काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर निर्मल गुरुङले घातक बलिङ गर्दै पाँच विकेट लिएपछि लुम्बिनी प्रदेशले वाई वाई यू–१९ राष्ट्रिय प्रतियोगितामा प्रदेश एकलाई ६ विकेटले हराएको छ । योसँगै लुम्बिनी ८ अंकका साथ फाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।

जितको लागि ७० रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीको जितमा देव खनाल ३९ बलमा २ चौकासहित १९ रनमा आउट भए । आकाश त्रिपाठीले ३३ बलमा २ चौकासहित १७, विशाल विक्रम केसी डक आउट भए ।
प्रज्वल थापा ११ बलमा २ चौका र १ छक्कासहित १५, सुनिल भण्डारी ६ र विशाल भुषाल ८ रनमा आउट भए । प्रदेश एकका दीपेश कंडेलले ५ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । विपिन महतोले एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एक २६.२ ओभरमा ६९ रनमा अल आउट भयो । प्रदेश एकका सुभन गहतराजले २२ बलमा ३ चौकासहित २२ तथा आइस्टाइन रिजालले १९ रन बनाए । आइस्टाइनले ६८ बलमा २ चौका प्रहार गरे ।
लुम्बिनी प्रदेशका स्पिनर निर्मल गुरुङले ४.२ ओभरमा २ मेडनसहित ४ रन खर्चेर ५ विकेट लिए । निर्मलको यो पहिलो पटक पाँच विकेट हो । टियु एण्डबाट आएका निर्मलले उत्कृष्ट बलिङ गरेका थिए । दुर्गेश गुप्ताले दुई, अभिषेक गौतम र तुलबहादुर थापाले एक एक विकेट लिए ।
लुम्बिनी ५ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा छ । लुम्बिनीले अन्तिम खेल आइतबार मधेशसँग खेल्नेछ । उक्त खेलमा लुम्बिनी विजयी हुँदा १० अंक हुनेछ । उता सुदूरपश्चिम ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा छ । बागमती ५ खेलमा ४ मा जितसहित ८ अंकका साथ दोस्रो स्थानमा छ ।
बागमतीले अन्तिम खेलमा सुदूरलाई हराए उसको पनि १० अंक हुनेछ । नेटनरनेटमा फाइनलमा पुग्ने दुई टोली निर्धारण हुनेछ । अन्तिम खेलमा लुम्बिनी विजयी हुँदा र बागमती पराजित हुँदा भने सोझै फाइनलमा पुग्नेछ । शीर्ष दुई टोली आगमी सोमबार फाइनमा प्रतिस्पर्धा गर्नेछन् ।