काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता त्रिभुवन आर्मी क्लब आरबिबी एनभिए पुरुष भलिबल क्लब च्याम्पियनसिपको समूह ‘ए’ को विजेता बनेको छ । यसअघि नै अन्तिम आठमा पुगिसकेका दुई टोलीबीचको प्रतिस्पर्धामा आर्मीले नयाँ बजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटले हराएको थियो ।
नयाँ बजारपनि यसअघि नै क्वार्टरफाइनल पुगिसकेको थियो । समूहमा आर्मीले दुवै खेल जितेको थियो । नयाँ बजारले एक खेल जित्ने क्रममा आरजी भलिबल ग्रुपलाई हराएको थियो । आरजी प्रतियोगिताबाट बाहिरि सकेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा सोमबार भएको खेलमा आर्मीले नयाँ बजारलाई २५–१०,२५–१८ र २५–१९ ले हराएको थियो ।
आजै भएको महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले आरबिबी एनभिए महिला क्लब च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ । होंगान्जी न्यू डायमण्ड क्लबसँग पहिलो खेल गुमाएको पुलिसले सोमबार ढोरपाटन स्पोर्टस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पहिलो जित निकालेको हो । पुलिसले ढोरपाटनलाई २५–५,२५–१५ र २५–८ ले हराएको थियो ।
केहि दिन अघि सम्पन्न होंगान्जी न्यू डायमण्ड महिला भलिबलमा पनि यी ३ टोली एक समूहमा परेका थिए । अब समूहमा न्यू डायमण्ड र ढोरपाटनबीच अन्तिम खेललपछि सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । न्यू डायमण्ड र पुलिसले समान १ खेल जित्दा ढोरपाटनले १ खेल गुमाएको छ ।
सोमबारको अर्को खेलमा भरतपुर महानगरले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–८,२५–९ र २५–१५ ले हराएको थियो । यद्दपी दुवै टोली समूह चरणबाट बाहिरिएका छन् । उक्त समूहबाट साविक विजेता नेपाल एपिएफ र त्रिभुवन आर्मी क्लब अन्तिम चारमा पुगिसकेका छन् ।