default_image

1 year ago

December 1, 2022

नेपालले विश्वकप छनोटमै ठूला टेस्ट राष्ट्रसँग खेल्ने सम्भावना

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकपका लागि छनोट प्रक्रिया सुरु भइसकेको छ । आइसिसीले भारतमा हुने विश्वकपको लागि तीन चरणमा छनोट गर्ने बताएको छ । यसपटक छनोट समीकरण हेर्दा नेपालले राम्रो प्रदर्शन गरे ग्लोबल छनोटमै ठूला टेस्ट राष्ट्रसँग खेल्नुपर्ने देखिएको छ ।

छनोटको सबैभन्दा माथिल्लो श्रेणीको रुपमा रहेको विश्वकप सुपर लिगमा १२ टेस्ट टोलीसँगै नेदरल्यान्ड्सले प्रतिस्पर्धा गरिरहेका छन् । आयोजक भारतसँगै इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, अफगानिस्तान र पाकिस्तानले अंक तालिकामा बलियो प्रस्तुतिका साथ विश्वकपमा सोझै स्थान बनाएका छन् ।

आइसिसी सुपर लिगमा हरेक टोलीले कुल २४ खेल खेल्नुपर्ने छ । जसबाट आयोजक भारतसँगै शीर्ष ८ टोली सोझै विश्वकपमा पुग्नेछन् । पुछारका पाँच टोलीले ग्लोबल विश्वकप छनोट खेल्नुपर्ने हुन्छ । अंक तालिकामा अहिलेको अवस्था हेर्दा पूर्व विश्वकप च्याम्पियन श्रीलंका र वेस्टइन्डिजसँगै शक्तिशाली देश दक्षिण अफ्रिकालाई ग्लोबल छनोट खेल्नुपर्ने डर छ ।

विश्वकप सुपर लिगको अवस्था

भारत २१ खेलमा १ सय ३९ अंकका साथ शीर्ष स्थानमा छ । न्युजिल्यान्ड १८ खेलमा १२ मा जितका साथ १ सय ३० अंकका साथ दोस्रो स्थानमा छ । इंग्ल्यान्ड १८ खेलमा १२ मा जितका साथ १ सय २५ अंकका साथ तेस्रो स्थानमा छ ।

अष्ट्रेलिया १८ खेलमा १२ मा जितका साथ १ सय २० अंक सहित चौथो स्थानमा छ । बंगलादेश र पाकिस्तानको समान १८ खेलमा १२०–१२० अंक हुँदा क्रमशः पाँचौं र छैटौं स्थानमा छन् । अफगानिस्तान १५ खेलमा १ सय १५ अंकका साथ विश्वकपमा पुगेको छ ।

वेस्टइन्डिज २४ खेलमा ९ मा जितका साथ ८८ अंकका साथ आठौं स्थानमा छ । श्रीलंका २१ खेलमा ७ मा जितका साथ ७७ अंकसहित नवौं स्थानमा छ । आयरल्यान्ड २१ खेलमा ६ मा जितका साथ ६८ अंक जोड्दै दशौं स्थानमा छ ।

दक्षिण अफ्रिका १६ खेलमा ५ मा जित र ९ मा हारसहित ५९ अंकका साथ ११ औं स्थानमा छ । जिम्बावे २१ खेलमा ४ मा जितका साथ ४५ अंकका साथ १२ औं स्थानमा छ । नेदरल्यान्ड्स १९ खेलमा २ मा जितका साथ २५ अंकका साथ पुछारमा छ ।

पाँच मध्य एक टोलीलाई अवसर

पाँच मध्य चार टोलीले सोझै विश्वकप खेल्न नपाउने पक्का छ । त्यसको डरमा तीन ठूला टोली श्रीलंका, वेस्टइन्डिज र दक्षिण अफ्रिका छन् । दक्षिण अफ्रिकाले ८ खेल खेल्न बाँकी छ । सुपर लिगमा एक जितमा १० अंक मिल्ने गर्दछ । खेल टाई वा रद्द भएको अवस्थामा ५-५ बाँडिनेछ ।

