default_image

4 years ago

May 1, 2020

सुमनको छत्रछायाँमा रन्जनको फुटबल यात्रा

पाँचौं सुमन भोम्जन स्मृति दिवस प्रकाश तिमल्सिना, काठमाडौं फुटबल खेल्ने हरेक खेलाडीको सपना राष्ट्रिय टोलीबाट खेल्ने हुन्छ नै । त्यसमध्ये थोरैको मात्र सपना पूरा हुन्छ । राष्ट्रिय टोलीमा परेर उपाधि जित्ने त्यो भन्दा कम हुन्छन् । यसमा दाजुभाई एकैपटक राष्ट्रिय टोलीमा खेल्ने दुर्लभ हुन्छ । अनि सँगै उपाधि जित्ने अवसर सायदै सोचिएको हुन्छ । नेपाली […]

103 views

0 Bookmark

पाँचौं सुमन भोम्जन स्मृति दिवस

प्रकाश तिमल्सिना, काठमाडौं

फुटबल खेल्ने हरेक खेलाडीको सपना राष्ट्रिय टोलीबाट खेल्ने हुन्छ नै । त्यसमध्ये थोरैको मात्र सपना पूरा हुन्छ । राष्ट्रिय टोलीमा परेर उपाधि जित्ने त्यो भन्दा कम हुन्छन् । यसमा दाजुभाई एकैपटक राष्ट्रिय टोलीमा खेल्ने दुर्लभ हुन्छ । अनि सँगै उपाधि जित्ने अवसर सायदै सोचिएको हुन्छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीको स्वर्णीम समयमा हेटौंडाका रन्जन र अन्जन विष्ट दुवै टोलीमा रहेका थिए । सन् १९९३ मा नेपाल टोलीले छैटौं दक्षिण एसियाली खेलकुद (साग, तत्कालिन साफ) मा स्वर्ण पदक जितेपछि कुनै उपाधि जितेको थिएन । त्यसपछिको नेपालका लागि २०१६ (२०७२-०७३) वर्ष सफल रह्यो । त्यो वर्ष नेपालले १० महिनाको अन्तरमा ३ वटा फुटबल उपाधि जितेको थियो ।

नेपालले २०७२ को माघमा बंगलादेशमा बंगबन्धु गोल्डकप जितेको थियो । फागुनमा नेपालको यू २३ टोलीले भारतमा १२ औं सागमा स्वर्ण पदक हात पार्यो । २०७३ को कात्तिकमा नेपालले एसियाली फुटबल महासंघ (एएफसी) को पहिलो आधिकारिक प्रतियोगिता जित्ने क्रममा मलेसियामा सोलिडारिटी कप जितेको थियो । त्यो तीनै उपाधि जित्दा रन्जन र अन्जन टोलीको सदस्य थिए ।

नेपालले ऐतिहासिक सफलता हात पार्दा सारा देश खुसी थियो । अझ दाजुभाई नै टोलीमा रहँदाको क्षणले विष्ट परिवारलाई बेग्लै आनन्द दियो । यस खुसीको बिचमा दाजुभाई नै आफ्ना काका सुमन भोम्जनलाई भने मिस गरिरहेका थिए । फुटबलमा लाग्न प्रेरणा दिने सुमन भोम्जनले भूकम्पमा ज्यान गुमाएका थिए । उनको सपना थियो दुवै जना सँगै राष्ट्रिय टोलीबाट खेलेको हेर्ने । तर त्यो पूरा हुन सकेन ।

‘हामीलाई एकै पटक राष्ट्रिय टोलीमा देख्ने सपना सुमन काकाले देख्नु भएको थियो’, भाई अन्जनले स्मरण गरे, ‘हामी सँगै पर्यौं । लगातार तीन उपाधि पनि जित्यौं । तर हाम्रो साथमा काका हुनुहुन्थेन । उपाधि जित्दा खुसी थियौं । तर काकाको साथ हामीलाई थिएन । सफलताको हरेक क्षण उहाँ एकदमै मिस हुन्थ्यो ।’

सुमन पेशाले खेल पत्रकार । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पमा उनले ज्यान गुमाएका थिए । गोरखापत्र दैनिकमा खेलकुद व्यूरोमा कार्यरत सुमनको वीर अस्पताल अगाडि महाबौद्धको फलफूल गल्लीमा डेरा गरेर बसेको घर भूकम्पले भत्कँदा त्यसमै परेर मृत्यु भएको थियो ।

सुमनको खोजीको कार्यको बेग्लै कथा छ । घर भत्केको ठाँउमा खोजी गर्दा भूकम्पको एक सातापछि वैशाख १९ गते उनको शव भेटिएको थियो । तर, सुमनको मृत्यु विष्ट दाजुभाईलाई सपना जस्तै लागेको छ । सुमनले संसार छाडेको ५ वर्ष पुरा भइसक्यो । दाजुभाईको स्मृतीमा सुमन अझै उस्तै गरि बसेका छन् ।

