काठमाडौं (हाम्रो खेलकुद) – सुमन कुुलुङ राई र हुमी बुढामगर पाँचौ झिल्टुङ क्रस कन्ट्री दौडमा च्याम्पियन बनेका छन् ।

बेलकोटगढी नगरपालिका वडा नम्बर ५ मा शनिबार भएको दौडमा राईले निर्धारित १३.४ किमि दुरी ५४ मिनेट ५५.०९ सेकेन्डमा पुरा गर्दै उपाधि जितेका हुन् । दोस्रो भएका आकाश राईले ५५ मिनेट ५८.५० सेकेन्डमा दुरी पुरा गर्दा भने तेस्रो भएका राजेन्द्र तामाङले ५९ मिनेट २०.०४ सेकेन्डमा दुरी पुरा गरे ।

महिलातर्फ हुमीले निर्धारित दुरी १ घण्टा १३ मिनेट २३ सेकेन्डमा दुरी पुरा गर्दै च्याम्पियन बनिन् । उनी १३औं सागमा दुवाथलनकी रजत विजेता खेलाडी हुन् । दोस्रो भएकी बन्दना राईले १ घण्टा १७ मिनेट ५८ सेकेन्डमा पुरा गरिन् ।
एपीएफकी आशा राउतले १ घण्टा २० मिनेट २५ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दै तेस्रो स्थान हात पारिन् । महिला र पुरुष दुवैतर्फको विजेताले १५ हजार रुपैया हात पारे । दोस्रो भएकाले १० हजार तथा तेस्रो भएकाले ५ हजार रुपैयाँ प्राप्त गरे ।
आमा समुहतर्फ अघिल्लो वर्षकी विजेता सन्तुमाया श्रेष्ठ प्रथम भइन् । बिमला श्रेष्ठ (क) दोस्रो तथा कल्पना श्रेष्ठ तेस्रो भइन् । उनीहरुले क्रमशः १० हजार, ६ हजार र ४ हजार प्राप्त गरेका छन् ।
यस्तै, स्थानीय विधाको पुरुषमा प्रज्वल लामिछाने पहिलो भए । नविन भण्डारी दोस्रो र दिनेश भण्डारी तेस्रो भए ।
स्थानीय यु–१६ छात्रतर्फ दिनेश नेपाल पहिलो, शिशिर तामाङ दोस्रो र अनिस भण्डारी तेस्रो भए । छात्रामा दिपशिखा राई पहिलो, अस्मिता दुलाल दोस्रो र सपना श्रेष्ठ तेस्रो भइन् ।

यस्तै, ४.५ किलोमिटर खुल्लातर्फ छात्रमा विश्वराम कुँबर पहिलो भए । उदय लिम्बु दोस्रो तथा प्रविण चाम्लिङ राई तेस्रो भए । छात्रामा सरस्वती बोहरा, रेस्तिना सिनिसु, अन्जु खड्का क्रमश : पहिलो दोस्रो र तेस्रो भइन् । यस विधाको छात्र/छात्रा विजेताले समान ५ हजार, दोस्रोले ३ हजार र तेस्रो हुनेले २ हजार रुपैया हात पारे ।
दौड नुवाकोटस्थित कोल्पुटारबाट सुरु भएर कोल्फुटार, बेलिनि, राजओडार, माझगाउँ, लामाचौर हुँदै कोल्पुरटारमा पुगेर टुंगिएको थियो । दौडको पहिलो संस्करणमा पुरुषतर्फ होमलाल श्रेष्ठ र महिलातर्फ सन्तोषी श्रेष्ठ, दोस्रो संस्करणमा पुरुषतर्फ भुमिराज राई र महिलामा कान्छीमाया कोजु, तेस्रोमा किरण सिंह बोगटी र पुष्पा भण्डारी र चौथोमा कास राई र प्रिया राई च्याम्पियन बनेकी थिइन् ।