6 years ago
September 25, 2019
प्रकाश तिमल्सिना, काठमाडौं
सिपोरा गुरुङ नेपाली खेलकुदले पाएको फरक व्यक्तित्व मध्यमा पर्छिन् । पछिल्लो दुई वर्षयता देश बाहिर रहेका कारण स्वदेशमा उनको चर्चा कम हुनु स्वभाविक हो । तर, नेपाली खेलकुद क्षेत्र र चलचित्र क्षेत्रले उनलाई बिर्सिसकेको भने छैन । खेलकुद, त्यसमा पनि भलिबलका कारण चर्चाको शिखरमा पुगेकी उनले पछि आफुलाई मिस नेपालको प्रतिस्पर्धीका रुपमा उभ्याइन् । त्यसपछि उनले केहि चलचित्रमा पनि काम गरिन् ।

सिपोरा नेपालले दक्षिण एसियाली खेलकुद (साग) को सन् २००६ मा श्रीलंकामा भएको दशौं संस्करणमा महिला टोलीले भलिबलमा कास्य पदक जित्दा त्यसको सदस्य थिइन् । उनलाई सम्झिरहने अर्को कारण भनेको उनी त्यति बेला नेपाली साग टोलीको सबै भन्दा कान्छी सदस्य थिइन् । त्यति बेलाको उनको उमेर मात्र १३ वर्षको थियो ।
भलिबलमा सक्रिय भइराख्न उनलाई खुट्टाको चोट अनुमति दिएन । ग्रान्डीमा सफल शल्यक्रियापछि उनी पुनः भलिबलमा फर्किइन् । भलिबलमा कम सक्रिय हुदाँ उनी अर्को क्षेत्रबाट भएपनि लगातार सक्रिय भने भइराखिन् । त्यहि क्रममा उनी नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने स्पोर्टस अवार्डको पिपुल्स च्वाईस अवार्डको विजेता बनिन् । मिस नेपालमा पनि बलियो प्रतिस्पर्धीका रुपमा परिचित भइन् । अनि भुईमान्छे लगायतका केहि चलचित्रमा काम गरिन् ।

तर, भलिबल खेल्ने धोको भने उनको पुरा भएको थिएन । उनी कुनै न कुनै दिन फेरि देशका लागि भलिबल खेल्छु भन्नेमा दृढ थिइन् । १३ औं साग स्वदेशमै आयोजना हुने भएकाले पनि उनी उत्साहित थिइन् । साग खेल्ने र औपचारिक रुपमा भलिबलबाट विदा लिने उनको योजना थियो । सिपोराको भनाई मान्ने हो भने विदेशमा रहेर पनि उनी लगातार नेपाल भलिबल संघको सम्पर्कमा थिइन् र आफ्नो बारेमा जानकारी दिइरहेकी थिइन् । कम्तिमा भलिबलसँग सम्बन्धित सबैलाई उनी अध्ययनका लागि अमेरिकामा रहेको र भलिबल प्रशिक्षण पनि सँगसँगै गरिरहेको जानकारी रहेको उनको दाबी छ ।
उनले आफु आठौं राष्ट्रिय खेलकुद खेल्नका लागि असमर्थ रहने तर भलिबलको छनोटका लागि उपलब्ध हुने सम्बन्धित क्षेत्र (पश्चिमाञ्चल) र संघलाई बारम्बार जानकारी गराएको उनको भनाई छ । ‘म सँग लिखित रुपमै प्रमाण त केहि छैन । तर, भलिबल संघको अध्यक्ष ज्यू र महासचिव ज्यू अमेरिका आउँदा पनि मैले आफ्नो विषयमा प्रष्ट पारेको थिए,’ उनले थपिन्,‘ उहाँहरुले सकारात्मक जवाफ नदिएको भए म किन अहिले आउने थिए र ? म अहिले विदा लिएर सागको लागि प्रतिस्पर्धा गर्छु भनेरै आएको हुँ ।’

उनी भदौको सुरुमा स्वदेश फर्केकी थिइन् । कम्तिमा महिला टोलीको प्रारम्भिक चरणमा छनोट हुनेमा उनी आशावादी थिइन् । तर, उनी स्वदेश फर्कनुअघि नै तत्कालिन नेपाली महिला टोलीकी कप्तान विनिता बुढाथोकी, उपकप्तान मन्जु गुरुङ, नेविका चौधरी जस्ता खेलाडी अन्तिम २५ मा परेनन् । त्यसले भलिबल संघको छनोटमा प्रक्रियामा धेरैले शंका गरे । छनोट समितिले पनि पटक पटक स्पिष्टिकरण दिने प्रयास गर्यो ।
पहिल्यै विवादमा परिसकेको छनोट समिति सायद सिपोरालाई प्रशिक्षणमा डाकेर थप जोखिम उठाउन चाहँदैन थियो । यहाँको परिस्थितिलाई नजिकबाट नियालेकी सिपोरा कम्तिमा छनोटमा सहभागी हुन पाउनेमा आशावादी थिइन् । तर, अब सागका लागि २५ बाट १८ खेलाडीको छनोट भइसकेपछि भने उनले अब टोलीमा पर्ने आशा मारिसकेकी छिन् ।

