default_image

3 years ago

April 20, 2021

नेपालले नेदरल्यान्ड्ससँग हार्नुका ५ कारण

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा मंगलबार नेदरल्यान्ड्सँग ३ विकेटले पराजित हुन पुग्यो । टियु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो ।

विशाल योगफल बनाउँदै पहिला ब्याटिङ गर्ने निर्णयलाई ब्याट्सम्यानले सही सावित गरेपनि बलर चल्न नसक्दा कप्तानको निर्णय घातक बन्यो । नेदरल्यान्ड्सले गतिलो जवाफ दिँदै ३ बल अगाडिनै ७ विकेटको क्षतिमा २ सय ९ रन जोड्दै नेपाललाई निराश बनायो । टि२० आईमा नेपालले दोस्रो पटक दुईसय रन भन्दा बढी रन बनाएको थियो । तर पनि पराजित हुन पुग्यो ।

नेपालको प्रमुख हतियार मानिने बलिङनै नेदरल्यान्ड्सविरुद्ध कमजोर सावित भयो । यो हारसँगै नेपाल एक खेल अगावै फाइनल पुग्ने अवसर गुमाएको छ । बुधबार मलेसिया नेदरल्यान्ड्ससँग पराजित भएमा स्वतः फाइनलमा पुग्ने छ । अन्यथा अन्तिम खेलको नतिजा पर्खनु पर्ने हुन्छ । समग्रमा नेपालले नेदरल्यान्ड्सविरुद्ध विशाल रन बनाएपनि हार्नुको मुख्य ५ कारण यस प्रकार छन् ।

५. ब्याटिङमा उत्कृष्ट गर्न नसक्नु

ओपनर कुशल भुर्तेलले लगातार तेस्रो अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाउँदा दीपेन्द्रले आफ्नो टि२० आई करिअरकै उच्च प्रदर्शन गरेपछि नेपाल १६ ओभरमा १६६–४ को बलियो अवस्थामा पुर्याएका थिए । क्रिजमा कुशल मल्ल, विनोद भण्डारी, सोमपाल कामी र करण केसी जस्ता आक्रामक ब्याट्सम्यान हुँदा अन्तिम २४ बलमा ५० रन सहजै बनाउन सक्थ्यो । तर नेपालले अन्तिम २४ बलमा मात्र २ चौका र २ छक्का प्रहार गर्दै कुल ४० रन मात्र बनाएको थियो ।

नेपालले अन्तिम चार ओभरमा ५० को आसपासमा रन जोडेको भए विजयीको लागि पर्याप्त हुन सक्थ्यो । नेदरल्यान्ड्सले अन्तिम १५ बलमा ५ छक्का र २ चौका सहित ४७ रन जोड्दै उत्कृष्ट जित निकालेको थियो । पछिल्लो एक वर्षमा टियुको पिच ब्याटिङ निकै गज्जब बनेको छ । ब्याट्सम्यान खुलेर रन बनाई रहेका छन् । विशाल रन जोगाउनै मुश्किल पर्दै आएको छ । थप १०-१५रन बनाउन सकेको भए नेदरल्यान्ड्सका खेलाडीलाई दबाब पनि अतिक्ति हुन्थ्यो ।

लक्ष्य पछ्याउँदा स्कोरबोर्डको दबाब झन बढी हुन्छ । तर नेदरल्यान्ड्सका ब्याट्समान पिचको फाइदा उठाउँदै खुलेर रन बनाउँदै आफ्नो टि२० आई इतिहासकै सर्वाधिक ठूलो लक्ष्य पूरा गर्न सफल भए ।

४. बलर नचल्नु र कमजोर डेथ ओभर

क्रिकेटमा जितको लागि ब्याट्सम्यानले रन बनाएर मात्र हुँदैन बलरले पनि त्यतिनै उत्कृष्ट प्रदर्शन गर्नुपर्छ । नेदरल्यान्ड्सँग सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका थिए । प्रमुख तीव्र गतिका बलर सोमपाल कामी विकेट विहिन हुँदा करण केसी र अभिनाश बोहराले १–१ विकेट लिएका थिए । करणले अन्तिम र अभिनाशले १९ औं ओभरमा विकेट लिएका थिए । जुन समय खेल नेपालको हातबाट निस्कि सकेको थियो ।

साहब आलमले २ ओभरमा २३ रन खर्चदा विकेट लिन सकेनन् । प्रमुख पाँच बलर मध्य सोमपाल र साहबले २–२ ओभरमात्र बलिङ गरे । तर दुबैले विकेट लिन सकेनन् । सोमपाल र साहबले समान २३ रन खर्चेका थिए । सन्दीपले ४ विकेट लिएपनि उनको इकोनमी १२ को थियो । कुनैपनि प्रमुख बलरले कसिलो बलिङ गर्दै नेदरल्यान्ड्सका ब्याट्सम्यानलाई दबाबमा राख्न सकेनन् । टोलीको मुख्य हतियारनै चल्न सकेन । जसको फाइदा उठाउँदै नेदरल्यान्ड्सले सहजै रन पूरा गर्यो ।