तीन दिदी बहिनी मध्ये जेठीका नाती हुन् अन्जन र रन्जन । माइलीकी छोरा हुन् सुमन । हैटौंडा उप महानगरपालिकाका स्थायी बासिन्दा अन्जन र रन्जन तथा सुमनको घर पनि एउटै टोलमा पर्छ । अन्जन दाजु रन्जनलाई हेरेर फुटबलमा आकर्षित भए । रन्जन भने आफूलाई फुटबल खेलाडी बनाउने सुमन काका नै भएको बताउँछन् ।

‘उहाँलाई फुटबल अति मन पर्ने । मलाई पनि सानै बाट खेल्न प्रेरित गर्ने । आफु जहाँ जादापनि सँगै लाने’, उनले सम्झिए, ‘काकाकै अगुवाईमा लियो क्लब गठन भयो । त्यति बेला हामी थ्रुपै केटाकेटीलाई उहाँले खेल्न सिकाउनु हुन्थ्यो । फुटबलमा म उहाँकै प्रोडक्ट हो ।’

उमेर बढ्दै जाँदा रन्जन र सुमन साथी जस्तै भइसकेका थिए । नाता आफ्नो ठाँउमा थियो । नाताले काका भए पनि म सधैं दाई नै भन्थे । ‘ कहिलेकाँही काकालाई दाई भन्छन् भनेर गाली पनि गर्नुहुन्थ्यो । हाम्रा बीचमा सबै कुरा सेयर हुन्थ्यो’, उनले भने, ‘हाम्रो घर आगाडिको चौर सफा गरेर फुटबल नसिकाएको भए म आज फुटबलमा हुन्थिन । काकालाई सम्झियो कि आँसु आउँछ ।’

सुमनसँग जोडिएका अनगिन्ती सुखद र दुःखद अनुभव रन्जनसँग छ । ‘कति मैले बिर्से पनि । काका एकदम नक्कले खालको । अलि फुर्ती पनि लाइ हाल्नु पर्ने । कपालमा कलर लाउनु पर्ने । कपमालमा जेल हाल्नुपर्ने । हिपपप जस्तो भएर हिँड्ने’, मुस्कुराउँदै उनी सम्झन्छन्, ‘मलाई पनि आफूजस्तो बनाउन खोज्ने । फेटा, चस्मा लगाइदिने अनि बजारको स्टुडियोमा लगेर फोटो खिचाइदिने । म धेरै जसो काकासँगै उहाँहरुकै घरमा बस्थे ।’

कसैसँग नडराउने हक्की स्वभावका सुमन झगडा गर्न पनि पछि नपर्ने खालका रहेको रन्जनलाई सम्झना छ । तर , साना ठूलो सबैले मन पराउने । ‘उहाँ आफू भन्दा सानालाई एकदम माया गर्ने’ , उनले भने, ‘पहिला उहाँहरु कमलडाँडा बस्नु हुन्थ्यो । पछि हाम्रो घर नजिक घर बनाएर सरेपछि मेरो त बासै काकाकै घरमा हुन्थ्यो ।’

suman bomjan

२०६१-६२ सालमा एन्फामा यू १२ को छनोटमा भिड्न रन्जनलाई सुमनले साथमा काठमाडौं लिएर आएका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालिन कोषाध्यक्ष विराटजंग शाही र उनका साथीहरु हेटौंडा समय समयमा जाँदा रन्जनको खेल देखेका थिए । शाहीहरुकै सल्लाहमा रन्जन सुमनसँग सातदोबाटोमा एन्फाको छनोटमा भाग लिन पुगेका थिए ।

‘म छनोट भइँन । छनोटमा नपरेपछि काका त्यहाँ झगडा गर्न थाल्नु भयो’, उनले भने, ‘धेरै याद छैन । तर अरुले भन्दा यसले राम्रो खेलेको छ भन्ने विवाद गर्नुभएको थियो । मलाई निराश नहोस् भनेरै होला, अर्को वर्ष फेरि आउँनुपर्छ बुझिस् भन्नुभएको थियो ।’

लियो र पछि अर्को मल्टिभिजन क्लब सुमनले गठन गरेका थिए । ती क्लबमार्फत हेटौडा वरिपरिको फुटबल खेल्न गएको रन्जनलाई हिजो जस्तै लाग्छ । ‘काका आफू पनि खेल्ने । सानो तिनो फुटबल प्रतियोगिता पनि आयोजना गर्ने । मेडल लिन आफै रक्सोल पनि जानु हुन्थ्यो’, उनले सम्झिए, ‘हामी केटाकेटीहरुसँगै १, २ र ५ रुपैयाँ गरेर उठाँएको पैसाले जर्सी सेट पनि सिलाउन लगाउनु भएको थियो । फुटबल प्रति उहाँको लगाव अचम्मकै थियो । मलाई फुटबल खेलाडी बनाइ छाड्ने उहाँको सपना थियो । जिल्लामा हाम्रो क्लबको चर्चा पनि विस्तारै बढेको थियो ।’

