default_image

4 years ago

September 21, 2020

पदक विजेता विभूषित नहुनुमा मन्त्रीको कमजोरी

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय खेलकुद ऐन २०७७ लागू भएको झन्डै ३ महिना हुन लाग्दा पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड र कार्यकारी समितिलाई पूर्णता दिन नसकेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा खेलाडी र खेलकर्मीलाई विभूषण सिफारिसमा पनि चुकेका छन् । गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एतिहासिक सफलता […]

95 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

राष्ट्रिय खेलकुद ऐन २०७७ लागू भएको झन्डै ३ महिना हुन लाग्दा पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड र कार्यकारी समितिलाई पूर्णता दिन नसकेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा खेलाडी र खेलकर्मीलाई विभूषण सिफारिसमा पनि चुकेका छन् ।

गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एतिहासिक सफलता दिलाउने २ सय ७ (५१ स्वर्ण, ६० रजत र ९६ कास्य) पदक विजेता खेलाडीमध्ये कसैलाई पनि विभूषणका लागि मन्त्री विश्वकर्माले सिफारिस गरेको देखिएन ।

मन्त्रालयको सिफारिसमा १३ औं सागसँग सम्बन्धित २ व्यक्तिले मात्र संविधान दिवसका अवसरमा शनिबार राष्ट्रपतिले घोषणा गरेको मानपदवी, अंलकार र पदक प्राप्त गर्नेको सुचिमा रहेका छन् । साग आयोजक समितिका कार्यकारी समितिका संयोजक समेत रहेका राखेप सदस्य सचिव रमेशकुमार सिलवाल (सुप्रवल जनसेवा श्री तृतिय) र समारोह समितिका सचिव कुलबहादुर थापा (प्रवल जन सेवा श्री चतुर्थ) मानपदवीका लागि सिफारिसमा परेका छन् ।

सागबाहेक खेलकुदबाट ओलम्पिक संगिना बैद्य (प्रज्वल सेवा श्री चतुर्थ) विभूषण प्राप्त गर्ने सुचिमा परेकी छिन् । सागमै स्वर्ण पदक जित्ने १५ खेलाडीले भने युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा नभई सम्बन्धित विभाग (सेना, प्रहरी र सशस्त्र) को सिफारिसमा विभूषण प्राप्त गर्न लागेका हुन् । जसमा पुलिसका ७, सेनाका ६ र सशस्त्रका २ खेलाडी छन् । मन्त्रालयको आशा गरेको भए यी अन्य स्वर्ण पदक विजेतासँगै यी १५ खेलाडी पनि विभूषणबाट बन्चित हुने देखिएको छ ।

के सागका पदक विजेता खेलाडीका लागि मन्त्रालयले केहि प्रयासनै गरेको थिएन त ? प्रयासका नाममा राखेपमार्फत सबैलाई सिफारिस गर्न सकिन्न भन्ने अभिप्रायका साथ ५१ स्वर्ण पदक दिलाउने ७६ खेलाडीलाई फारम भर्न लगाइएको थियो । फारम मन्त्रालयमा पनि पुगेको थियो ।

संविधान दिवसका अवसरमा हरेक वर्ष मानपदवी, अलंकार र पदक गरी २ सय जनालाई मात्रै विभूषण प्रदान गर्न पाइने व्यवस्था थियो यसपटक परिवर्तन गरिएको थियो । मन्त्रिपरिषद्ले भदौ अन्तिम साता तक्माको संख्या निर्धारण सरकारको तजबिजीमा हुने गरी भन्दै पुरानो मापदण्ड परिवर्तन गरेको थियो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको समितिले तक्मा पाउनेको सूचीलाई अन्तिम रूप दिएर मन्त्रिपरिषदमा पेस गरेका थिए । मन्त्रिपरिषदबाट त्यसलाई अनुमोदन गरी बिहीबार तक्मा पाउनेको सूची राष्ट्रपति कार्यालयमा पठाइएको थियो । मन्त्रीपरिषदले तक्माको संख्याको मापदण्ड परिवर्तन गर्दा मन्त्री विश्वकर्मा त्यहि चुकेको देखिन्छ ।

