5 years ago
June 16, 2021
एजेन्सी – घरेलु टोली रसियाले युरापेली च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । बुधबार भएको पहिलो खेलमा रसियाले फिनल्यान्डमाथि १–० को झिनो जित निकालेको हो ।

रसियाको पहिलो जितमा एलेक्सी मिरान्चुकले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको अन्त्यतिर सुन्दर गोल गरेका थिए । रसिया पहिलो खेलमा बेल्जियमसँग ३–० ले पराजित भएको थियो । च्याम्पियनसिपमा पहिलो हार बेहारेको फिनल्यान्डले पहिलो खेलमा डेनमार्कलाई १–० ले पराजित गरेको थियो ।
सेन्ट पिटर्सबर्गमा बुधबार साँझ भएको खेलको चौथो मिनेटमा जोएल पोहानपालोले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता पाएन । जुक्का राइटाले डलेर कुजाएभलाई बिट गर्दै दिएको क्रसमा पोहानपालोले सिक्स यार्ड बक्सभित्रबाट हेडमार्फत गोल गर्नुअघि उनी अफसाइड देखिए ।
१०औं मिनेटमा घरेलु टोली रसियाले खेलमा अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । डलेर कुजाएभले ओभरल्यापमा जाँदै एलेक्सी मिरानचुकलाई दिएको पासमा उनले अनमार्क रहेका ओजडाइभ पास दिदा उनको प्रहार पोस्टबाट आकासिएको थियो । १४औं मिनेटमा मिरानचुककै पासमा कप्तान अर्टिम ज्युवाको प्रहार क्रसबारमा लागेर फर्कदा रसिया अग्रता लिनबाट चुक्यो ।

२१औं मिनेटमा पोहानपालोको वान भर्सेस वानको अवस्थाको प्रहारलाई इगर डिभिभले स्लाइडिङ ट्याकल गर्दै बललाई क्लियर गर्दै रसियाको खतरा टारे । ३१औं मिनेटमा एलेक्सान्डर गोलोभिनको पासमा सेन्टर ब्याक डिभिभको हेडरले पोस्टको दिशा लिन सकेन । ३७औं मिनेटमा गोलोभिनकै लो क्रस पासलाई भ्यालेस्लाभ काराभाइव पुग्नुअघि नै जेरी युरोनले क्लियर गरिदिदा रसियाले अग्रता लिन सकेन ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा इटालियन क्लब एटलान्टाका एलेक्सी मिरानचुकले गोल गर्दै रसियालाई १–० को अग्रता दिलाए । कप्तान अर्टिम ज्युवासँगको वान टु वान पासमा मिरानचुकले तीन डिफेन्डरबीचबाट प्रहार गरेको लेफ्ट फुटेट प्रहारले जाली चुम्दा फिनल्यान्डका गोलरक्षक लुकास ह्रादेच्कीले रोक्ने कुनै मौका पाएनन् । उनले २०१९ नोभेम्बरपछि रसियाका लागि पहिलो गोल गरेका हुन् ।
दोस्रो हाफको सुरुमै फिनल्यान्ड बराबरीबाट चुक्यो । रोविन लोडको पासमा टिमु पुकीले गरेको प्रहारलाई डिभिवले ट्याकल गर्दै बचाए । ५४औं मिनेटमा टिमु पुकीको प्रहारलाई गोलरक्षक साफोनोभले सहजै बचाए । ६६औं मिनेटमा रिफाट जेमालेटडिनोभको प्रहार फितलो बन्यो । ६९औं मिनेटमा पुकीले अर्काे अवसर खेर फाल्दा फिनल्यान्ड बराबरीबाट चुक्यो ।

७२औं मिनेटमा अर्टिम ज्युवाको प्रहारलाई गोलरक्षक ह्रादेच्कीले सुन्दर बचाउ गर्दा रसिया अग्रता दोब्बर पार्नबाट बन्चित भयो । इन्ज्युरी समयको पहिलो मिनेटमा झेमालेत्दिनोभले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।
यो जितसँगै समूह ‘बी’ बाट रसियाले २ खेलबाट ३ अंक जोड्दै नकआउट चरण पार गर्ने सम्भावना जीवितै राखेको छ । समान ३ अंक नै भएपनि बेल्जिय बढी गोलको आधारमा शीर्ष स्थानमा रहँदा फिनल्यान्ड हेड टु हेडमा रसियासँग पछि छ । अब रसियाले डेनमार्कसँग तथा फिनल्यान्डले बेल्जियमसँग खेल्न बाँकी छ । बिहीबार राति बेल्जियम र डेनमार्क खेल्दैछन् ।
यो पनि :
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]