उमेर बढ्दै जाँदा सुमन खेल पत्रकारितमा आबद्ध भए । रन्जन भने फुटबलमै रमाउन थाले । रन्जन ९ कक्षा पढ्दा फ्रेन्ड्स क्लबमा ट्रायल दिन राजधानी आएको बताउँदै भने, ‘मलाई मासिक २ हजार दिने भनिएको थियो । तर म बसिन, फर्कें। पछि कंलकीको नवज्योतिबाट सी डिभिजन लिग खेले । प्रदीप महर्जन दाईले बोलाएर खुमलटारबाट सीको राष्ट्रिय लिग खेले । त्यसको लगत्तै एपिएफमा आबद्ध भए । ५-६ वर्ष त्यहाँबाट खेलें ।’

त्यसै बीचमा अन्जन भने एन्फाको यू १६ का लागि छनोट भए । अन्जन सम्मिलित टोलीले २०७२ को भदौमा साफ यू १९ च्याम्पियनसिप जितेको थियो । त्यसलगत्तै उनी राष्ट्रिय टोलीमा समेटिए । अर्को तिर रन्जनले अन्जनलाई पनि एपिएफमै लगे । अन्जन राष्ट्रिय टोलीका सदस्य हुन् । दाजुभाई अहिले मनाङ मर्स्याङ्दीबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् ।

हरेक पटक भेटमा सुमनले दिएको हौसला अन्जनलाई अझै ताजा छ । ‘म जिल्लाबाट यू १६ मा छनोट भएर काठमाडौं गएको थिएँ । १४ वर्षको मात्र थिएँ । काठमाडौं गएपछि सुमन काकासँग भेटे’, उनले सम्झिए, ‘ड्याडी मम्मी हेटौंडामा नै । त्यहाँ मेरो गार्जियन उहाँ नै हुनुहुन्थ्यो । राम्रो सँग खेल्नु पर्छ भन्ने । सम्झाउनु हुन्थ्यो । म अगाडि बढ्ने हेर्ने इच्छा । राष्ट्रिय टोलीबाट खेल्नुपर्छ भन्नुहुन्थ्यो । उहाँकै सल्लाहमा मैले राष्ट्रिय टोलीको सपना देखेको थिए ।’

नाराणयी अफसेट प्रेसमा कार्यरत आफ्ना बाबु राजु विष्टकै सल्लाहमा सुमन खेल पत्रकारितामा आकर्षित भएको रन्जन बताउँछन् । ‘ड्याडीले त खेलकुद बुझ्छन् । अब पत्रकारिता पनि त्यसै गर भन्ने सल्लाह दिनुभएको थियो’, उनी सम्झन्छन्, ‘काका र म प्रेसमा बुबालाई पनि सघाउँथ्यौं ।’

केहि वर्ष हेटौडामा पत्रकारिता गरेर सुमन २०६६-०६७ तिर राजधानी पसेका थिए । सुरुमा नेपाल एफएम र त्यसपछि उनी गोरखापत्रमा आबद्ध थिए । काठमाडौं आउनुअघि उनको अध्यक्षतामा नेपाल खेलकुद पत्रकार मन्चको मकवानपुर समन्वय शाखा गठन भइसकेको थियो । उनीले हेटौडासँगको आफ्नो नाता तोड्न कहिल्यै चाहेनन् । काठमाडौंमा मञ्चमा सक्रिय भए पनि उनले मकवानपुरको अध्यक्षता त्याग्न चाहेनन् ।

‘काठमाडौंमा भने हाम्रो खासै भेट भएन । तर फोनमा कुरा भइराख्थ्यो । म्यासेन्जरमा च्याट पनि हुन्थ्यो । जहिले पनि राम्रो गर्नुपर्छ भन्ने मात्र उहाँको सल्लाह हुन्थ्यो’, २७ वर्षे फरवार्ड रन्जले सम्झिए, ‘एक पटक त टोलको झगडाको विषयमा विवाद हुँदा हाम्रो बोलचाल समेत बन्द भएको थियो । पछि काठमाडौंमा भेट हुदा समान्य भयो । काठमाडौंबाट दशैं तिहारमा घर जाँदा पनि हामीसँगै नै हुन्थ्यौं ।’

एक दिन रन्जनलाई सुमनको फोन आयो । ‘हामी वैशाख २६ गते स्पोर्टस अवार्ड गर्दैछौं । त्यसमा त र भाई जसरी नि आउनु पर्छ । अब अहिले हेटौंडाको नाम चलेको खेलाडी तिमीहरु नै हो’, उनले सम्झिए, ‘मैले हुन्छ नि काका । तपाईले भनेपछि आई हाल्छौं नी । यो चैतको अन्तिम वा वैशाखको सुरु तिरको कुरा हुनुपर्छ । त्यहि नै अन्तिम कुरा थियो । पछि वैशाख १९ गते एम्बुलेन्सले उहाँको शव लिएर आउँदा हामी हेटौंडामा नै थियो । अहिले पनि विश्वास नै गर्न गाह्रो हुन्छ । फेरि भेट भइहाल्छ जस्तो लाग्छ ।’

यो पनि पढ्नुहोस : सुमन, तिमीलाई सम्झिरहेका छौं

रन्जन र अन्जनसँगको भिडियो अन्तर्वार्ता :

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.