default_image

5 years ago

May 18, 2021

चोटको चपेटामा नेपाली फुटबल

250 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

खेलाडीको शत्रु भनेको उसलाई लाग्ने चोट नै हो । कोरोना संक्रमणका कारण झन्डै ६ महिना ठप्प फुटबल गतिविधि पुन: सुरु नहुँदै संक्रमणको दोस्रो लहरले पुन: रोकियो । प्रतिकुल अवस्थाका बीच गत साता मात्र फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) सम्पन्न भयो । तर लामो समयको विश्राम र त्यसपछि लगातार खेलका कारण खेलाडीमा चोटको समस्या थपिएको छ ।

त्रिभुवन आर्मी फुटबल क्लब तथा एफसी चितवनका डिफेन्डर विकास तामाङ एनएसएल अघि नै घाइते भएका थिए । सोही टोलीका अर्का डिफेन्डर विकास खवासलाई लिगको पहिलो खेलमा नै चोट लाग्यो । काठमाडौं रेजर्सका सन्जोक राईले चोटको कारण नै एनएसएलको फाइनलसहित अन्तिमका महत्त्वपूर्ण खेल गुमाए । पोखरा थन्डर्समा आबद्ध भएका सुजल श्रेष्ठ र काठमाडौंकै त्रिदेव गुरुङले चोटकै कारण एनएसएल खेल्न पाएनन् ।

चोटकै कारण राष्ट्रिय टोलीकै पहिलो रोजाइका डिफेन्डर अनन्त तामाङले एनएसएलमा सहभागिता जनाएनन् । थ्री नेसन्स कपअघि नै चोटका कारण संघर्ष गरिरहेका उनले छोटो तयारीमा उक्त प्रतियोगिता खेले । पूर्ण फिट नभएका कारण नै उनले राष्ट्रिय टोलीको खेललाई लक्षित गर्दै आवश्यक विश्राम लिने सोचले एनएसएलबाट नाम फिर्ता लिएका थिए ।

अर्का डिफेन्डर देवेन्द्र तामाङ पनि विगत केहि महिनादेखि नै मैदानबाहिर छन् । ए डिभिजन लिगपछि राष्ट्रिय टोलीको प्रशिक्षणका क्रममा उनको एन्कलको चोट बल्झिएको थियो । त्यसयता विश्राममा रहेका उनी अब सिजन सुरु भएसँगै पुनरागमन गर्ने सुरमा छन् ।

चितवनकै भरत खवास, विराटनगर सिटीका योगेश गुरुङ, बुटवलका अमिर श्रेष्ठलाई पनि एनएसएलकै दौरान चोट लाग्यो । यसअघि राष्ट्रिय टोलीमा नियमित रहेका मिडफिल्डर तेज तामाङ पनि चोटका कारण बाहिर छन् । चोटका बाबजुद पनि एनएसएलमा नियमित खेलेका तेज गम्भीर चोट बोकेपछि केहि महिना नै बाहिर रहने बुझिएको छ ।

त्यस्तै काठमाडौंकै संजोक राई पनि केहि समय विश्राममा रहनेछन् । एनएसएल दौरान चोट बोक्ने खेलाडीको सुची लामो हुँदै गएपछि त्यसको असर राष्ट्रिय टोली छनोटमा पनि परेको छ । त्यसैकारण पनि एनएसएल उपाधि जितेको काठमाडौंका एक जना पनि खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा अटाउन सकेनन् ।

यसबीचमा कतिपय खेलाडी भने चोटमुक्त हुने क्रममा रहेका छन् । विक्रम लामा कतारमा उपचार गराएर केहि साता अघि स्वदेश फर्केका छन् । अर्का खेलाडी विमल घर्ती मगर भने अहिले पनि उपचारकै क्रममा कतारमा रहेका छन् । गम्भिर चोट लागेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमल र विक्रमलाई कतार पठाएको थियो । कतार फुटबल संघले उनीहरुको उपचार गराएको हो ।