यसपटक ५ सय ९४ जनालाई विभूषण दिने घोषणा गरिएको छ । २ सय बाट बढेर झन्डै ६ सयलाई तक्मा दिने सिफारिस गराउँदा मन्त्री विश्वकर्माले सागका पदक विजेता, प्रशिक्षक वा व्यवस्थापनमा योगदान गरेका कसैलाई समेट्न पहल गरेको देखिएन वा गर्न सकेनन् ।

मन्त्रालय श्रोतका अनुसार पहिला दिएकै कोटामा सिलवाल, थापाको सिफारिस गरिसकेका मन्त्रीले फारम भरिएका खेलाडीको नाम प्रस्ताव नै गरेनन् । स्वर्ण पदक विजेता खेलाडीको फारम मन्त्रालयमा नै थन्काइयो । यो विषयमा बुझ्न खोज्दा मन्त्री विश्वकर्मासँग सम्पर्क हुन सकेन ।

१३ औं सागका नेपाली टोलीका सेफ द मिसन समेत रहेका राखेपका निर्वतमान उपाध्यक्ष पिताम्बर तिम्सिना पदक विजेता विभूषित नहुनुमा मन्त्री विश्वकर्मा र राखेप कार्यकारी प्रमुखका हिसाबले सिलवालले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँछन् ।

‘सिफारिसका सम्बन्धमा त्यति बेला मन्त्रालयमा छलफल हुँदा मन्त्री, सदस्य सचिवसहित हामी सहभागी भएका थियौं । त्यति बेला मन्त्री ज्यूले कोटा कम आएको भन्नुभएको थियो ,’ उनले भने, तर हामीले कम्तीमा स्वर्ण पदक सबलाई सिफारिस गर्नुपर्छ भनेका थियौं । अहिले यस्तो सुचि आउँदा खेलाडीको अपमान भएको छ ।’

तक्माको संख्या बढ्दा मन्त्री र सदस्य सचिवले लबिङ गर्न नसक्दा आज खेलाडी निराश हुनुपरेको तिम्सिनाले तर्क गरे । ‘सदस्य सचिवले आफ्नो नाम सिफारिस भइरहँदा पदक विजेताको हुनुपर्छ भन्ने अडान लिनुपर्ने थियो । साग सफल पार्न धेरैको भूमिका छ ,’ उनले थपे, ‘खेलाडी, प्रशिक्षक, प्राविधक,पदाधिकारी सबैको भूमिका छ । यसरी तक्मा बढ्दा खेल क्षेत्र छट्नु कमजोरी हो । निर्णय पूर्नविचार गरिनुपर्दछ ।’

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले शनिबारनै विज्ञप्ती जारी गर्दै १३ औं सागलाई सफलताका हिसाबले इतिहास बनाउन महत्वपूर्ण भूमिका खेल्ने खेलाडीको अपमान भएको भन्दै गुनासो गरेका थिए ।

खेल क्षेत्र सम्बन्धित अधिकांश यसबाट सन्तुष्ट देखिएनन् । आफुसँगै जोडी भएर तेक्वान्दोको पुम्सेमा स्वर्ण पद जितेका साथी विभूषित हुँदा आयशा शाक्य तक्माबाट बञ्चित भइन् । उनको जोडी सञ्जिव ओझा सेनाको सिफारिसमा स्वीकृति पदक पाएका छन् । जोडीसँगै एकलमा गरि दोहोरो स्वर्ण पदक जितेकी आयशाको भागमा भने निराशा परेको छ ।

