काठमाडौं (हाम्रो खेलकुद)– पकनाजोल स्थित कुमारी फुत्सलमा आयोजित रोडहाउस फुत्सल कप २०७४को उपाधि बौद्ध रोड हाउसले जितेको छ । रोड हाउस ठमेल ‘ए’लाई ८–४ ले हराउँदै रोड हाउस बौद्धले उपाधि जितेको हो ।
आज भएको फाइनलमा बौद्धका लागि राजकुमार तामाङ एक्लैले ६ गोल गरे भने सञ्जय मगर र कप्तान सुरज खड्काले समान १ गोल गरे । ठमेलका लागि ४ गोल गनै कप्तान सरोज कार्कीले गरे ।
त्यसअघि कर्पोरेट ग्रुपले प्रतियोगितामा तेस्रो स्थान हासिल गर्यो । टाइब्रेकरमा पिज्जारिया पुल्चोक लाई २–० ले हराउँदै कर्पोरेट तेस्रो भएको थियो । निर्धारित ६० मिनेटको खेल ४–४ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टीमा कर्पोरेटका सुरेशराज गिरी र रेविन कायस्थले गोल गरे ।
फाइनलमा ६ गोल गरेका बौद्धका राजकुमार तामाङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । रोड हाउस ठमेलका राकेश देउजा उत्कृष्ट गोलकिपर चुनिए भने पिज्जारिया पुल्चोक फेयर प्ले टोली घोषित भए । सेन्टर किचेनका रोम रेमी मगरले स्पेसल पुरस्कार पाए ।
विजेता बौद्धले उपाधिसहित २० हजार, दोस्रो ठमेलले १५ र कर्पोरेटले १० हजार रुपैयाँ प्राप्त ग¥यो । विजेता, उपविजेता टोलीका खेलाडीलाई रोड हाउसका अध्यक्ष रञ्जनकृष्ण कायस्थ र मेनेजिङ डाइरेक्टर चन्दनकृष्ण कायस्थले पुरस्कृत गरे ।
चेन रेष्टुरेन्ट रोड हाउस ग्रुपको आयोजना तथा गोर्खा ब्रुअरीको प्रायोजन र कोकाकोलाको सह प्रायोजनमा भएको असार १८ गतेदेखि सुरु भएको प्रतियोगितामा ग्रुपका ९ टोलीको सहभागिता थियो ।