीहरुले सो लिग नै बन्द गराइदिए । जसले गर्दा लामो समयसम्म लिग फुटबल आयोजना पनि हुनै सकेन । राणा शासकहरुको चाहना पनि त्यहीँ थियो ।

हुन त नरशमशेरकै सक्रियातामा २००८ सालमा नै नेपाल फुटबल संघ गठन भएपछि आधिकारिक लिगका रुपमा आयोजित रामजानकी कप नै कालान्तरमा नेपाली फुटबल विकासको मेरुदण्ड बन्न पुग्यो । २०१० सालमा रक्षा दल (हाल नेपाल प्रहरी) ले रामजानकी कपको पहिलो तीनवटै संस्करण जितेर सिल्ड नै पचाएपछि सो लिग पनि संकटमा पर्यो । त्यसका लागि सिंहदरबारमा लामै बैठकसमेत बस्नुपरेको थियो । त्यतिबेला रक्षा बाहिनीका आइजी थिए, ज्ञानबहादुर याकथुम्बा ।

उनकै नेतृत्वमा सिंहदरबारमा बसेको बैठकमा रक्षा बाहिनीका खेलाडीले प्रस्ताव राखेछन्, रामजानकी कपलाई किन सहिद नामाकरण नगर्ने ? वास्तवमा रक्षा बाहिनीका सबै खेलाडी २००७ सालको स्वतन्त्रता आन्दोलनमा सक्रिय भएर लडेका थिए । त्यसैले उनीहरु राणा विरोधी आन्दोलनमा सहिद भएकाहरुको सम्मानमा लिगको नाम राख्न चाहन्थे । यो प्रस्ताव याकथुम्बालाई खुब मन परेछ । उनी तुरुन्त राजी भए ।

त्यसपछि बैठकले निर्णय गर्यो, नेपालमा लिग फुटबलको अवधारणा मर्न नदिन रक्षा दलले रामजानकी कपको स्थापना तत्कालीन नेपाल फुटबल संघलाई सहिदहरुको नाममा एउटा ट्रफी निर्माण गरेर हस्तान्तरण गर्ने । र, त्यो ट्रफीको नाम सहिद स्मारक लिग राख्ने । बैठकमा सर्वसम्मत निर्णय त भयो, तर ट्रफी निर्माणका लागि आवश्यक पैसा कहाँबाट जुटाउने ?

त्यतिबेला रक्षा बाहिनीसँग खेलकुद गतिविधिका लागि खचै गर्न छुट्टै रकम थिएन । २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि लडेका मुक्तिसेना समावेश गरेर त्यति बेला रक्षा दल गठन गरिएको थियो । त्यसैले त्यही बैठकबाट अर्को प्रस्ताव पनि पास भयो, सहिदको नाममा बनाइने सिल्डका लागि आवश्यक रकम रक्षादलमै कार्यरत सुरक्षार्कीबाट उठाउने ।

फुटबलको यो अनिभयानलाई सबै सरक्षाकर्मीले साथ दिए । चन्दाका रुपमा १–२ रुपैयाँ उठाउने काम तीब्र बनाइयो । रक्षा दलले १४ हजार रुपैयाँमा नेपालमै सिल्ड बनायो । र आइजी याकथुम्बाले २०११ सालमा सो सिल्डलाई सहिद स्मारक लिग नामकरण गर्दै नेपाल फुटबल संघलाई उपहार दिए । जुन लिग अहिलेसम्मै सञ्चालनमा छ ।

त्यसपछि २०११ सालमा युद्धविक्रम शाह (श्याम शाह) को कप्तानीमा कोलकातामा भारतीय फुटबल संघ (आइएफए) कप खेल्न गएको टोली नै नेपालको पहिलो राष्ट्रिय टोली बन्यो । यद्यपि, त्यसबेला र कालान्तरमा केही वर्ष नेपाल–११ का नाममा राष्ट्रिय टोली बनाइन्थ्यो । विसं २०२० को दशकपछि नेपालमा विभिन्न प्रतियोगिता आयोजना भए पनि विदेशमा खेल्न भने कमै लगिन्थ्यो । तत्कालीन नेपाल फुटबल संघ आर्थिक रुपमा बलियो नरहेका कारण पनि नेपाली खेलाडीलाई विदेशी भूमिमा अनुभव सँगाल्न गाह्रै थियो ।

सन् १९६३ मा तत्कालीन पूर्वी पाकिस्तानको ढाकामा आयोजित आगा खाँ गोल्डकपमा पाकिस्तान पुलिसलाई हराउँदै नेपाल–११ ले पहिलो अन्तर्राष्ट्रिय खेल जित्यो । त्यो खेलमा नेपाललाई जित दिलाउन प्रकाशविक्रम शाहले गोल नै नेपालले विदेशी टोलीविरुद्ध गरेको पहिलो गोल पनि थियो । शाह अन्तर्राष्ट्रिय खेलमा गोल गर्ने पहिलो नेपाली फुटबलर बने ।

नेपालले सन् १९६९ मा अन्तर्राष्ट्रिय फुटबल खेल्ने मान्यता पाएको थियो । त्यही समयमा अखिल नेपाल फुटबल संघ अस्तित्वमा आयो । त्यसपछि अच्युतकृष्ण खरेलको कप्तानीमा बनाएको टोली नै आधिकारिक रुपमा नेपालको पहिलो राष्ट्रिय टोली बन्यो । जसले नेपालकै नामबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो ।

त्यसपछि नेपालले आधिकारिक अन्तर्राष्ट्रिय मान्यताप्राप्त जुनियरस्तरको एसियन यूथ च्याम्पियनसिप खेल्यो । सिनियर राष्ट्रिय टोलीले भने सन् १९८२ मा मात्रै फिफा/एएफसीबाट मान्यताप्राप्त पहिलो खेल खेल्न पायो, दिल्लीमा आयोजित नवौं एसियाली खेलकुदमा सहभागिता जनाउँदै । सो खेलकुदमा कुवेतविरुद्ध वाइबी घलेले गरेको गोल फिफा/एएफसीको रेकर्डमा कुनै पनि नेपाली खेलाडीले गरेको पहिलो आधिकारिक गोलका रुपमा सूचीबद्ध पनि भयो ।

२०४५ सालमा त्रिुपरेश्वरको दरशथ रंगशालामा आयोजित त्रिभुवन च्यालेन्ज सिल्डको फाइनलमा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धाबीच हुँदै थियो । खेलकै क्रममा आएको हावाहुरी र वर्षाबाट बच्ने क्रममा भागाभाग हुँदा ७२ जनाले अकालमा ज्यान गमाउनुपर्यो । नेपाली फुटबलमा मात्र होइन, त्यो दिनलाई अन्तर्राष्ट्रिय फुटबलकै कालो दिनमध्ये एक मानिन्छ ।

यस्तै २०४९ सालमा नेपालमा दुई दुखद विमान दुर्घटना भयो । पहिलो नुवकोटको घ्याङफेदीमा थाई एअरवेज र दोस्रो असोजमा ललितपुरको भट्टेडाँडामा पाकिस्तानको पिआइए । ती दुई दुर्घटनामा नेपालका चार रेफ्री /सहायक रेफ्रीले अकालमा ज्यान गुमाए । ती दिन नेपाली फुटबलमा इतिहासका दुखद दिन थिए ।

साभार– फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक स्मारिकाबाट गरिएको हो । मिसनसँग हाम्रो खेलकुद डटकमले अनलाइन सहकार्य गरेकाले आउने दिनमा स्मारिकामा रहेका अन्य लेख क्रमश: प्रकाशित हुनेछ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.