काठमाडौ (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपिएफ) की पुष्पा भण्डारीले छैटौं संस्करणको प्रधानसेनापति खुल्ला म्याराथन अन्तरगतको महिला हाफ म्याराथनको उपाधि जितेकी छन् ।

पुष्पाले निर्धारित २१ किलोमिटर दुरी १ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पार गर्दै उपाधि जितेकी हुन् । उनी गतवर्षको पनि विजेता हुन् । उपाधिसँगै उनले ट्रफीसहित नगद ७५ हजार र स्कुटी जितिन् ।
यो वर्ष पुष्पाको यो तेस्रो हाफ म्याराथन उपाधि हो । मंसिरमा नेपालगन्जमा आयोजना भएको नेपालगन्ज म्याराथन अन्तरगतको हाफ म्याराथनको उपाधि जितेको पुष्पाले त्यसपछि दक्षिण एसियाली महिला म्याराथनमा स्वर्ण जितेकी थिइन् । उनी १३औं सागको म्याराथनको रजत विजेता खेलाडी हुन् ।
आर्मीकी विश्वरूपा बुढा १ घण्टा २० मिनेट ९ सेकेन्डमा निर्धारित दुरी पूरा गरि दोस्रो तथा एपिएफकी बिन्दा श्रेष्ठ १ घण्टा २४ मिनेट ४६ सेकेन्डसहित तेस्रो भइन् ।