आयशा सम्मान मागेर लिनुपर्यो भने त्यो सम्मान नै नहुने बताउँछिन् । ‘यो त सरकारले त्यसमा पनि सम्बन्धित मन्त्रीले बुझ्नु पर्ने विषय हो । सुन्दै नमज्जा लाग्ने । हामी धरैले खेलकुदलाई आफ्नो जीवन मानेर लागेका छौं,’ उनको गुनासो छ, ‘व्यक्तिगत र पारिवारिक जीवनलाई बेवास्ता गर्दै यहि खेलकुदमा लागियो । पदक जित्यो । सरकारले पैसा पनि दियो । तर, अझै पनि राज्यले विभूषणको हकदार नसम्झदा मन दुःख्ने रहेछ ।’

खेलाडीलाई यसरी वेवस्ता गरिदा त्यसको असर नयाँ पुस्तामा पर्ने आयशाको बुझाई छ । ‘पैसाको आफ्नो ठाँउमा महत्व छ, तर खेलाडीले सम्मान पनि चाहन्छ । तर मागेर सम्मान लिने भन्ने हुँदैन ,’ उनले थपिन्, ‘यसलाई हाम्रो सरकारले किन बुझ्न सकेन हामी खेलाडी स्तब्ध भएका छौं । नयाँ पुस्ता के देखेर खेलकुदमा आउने भन्ने गम्भिर प्रश्न उब्जिएको छ । ‘

आयशा मात्र होइन उनी जस्तै दोहोरो स्वर्ण पदक जित्न करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुबास तामाङ पनि विभूषितको सुचीमा परेनन् । अझै ३६ वर्ष लामो साग इतिहासमा नेपाललाई अहिले सम्मकै ठूलो सफलता दिलाउने ४ स्वर्ण पदक विजेता गौरिका सिंह भने विभूषणमा अटिनन् । १३ औं सागको सफलताका लागि एक मात्र पदक दिने अवस्थामा पनि निर्विवाद रुपमा गौरिका त्यसको हकदार हुन् । त्यसमा पनि मन्त्रीको ध्यान पुगे देखिएन । २० वर्षअघि स्वदेशमै आयोजना भएको आठौं साग होस् वा पाकिस्तानमा आयोजित नवौं सागका पदक विजेता सबै खेलाडीलाई तत्कालिन सरकारले तक्मा प्रदान गरेको थियो ।

राखेप उपाध्यक्ष शिव कोइराला पनि विभूषण घोषणाबाट खुसी छैनन् । ‘म आफैलाई यो चित्त बुझेको छैन । यो प्रक्रिया पहिला नै भएको हुनुपर्दछ । हामी आएर यो विषय बोर्डमा छलफल भएको छैन ,’ उनले भने, ‘जे भएको छ त्यसलाई सन्तोष मान्न सकिन्न । खेलकुदमा जसले पाउनुभयो त्यसमा गुनासो होइन । खेलाडीमाथि भने अन्याय भएको छ । कम्तीमा स्वर्ण पदक विजेतालाई विभूषित गरिनुपर्थ्यो ।’

कोइरानाले राखेपबाट सागका स्वर्ण पदक विजेता खेलाडीका लागि कुनै न कुनै रुपमा सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरे । ‘विभूषणमा संसोधन गर्ने सम्भावना कति हुन्छ त्यो बेग्लै पाटो भयो ,’ उनले वचन दिए, ‘तर बोर्डबाट शीर्षक मिलाएर भएपनि स्वर्ण पदक विजेता खेलाडीका लागि केहि न केहि सम्बोधन हुने गरि म निर्णय गराउँछु ।’ खेलकुद बाहिरको हकमा जाँदा विभूषित हुने कतिपय व्यक्तिको सम्भावित कारवाहीलाई टार्नका लागि पनि यस्तो सिफारिस गरिएको हुन सक्ने उपाध्यक्ष कोइरालाले आकलन गरे ।

सागका स्वर्ण पदक विजेता विभूषित नहुँदा भने आफु आश्चार्यमा परेको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष समेत रहेको संघिय संसद जीवनराम श्रेष्ठ बताएका छन् ।