दक्षिण अफ्रिका सबै ८ खेलमा विजयी हुँदा १ सय ३९ अंक हुनेछ । जुन सोझै विश्वकपमा पुग्न पर्याप्त हुन्छ । तर दक्षिण अफ्रिकाले अब इंग्ल्यान्ड र अष्ट्रेलियासँग समान तीन तीन ओडिआई खेल खेल्नेछ । अष्ट्रेलिया र इंग्ल्यान्डसँग खेल्न बाँकी हुँदा दक्षिण अफ्रिकालाई सहज हुनेछैन ।

श्रीलंकाको ७७ अंक छ । श्रीलंकाले अब तीन खेल खेल्न बाँकी छ । श्रीलंकाले बाँकी तीन खेल न्युजिल्यान्डसँग उसकै मैदानमा गएर खेल्नेछ । सबै खेल खेलिसकेको वेस्टइन्डिज श्रीलंका र दक्षिण अफ्रिकाको हार चाहन्छ ।

अन्य टोली भन्दा दक्षिण अफ्रिका केहि बलियो अवस्थामा छ । तर बलिया टोलीसँग खेल्न बाँकी हुँदा सिधैं छनोट हुन सहज भने छैन ।

छनोटमा नेपालको अवस्था

नेपालले छनोटको दोस्रो श्रेणी अर्थात आइसिसी विश्वकप लिग–२ प्रतिस्पर्धा गरेको छ । ७ टोली सहभागी प्रतियोगिता शीर्ष तीन टोलीले ग्लोबल छनोट खेल्नेछन् । हरेक टोलीले कुल ३६ खेल खेल्नेछन् ।

नेपाललाई शीर्ष तीनमा पर्न कठिन छ । नेपाल २० खेलमा ८ मा जित र ११ मा हारका साथ १७ अंक जोड्दै छैटौं स्थानमा छ । नेपाल शीर्ष तीनमा पर्न बाँकी १६ खेल मध्य १२ भन्दा बढी जित्नुपर्ने हुन्छ ।

विश्वकप लिग–२ को अंक तालिका

ओमान ३६ खेलमा २१ खेलमा जितका साथ ४४ अंक जोड्दै शीर्ष स्थानमा छ । स्कटल्यान्ड २८ खेलमा १९ मा जितको साथ ४० अंक जोड्दै दोस्रो स्थानमा छ । ओमान र स्कटल्यान्ड शीर्ष तीनको लागि मजबुत अवस्थामा छन् ।

अमेरिका ३६ खेलमा १६ मा जितका साथ ३५ अंक जोड्दै तेस्रोमा छ । नामिबिया २६ खेलमा १६ मा जितका साथ ३२ अंक जोड्दै चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जितका साथ २७ अंकका साथ पाँचौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जितका साथ पुछारमा छ । पपुवा न्युगिनीले क्वालिफायर प्लेअफ खेल्ने पक्का भएको छ ।

ग्लोबल छनोट खेल्ने अर्को अवसर

नेपाल शीर्ष तीनमा पर्न नसके विश्वकप यात्राबाट भने बाहिरिदैन । विश्वकप लिग२ का बाँकी पुछारका चार टोलीले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । क्वालिफायर प्लेअफमा विश्वकप सुपर लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिग ए र बी का विजेता गरि कुल ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्ष दुई टोली ग्लोबल छनोटमा पुग्नेछन् ।

जर्सी बी को विजेता

तेस्रो श्रेणीको रुपमा रहेको च्यालेन्ज लिगको समूह बी बाट जर्सीले स्थान पक्का गर्दै क्वालिफायर प्लेअफमा स्थान बनाएको छ । च्यालेन्ज ए र बी मा ओडिआई मान्यता नभएका एसोसियट टोलीले प्रतिस्पर्धा गरेका थिए । हरेक टोलीले १५ खेल खेल्ने गर्दछन् । जर्सीले च्यालेन्जस लिग बी बाट नेटरनरेटमा युगान्डालाई पछि पार्दै क्वालिफायर प्लेअफमा स्थान बनाएको थियो ।

