एजेन्सी – स्पेनिस ला लिगामा आज राति रियल म्याड्रिडले डिपोर्टिभो एलाभेससँग प्रतिस्पर्धा गर्दैछ । खेल एलाभेसको मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ ।

घरेलु टोलीलाई पराजित गर्दै रियल शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी छोट्याउने दाउमा हुनेछ । दोस्रो स्थानमा रहेको रियलको १८ खेलबाट ३७ अंक छ । शीर्षस्थानको एट्लेटिकोको १७ खेलबाट ४४ अंक छ । अर्थात रियल एट्लेटिकोसँग ७ अंकले पछि छ ।
एलाभेसविरुद्ध उत्रँदा रियलमा प्रशिक्षक जिनेदिन जिदानसँगै मुख्य खेलाडीहरु टोलीमा हुने छैनन् । जिदानलाई कोरोना संक्रमण हुँदा कप्तान सर्जियो रामोस चोटका कारण टोलीबाहिर छन् । नाचो फर्नान्डेज, ड्यानी कार्भाजल, फेडरिको भाल्भेर्डे, रोड्रिगो र मार्टिन ओडेगार्ड पनि टोलीमा हुनेछैनन् ।
यस्तो अवस्थामा रियललाई एलाभेसविरुद्ध दवाव हुन सक्नेछ । तर टोलीसँग करीम बेन्जेमा, इडेन हाजार्ड, मार्काे एसेन्सियो, क्यासमिरो, टोनी क्रुस, लुका मोड्रिच, मार्सेलो, फर्लान्ड मेन्डी, राफयल भरान, इडर मिलिसाओ, लुकास भाज्क्वेज, भिनिसियस जुनियर र गोलरक्षक थिवाउट कोर्टुवाको साथ रहेको छ ।

यता, एलाभेस रियललाई स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । एलाभेस १८ अंक जोडेर १७औं स्थानमा रहेको छ । एलाभेसले गत नोभेम्वरमा रियललाई उसकै मैदानमा २–१ को हार चखाएको थियो । एलाभेस सोही जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा रियल उक्त हारको बदला लिन दाउमा हुनेछ ।
टोलीसँग जोसेलु, लुकास पेरेज, टोमस पिना, लुइस रियोजा, इडगर मेन्डेज, रुवेन डुआर्टी र गोलरक्षक फर्नान्डो पाचेको रहेको छ ।