एजेन्सी – प्रमुख ब्याटर स्टिभ स्मिथ र मार्नस लाबुसेनको सानदार दोहोरो शतकमा अष्ट्रेलियाले पहिलो टेस्ट खेलमा वेस्टइन्डिजविरुद्ध पहिलो इनिङमा ५ सय ९८ रनको विशाल योगफल तयार पारेको छ । दोस्रो दिन तेस्रो सेसनमा अष्ट्रेलियाले १५२.४ ओभरमा ४ विकेट गुमाउँदै ५ सय ९८ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो ।

अष्ट्रेलियाका स्टिभ स्मिथ ३ सय ११ बलमा १७ चौकासहित २ सय रनमा अविजित रहे । स्मिथको यो टेस्ट करिअरको चौथो दोहोरो शतक हो ।
अष्ट्रेलियाका मार्नस लाबुसेन ३ सय ५० बलमा २० चौका र १ छक्कासहित २ सय ४ रनमा क्याच आउट भए । लाबुसेनले जयडेन सिल्सलाई चौका हान्दै आफ्नो टेस्ट करिअरको दोस्रो दोहोरो शतक हानेका थिए । दोहोरो शतक हानेको दुई बलपछि लाबुसेन क्रेग ब्रेथवेटको बलमा विकेटकिपर जोशुवा डा सिल्भाबाट क्याच आउट भए ।

तेस्रो विकेटका लागि स्मिथ र लाबुसेनले २ सय ५१ रनको साझेदारी गरेपछि विशाल योगफल बनाएको छ । चौथो विकेटका लागि स्मिथ र ट्रविस हेडले १ सय ९६ रनको उत्कृष्ट साझेदारी गरेका थिए । ट्रविस हेड ९५ बलमा ११ चौकासहित ९९ रनमा बोल्ड भए । हेड व्रेथवेटको बलमा बोल्ड भएपछि शतक बनाउन एक रनले चुकेका थिए ।
पर्थमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले सुरुवातमै ओपनर डेविड वार्नरलाई पाँच रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि मार्नस लाबुसेन र उस्मान खवाजाले १ सय ४२ रनको साझेदारी गदै बलियो योगफलको आधार तय पारेका थिए ।
उस्मान खवाजा १ सय ४९ बलमा ५ चौका र १ छक्कासहित ६५ रनमा क्याच आउट भए । काइल मेयर्सको बलमा खवाजा आउटसाइड लागेर विकेटकिपर जोशुवा डा सिल्भाबाट क्याच हुन पुगे ।