जर्सीको १५ खेलमा २२ अंक हुँदा नेटरनरेट प्लस १.५४१ रह्यो । युगान्डाको समान २२ अंक भएपनि नेटरनरेट १.०६२ रह्यो । हङकङ १९ अंक, केन्या १५ अंक, इटाली ११ अंक र बर्मुडा एक अंकका साथ बाहिरिए ।

ए बाट क्यानडाको सम्भावना

हालसम्म च्यालेन्ज लिग ए मा १० खेल सकिएका छन् । अव सबै टोलीले समान पाँच खेल खेल्न बाँकी छ । क्यानडा १८ अंकका साथ शीर्ष र सिंगापुर १४ अंकका साथ दोस्रो स्थानमा छन् ।

डेनमार्क १२ अंकका साथ तेस्रो, कतार १० अंकका साथ चौथो स्थानमा छन् । भनुआतु ४ र मलेसिया २ अंकका साथ बाहिरि सकेका छन् । यसको अन्तिम प्रतियोगिता डिसेम्बरमा मलेसियामा हुनेछ । जसबाट शीर्ष टोली प्लेअफमा आउनेछ । यसमा क्यानडा माथि आउने प्रबल सम्भावना छ ।

ग्लोबल छनोटमा १० टोली

ग्लोबल छनोटमा १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । ग्लोबल छनोट जिम्बावेमा हुने बताइएको छ । जसमा सुपर लिगका पुछारका पाँच टोली, विश्वकप लिग–२ का शीर्ष तीन टोली र क्वालिफायर प्लेअफबाट आउने दुई टोली हुनेछन् ।

फाइनल पुग्ने दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछ । २०२७ को विश्वकप देखि भने विश्वकपमा १४ टोली हुनेछन् । २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, नामिबिया र जिम्बावेले आयोजना गर्नेछन् ।

May 12, 2024

ललितपुर मेयर्स-११ को सुदुरपश्चिम विरुद्ध हार 

काठमाडौँ (हाम्रो खेलकुद) – शनिवार भएको पहिलो खेलमा विजयी सुरुवात गरेको ललितपुर मेयर्स-११ ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा दोस्रो खेलमा भने पराजित भएको छ । वर्षाले प्रभावित खेलमा ललितपुर सुदुरपश्चिम प्रदेश विरुद्ध डकवर्थ-लुइस-स्टाइन पद्दतिका आधारमा १६ रनले पराजित भएको हो ।    सुदुरपश्चिम प्रदेशले दिएको १२३ रनको लक्ष्य पछ्याएको ललितपुरले ११ ओभरमा २ विकेटको […]

May 12, 2024

कोलकत्ता प्लेअफमा पुग्ने पहिलो टोली

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत शनिवारको एकमात्र खेलमा कोलकत्ता नाइट राइडर्स विजयी हुँदै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । वर्षाले प्रभावित खेलमा कोलकत्ताले मुम्बई इण्डियन्स विरुद्ध १८ रनको जित दर्ता गर्दै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो । वर्षाका कारण ढिलो सुरुवात भएर १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले […]

May 11, 2024

सैनिक महाविद्यालय फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एन्जल्स हार्ट स्कूललाई हराउँदै सैनिक आवासीय महाविद्यालय जयकुमार नाथ शाह स्मारक यु-१६ अन्तर स्कुल क्रिकेट प्रतियोगिता २०८१ को फाइनल प्रवेश गरेको छ । शनिवार भएको पहिलो सेमीफाइनल खेलमा सैनिकले ८८ रनको जित दर्ता गर्दै फाइनल प्रवेश गरेको हो । सैनिकले दिएको १८२ रनको लक्ष्य पछ्याएको एन्जल्स हार्ट स्कूल १७ ओभरमा ८३ […]

Success

Thank you for your time.