काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश नम्बर १ को प्रादेशिक क्रिकेट संघका सचिव मनोज कटवालले पदबाट राजीनामा दिएका छन् ।

गत सोमबार प्रदेश एकको आयोजनामा भएको सगरमाथा टि२० कप पैसा तिर्न नसकेपछि बिचमै स्थगित भएको भएको थियो । उक्त प्रतियोगिता हुन नसकेपछि कटवालले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । साथै टिमभित्र आफूले साथ पनि नपाएको बताए ।
‘अब नैतिकताको आधारमा पनि राजीनामा दिनु पर्यो । काम गरेपछि सफल हुन सकिएन । प्रदेशको बैठक नभएको तीन वर्ष भइसक्यो । बारम्बार मैले राखौं भनेपनि हुन सकेन । मैले शारीरिक रुपमा नभएपनि अन्य रुपमा बैठक गरौं भनेको थिए । टिमभित्र पनि असहयोग भयो’, कटवालले हाम्रो खेलकुदसँग भने ।
‘असहज स्थिति भएपछि राजीनामा दिनु पर्यो । बैठक हुने नहुने टुंगो भएन । प्रयास गरेकोमा असफल भएपछि हामीलाई थाहा छैन भन्न थाले । राजीनामा दिनुको मुख्य कारण प्रतियोगिता गर्न नसक्नु नै हो,’ उनले भने ।
नेपाली क्रिकेट टोलीका पूर्व खेलाडी समेत रहेका कटवाल नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक हुन् । उनले अब प्रशिक्षणमै केन्द्रित हुने बताए । ‘म अब जिल्ला र प्रदेशमा पनि दोहोरिने छैन । अब प्रशिक्षणमा मात्रै ध्यान दिन्छु’, कटवालले भने ।
मंसिर ७ देखि सुरु भएको प्रतियोगितामा तीन विभागीय टोली, आयोजक प्रदेश एक र दुई भारतीय टोली ध्रुव क्रिकेट एकेडेमी र इस्ट सन्ट्रल रेलवे गरि ६ टोली सहभागी थिए । प्रतियोगिताको १० खेल सम्पन्न भइसकेको थियो ।
आइतबारसम्म खेल भएपनि पैसा तिर्न नसकेपछि सोमबारबाट भने प्रतियोगिता स्थगित भएको थियो । प्रायोजकको रुपमा जिम्मा पाएको लेभिन स्पोट्र्सले पैसा तिर्न नसकेपछि प्रतियोगिता नै स्थगित भएको थियो । लेभिनका निर्देशक रोशन धितालले आफूलाई प्रायोजकले पैसा नदिने भएपछि खेल स्थगित भएको थियो ।