नेदरल्यान्ड्सलाई अन्तिम १८ बलमा ४५ रन चाहिएको थियो । नेपालको डेथ ओभर निकै कमजोर हुँदा नेदरल्यान्ड्सले अन्तिम १५ बलमा ५ छक्का र २ चौका सहित कुल ४७ रन जोडेको थियो । डेथ ओभरमा आएका अभिनाश बोहराले १९ औं ओभरमा १९ रन खर्चिए । १८ औं ओभरमा सन्दीपले २० रन खर्चेका थिए । डेथ ओभर राम्रो हुन सकेको भए नेपालले जित निकाल्थ्यो ।

३. समर्थकको साथको अभाव

कोरोना कारण सरकारले दर्शकलाई रोक लगाएपछि टियु मैदानभित्र मंगलबार समर्थकलाई निषेध गरिएको थियो । बाहिरबाट भने राम्रो साथ दिएका थिए । नेपालले घरेलु मैदानमा पहिलो पटक बन्द रंगशालामा अन्तर्राष्ट्रिय खेल खेलेको थियो । समर्थक १२ औं खेलाडी हुन् । जसले खेलाडीमा अतिरिक्त शक्ति, उत्साह, हौसला र उर्जा थप्दा विपक्षी खेलाडीलाई दबाबमा राख्छन् ।

नेपाली समर्थक नहुँदा नेदरल्यान्ड्सका ब्याट्सम्यान विना दबाब खुलेर खेल्न पाए । कुनै दबाब महसुस गर्न पाएनन् । खेलबाट ध्यान बाहिर जान पाएन । पहिलो पटक बन्द रंगशालामा खेल्दा त्यसले खेलाडीको मनोबलमा पनि केहि असर पर्यो । खेलाडीमा उर्जा थपिएन । जसको कारण समर्थकको अभावलाई पनि हारको कारण बन्न पुग्यो ।

२. डे लिडेको उत्कृष्ट ब्याटिङ

नेपाललाई घरेलु मैदानमा निराश बनाउन मध्यक्रमका युवा ब्याट्सम्यान बास डी लिडेले ८१ रनको उत्कृष्ट अविजित विजयी इनिङ खेले । छैटौं ओभरमा क्रिजमा चौथो नम्बरमा ब्याटिङ गर्न आएका लिडेले अन्तिम सम्म क्रिजमा रहँदै टोलीको जित सहज बनाए । उनले कुनैपनि समय नेपाली बलरलाई हाबी हुन दिएनन् ।

निरन्तर रन जोड्दै बलरलाई दबाबमा राखे रहे । जसले गर्दा अन्य ब्याट्सम्यानलाई पनि खेल्न सहज भयो । लिडेले ४२ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । लिडेले विकेट नेपालले लिन सकेको भए खेलमा हाबी हुन सक्थ्यो । तर त्यसो हुन सकेन र पराजित हुन पुग्यो ।

१. सन्दीपलाई १८ औं ओभरमा ल्याउने निर्णय

नेपालको हारको टर्निङ प्वाइन्ट १८ औं ओभर बन्यो । कप्तान ज्ञानेन्द्र मल्लले तीव्र गतिका बलर सोमपाल कामीको २ ओभर बाँकी रहँदा रहँदै स्पिनर सन्दीप लामिछानेलाई बलिङमा ल्याएका थिए । उक्त समय सम्म नेपाल खेलमा हाबी थियो । जितको सम्भावना पनि उच्च थियो । किनभने अन्तिम १८ बलमा ४५ रन बनाउनु पर्ने थियो । ज्ञानेन्द्रले सबैलाई आश्चर्य पार्दै सन्दीपलाई बलिङ लिए ।

नेदरल्यान्ड्सलाई हरेक बलमा सट खेल्नुपर्ने दबाब थियो । जसको राम्रो फाइदा उठायो । १८ औं ओभरमा सन्दीपलाई नेदरल्यान्ड्सका कप्तान पिटर शिलारले लगातार तीन छक्का हानेपछि अन्तिम १५ बलमा २७ रन चाहिएको थियो । सन्दीपले त्यसपछि तीन बलमा २ रन खर्चेका थिए । त्यो लगातार तीन छक्कानै टोलीको हारको कारण बन्यो । नेदरल्यान्ड्सले अन्तिम समयमा मोमेन्ट आफ्नो पक्षमा लग्यो ।

नेदरल्यान्ड्सका खेलाडीको मनोबल उच्च हुँदै खेलमा हाबी बने । ती तीन छक्का जसले नेपाली खेलाडीको मनोबलनै कमजोर हुन पुग्यो । १९ औं ओभरमा अभिनाश बोहराले १९ रन खर्चिन पुगे । लिडेले सट फाइनल लेगमा प्रहार गरेको बलमा कुशलले मिस्फिल्ड गरेसँगै नेपालको हार निश्चित जस्तै बनेको थियो । १८ औं ओभरमा सोमपाललाई बलिङमा ल्याएको भए सायद नतिजा नेपालको पक्षमा आउन सक्थ्यो ।

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

Success

Thank you for your time.