अहिले महिला राष्ट्रिय टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी भने विमल र विक्रमले उपचार गरेकै अस्पतालमा उपचार गर्ने पखाईमा छिन् । एन्फाले उनको उपचारका लागि कतार फुटबल संघसँग पहल गरिसकेको यसअघि नै जनाएको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रक्रिया अघि बढेको र खबर आएपछि पठाइने बताएका छन् ।

सावित्राको दायाँ घुँडामा गम्भिर चोट लागेको तीन महिना पूरा भएको छ । राष्ट्रिय महिला लिगका दौरान फागुन ३ गते नेपाल पुलिस क्लबविरुद्धको खेलका क्रममा उनी घाइते भएकी थिइन् । सुरुको एक महिना वैशाखी कै सहारामा हिडडुल गरेकी सावित्रा अहिले नियमित फिजियोथेरापी गरिरहेकी छिन् । राष्ट्रिय टोलीकी फिजियो नवीना श्रेष्ठले उनको घुँडाको फिजियो गराइरहेकी थिइन् । सातदोबाटोस्थित अर्थोप्लाष्ट रिह्याबिलिटेसन सेन्टरका सुरज भुषाल र उज्जवल डोटेलसँग पनि उनी बेला बेला फिजियोको लागि सल्लाह लिने गरेकी छिन् ।

गम्भिर चोटको उपचार गराइरहेका र उनीहरुको रिकभरीबाट आफू पनि त्यहि अवस्थामा फर्कनेमा सावित्राले विश्वास गरेकी छिन् । ‘चोट लागेपछि म विमलसँग नियमित सम्पर्कमा छु । उनको र मेरो चोट मिल्दो जुल्दो छ । त्यहाँ कसरी शल्यक्रिया भयो । त्यसपछि के कस्तो रिकभरी सेसन भइरहेको छ सबै सेयर गर्छन्’, उनले भनिन्, ‘विमलको अवस्था अहिले धेरै राम्रो भइसकेको छ भनेका छन् । त्यसले पनि मलाई धेरै हौसला मिलेको छ । मेरो पनि त्यहि उपचार हुने भएकोले त्यसरी नै रिकभर हुन्छु भन्ने आशा छ ।’

चोटमुक्त भएर फर्केका अन्य खेलाडीले पनि आफूलाई हौसला दिने गरेको सावित्रा बताउँछिन् । ‘चोट लागेको एक डेढ महिना त निकै गाह्रो भयो । कति दिन रोएरै बित्यो,’ उनले सम्झिइन्, ‘समय बित्दै जाँदा चोटबाट फर्केका खेलाडीको अनुभव सुनें । विक्रम दाई, रोहित दाई, एपिएफकै दाईहरुसँग कुराकानी गरेपछि अलि हौसला मिल्यो । म फर्कन सक्छु भन्ने विश्वास लागेको छ ।’

सावित्राको घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिए र अन्य चोट पनि लागेको बताइएको छ । लिगमै चोट लागेकी राष्ट्रिय टोली र एपिएफकी हिरा भुजेलको घुँडाको शल्यक्रियापछि नियमित फिजियो गराइरहेकी छिन् । राष्ट्रिय टोलीकै कप्तान रेनुका नगरकोटी र मिडफिल्डर दिपा राई पनि खुट्टाकै समस्याका कारण सामान्य शल्यक्रियापछि विश्राममा छन् । यू-१९ टोलीकी डिफेन्डर समिक्षा घिमिरे पनि शल्यक्रिया पछि रिह्याबिलिटेसनमा व्यस्त छिन् ।

सावित्राले फागुनमा सम्पन्न लिगमा १० खेलमा ४३ गोल गरेकी थिइन् । सावित्रा नेपालको मात्र नभई दक्षिण एसियाकी उत्कृष्ट फरवार्डमा परिचित छिन् । उनले इन्डियन लिग (आई लिग) दुई फरक क्लबबाट खेलेकी छिन् । दुवै पटक उनी खेलेको टोली आइ लिग च्याम्पियन बनेको थियो । गत वर्ष गोकुलमलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनी आइ लिगको सर्वाधिक गोलकर्ता पनि बनेकी थिइन् ।

यो पनि पढ्नुहोस : राष्ट्रिय टोलीका ६ नयाँ अनुहार

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.