‘१३ औं सागको सफलतालाई आधार मानेर दिने हो भने यसलाई विभूषणको सिफारिस सन्तोषजनक मान्न सकिन्न । पहिलो प्राथमिकता खेलाडी अनि त्यसपछि प्रशिक्षक, प्राविधिक र अन्य पक्षलाई गरिनुपर्ने हो ,’ उनले भने, ‘यसको मापदण्ड के हो कसरी गरियो भन्नेमा जानकारी भएन । जसरी घोषणा भएको छ यसले खेल क्षेत्रलाई निराश बनाएको छ ।’

खेलाडीको उपलब्धी विना १३ औं सागलाई सफल मान्न नसकिने उल्लेख गर्दै साग आयोजनाका दौरान दक्षिण एसिया ओलम्पिक काउन्सिल (एसएओसी) का अध्यक्ष समेत रहेका श्रेष्ठले थपे, ‘त्यसबाहेक साग आयोजनालाई सफल पार्न धेरैले आ आफ्नोठाँउबाट भूमिका खेलेका छन् । त्यसलाई पनि कतै सम्बोधन नहुनु दुःखद हो । खेलाडीलाई निराश बनाएको छ भने आउने पुस्तालाई निरुत्साहन गरेको छ ।’

राखेपको सिफारिसमा एक जना पदक विजेता खेलाडी पनि विभूषित नहुँदा सदस्य सचिव सिलवाल र राखेपका प्रवक्ता समेत रहेका थापामाथि नैतिक दबाब परेको छ । राखेपकै सदस्य गोविन्द भट्टराईले सामाजिक सञ्जालमार्फत सिलवाल र थापालाई मानपदवीको मौन बहिष्कार गर्नुपर्ने सम्मको सुझाव दिएका छन् ।

राष्ट्रिय जीवनमा विशिष्ट योगदान गरेकाहरू मात्रै विभूषित हुन सक्ने कानुनी व्यवस्था छ । यसपटक कतिपय विभूषित हुने व्यक्तित्वको घोषणा भने स्वभाविक छ । तर अधिकांशको आधार र औचित्य नखोजी मनोमानी ढंगले तक्मा बाँडेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ । सागको सफलता पछि पदक विजेता खेलाडी विभूषित नहुँदा खेल क्षेत्रले भने अपमान महसुस गरेको छ ।

यो पनि :

सदस्य सचिवले मानपदवी पाउँदा सागका पदक विजेतालाई बेवास्ता

विभागका सिफारिसमा सागमा स्वर्ण जित्ने १५ लाई मानपदवी

खेलाडी संघ भन्छ – ‘खेलाडीको अपमान भएको छ’

April 18, 2024

राष्ट्रपति रनिङ सिल्ड – सुदूरपश्चिम टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले पहिलो पटक केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बिहीबार टिम च्याम्पियन बनेको छ । १४ औं संस्करणमा १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदकका साथ सुदूरपश्चिम च्याम्पियन बनेको हो । बागमती प्रदेश १७ स्वर्ण, १३ रजत र १५ कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको कर्णाली प्रदेशले १० स्वर्ण, ५ […]

April 18, 2024

एथलेटिक्समा ३ कीर्तिमान, आशिषले ३६ वर्ष पुरानो कीर्तिमान तोडे

काठमाडौं (हााम्रो खेलकुद)– १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको अन्तिम दिन बिहीबार एथलेटिक्समा ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण पदक जितेको छन् […]

April 18, 2024

वर्षभर चलायमान भलिबल

दिल तामाङ नेपाली भलिबल वर्ष २०८० मा चलायमान रह्यो । घरेलु भलिबल व्यस्त रहँदा अन्तर्राष्ट्रिय सहभागिताले पनि निरन्तरता पायो । भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएको ६ वर्ष भन्दा बढी भइसकेको छ । तर, अपेक्षा अनुसार सरकारले भलिबलमा लगानी भने गरेको छैन । यद्यपि घरेलु भलिबल व्यस्त रह्यो । पुरुषको १५ र महिलाको ९ वटा […]

Success

Thank you for your time.