एजेन्सी – यतिबेला कोरोना भाइरस (कोभिड–१९) का कारण झन्डै एक महिनादेखि विश्व खेलकुद गतिविधि ठप्प छ । लकडाउनका कारण खेलाडीहरु हाल घरमै क्वारेन्टाइनमा रहेपनि आफैलाई फिट राखिरहेका छन् ।
यो मामिलामा आधुनिक फुटबलका हस्ती पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो अछुतो रहनै सक्दैन । रोनाल्डो अनेक हर्कत गर्दै चर्चामा आइरहन्छन् । लकडाउनको बेला घरमै रहेपनि रोनाल्डोले आफ्ना समर्थकलाई केही न केही नयाँ कुराहरु दिने प्रयास गरिरहेका हुन्छन् ।
लकडाउनको बेला नियमको पालना गर्नुपर्ने हुन्छ । यस्तोबेला खेलाडीहरुले आफुले भनेको जस्तो या सधै कपाल काटिरहने हजामलाई भेट्न सक्दैनन् । यसक्रममा रोनाल्डोले आफ्नै प्रेमिका जर्जिना रोड्रिग्वेजसँग कपाल काट्न बाध्य भएका छन् । जुन अन्य फुटबलर र सेलिब्रेटीहरुले पनि भोगिरहेका छन् ।
भिडियोमा रोनाल्डो कुर्सीमा बसेका छन् । उनकी २६ वर्षीय प्रेमिका जर्जिनाले पछाडिबाट कपाल काट्ने प्रयास गरिरहेकी छिन् । स्पेनिस क्लब रियल म्याड्रिड तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पुर्व खेलाडी रोनाल्डो यसक्रममा केही नर्भस देखिँदै क्यामरातर्फ हेर्दै थम्स दिएका छन् ।
उनले सामाजिक सन्जाल इन्स्टाग्राममा प्रेमिका जर्जिनाले कपाल काट्दै गरेको १८ सेकेन्डको भिडियो र तस्वीर पोस्ट गर्दै समर्थकलाई ‘स्टे होम एण्ड किप स्टाइलिस’ भनेर म्यासेज गरेका छन् । रोनाल्डोकी प्रेमिका जर्जिना कपाल काट्न पोख्त छैनन् । तर, उनले म्याड्रिडमा गत वर्षदेखि ‘इन्स्पायरिया’ हेयर ट्रान्सप्लान्ट क्लिनिक सञ्चालन गरेकी छिन् । रोनाल्डो र जर्जिनाको पहिलो भेट २०१६ मा स्पेनिस ला लिगा दौरान भएको थियो ।