अहिले उनको प्रश्न छ । ‘नियमित रुपमा संघको सम्पर्कमा रहेर आफ्नो सबै विषयमा जानकारी दिएर स्वदेश फर्कदा पनि मैले छनोट खेल्ने अवसर किन पाइन त्यो मलाई जान्न मन छ,’ उनले भनिन्,‘ जब की राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आठौं राष्ट्रिय खेलकुद खेल्न नपाएका र विशेष क्षमता भएका खेलाडीलाई पछि पनि छनोट गर्न सकिने भन्ने नियमावली बनेको छ । त्यसको आधारमा मैले दाबी गर्नु गलत के गलत हो ? म पनि देशका लागि पदक जितेको खेलाडी हु । अन्तिम १८ वा १२ मा पर्नुपर्छ भन्ने मेरो भनाई होइन । प्रशिक्षणमा गएपछि को कस्तो थाहा हुन्थ्यो । अन्तिम २५ मा पर्ने खेलाडी हामी हौं भन्ने मेरो भनाई हो । त्यसमैमा मेरो चित्त दुःखाई हो ।’
गत महिना साग टोलीको छनोटमा पर्ने सम्भावना रहन्छकी भनेरै उनले लामाचौरमा भएको महिला भलिबल न्यू डायमन्डबाट खेलेकी थिइन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालका पनि उनले आफुले छनोटका लागि प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग प्रस्तुत गरिन् । सिपोराका अनुसार सदस्य सचिव सिलवालले पहल पनि गरेका हुन् । तर, भलिबल संघ उनलाई छनोट खेलाउन तयार नभएको उनको भनाई छ ।

भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले सिपोरा स्वदेश फर्केकै बखत उनको प्रस्ताव संघको बैठकमा राखेको र सर्वसम्मतले अस्वीकृति भएको हाम्रो खेलकुदलाई बताएका थिए । सिपोराले भने त्यसको जानकारी आफुले व्यक्तिगत रुपमा वा लिखित नभइ सञ्चारमाध्यमबाट थाहा पाएको बताइन् । उनले अझैपनि संघबाट चित्त बुझ्दो जवाफको आशा राखेको आशय जनाइन् ।
सिपोराको खेलकुद प्रतिको लगावमा भने शंका गर्ने ठाँउ छैन । उनी स्कुले जीवनमा भलिबल मात्र होइन, फुटबल र एथलेटिक्स पनि खेल्थिन । तर उनले एउटा खेल छान्नु पर्दा भलिबललाई आफ्नो मुख्य खेल बनाइन् । उनले एथलेटिक्समा पनि विद्यालय स्तरबाट पदक जितेकी छिन् । तर पनि उनी आफु भलिबल खेलाडीका रुपमा चिनिन चाहन्छिन् ।

‘म आज जे छु भलिबलकै कारण छु । मलाई विज्ञापनका लागि लिनु भएको पनि खेलाडी भएकै कारण हो,’ भावुक हुँदै उनले थपिन्,‘ कसैले खेलाडी होइन भन्यो भने नराम्रो लाग्छ । जबकी मेरो पहिलो परिचय नै खेलाडी हो ।’ उनलाई कतिपय अवस्थामा आफ्नो परिचय र नाम नै भारी लाग्छ । ‘म एउटा खेलाडी मात्र हुन्थे भने धेरैलाई समस्या हुन्थेनकी,’ उनले भने,‘ मेरो परिचय अलिक फराकिलो भएकोले सायद मलाई त्यसैले कहिले काही घाटा पो गर्छकी ।’
अमेरिकामा खेलकुद विज्ञानमा दोहोरो स्नातक गरिरहेकी सिपोराले भविष्यमा कुनै न कुनै रुपमा नेपाली खेलकुदमा आबद्ध हुने इच्छा राखेकी छिन् । ‘मलाई नेपाली खेलकुदमा केहि न केहि गर्न मन छ,’ खेलकुदमा पोषण र अभ्यास विज्ञानमा विशेषज्ञता हासिल गर्दै गरेकी उनले भनिन्,‘ तर के अहिले तय छैन । पहिला अध्ययन सक्छु । अनि केहि समय अमेरिकामा नै अभ्यास गर्छु सायद त्यसपछि फर्कन सक्छु ।’ उनले विवाहको बारेमा भने तत्काल कुनै योजना नबनाएको पनि सुनाइन् । उनले थपिन् ‘कम्तिमा अध्ययन नसकिदा सम्म विवाहको बारेमा सोचेको छैन ।’
सिपोरासँग लिइएको भिडियो अन्तर्वार्ता:
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]