एजेन्सी – लिग टु क्लब चेल्टेनहम टाउनमाथि पूनरागमन जित निकाल्दै प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले एफए कपको प्रि–क्वाटरफाइनलमा स्थान बनाएको छ ।

सिटीले एक गोलले पछि परेको अवस्थामा अन्तिम १० मिनेटमा ३ गोल गरेपछि चेल्टेनहममाथि उसकै मैदानमा ३–१ को पूनरागमन जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको हो ।
सिटीको पूनरागमन जितमा फिल फोडेन, गाब्रियल जेसस र फेरान टोरेसले गोल गरे । घरेलु टोलीका एल्फी मेको गोल सान्त्वना बन्यो । चेल्टेनहममा शनिबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
५९औं मिनेटमा एल्फी मेले जर्जको पासमा गोल गर्दै घरेलु टालीलाई १–० ले अघि बढाए । बलियो सिटीसामु चेल्टेनहमले उक्त अग्रतालाई जोगाउन सकेन । ८१औं मिनेटमा जोओ क्यान्सेलोको पासमा फिल फोडेनले गोल गर्दै सिटीलाई खेलमा फर्काए ।
८४औं मिनेटमा जेससले फर्नाडिन्होको पासमा गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । ९०औं मिनेटमा इल्केए गुन्डोगानको पासमा फेरान टोरेसले गोल गर्दै सिटीलाई जित दिलाए ।
अब सिटीले क्वाटरफाइनल प्रवेशका लागि स्वान्सी सिटीको सामना गर्नेछ । प्रि–क्वाटरफाइनलका खेल ११ फेब्रुअरीमा हुनेछ ।