default_image

4 years ago

September 15, 2021

नेपालले ओमानसँग हार्नुका पाँच कारण

192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा मंगलबार राती ओमानसँग ५ विकेटले पराजित भएको छ ।

नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको विजयी लक्ष्य ओमानले ३१.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । ओमानको जितमा जतिन्दर सिंहले ६२ बलमा १२ चौका र ६ छक्का सहित सर्वाधिक १ सय ७ रनको विष्फोटक शतकीय इनिङ खेल्दै सहज जित दिलाएका थिए । जतिन्दरका सामू नेपाली बलर निरिह साबित बने । मोहम्मद नदिम ६५ बलमा २ चौका र १ छक्का सहित ३८ रनमा अविजित रहे ।

त्यसअघि अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४७.४ ओभरमा १ सय ९६ रनमा अल आउट भएको थियो । नेपालका लागि आसिफ शेखले १ सय १२ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ९० रनको योगदान दिए । पहिलो खेलमा अमेरिकामाथि सानदार जित हात पारेको नेपालको दोस्रो खेलमा प्रदर्शन कमजोर रह्यो ।

पाकिस्तानी खेलाडीको बाहुल्यता भएको ओमानले घरेलु मैदानको भरपूर्ण फाइदा उठाउँदै नेपालमाथि सहज जित निकाल्यो । मैदान भित्र र बाहिर नेपालका थुप्रै गल्तीहरु रहे । नेपालले ओमानसँग हार्नुका पाँच कारण यस प्रकार छन् ।

५. पहिला ब्याटिङ गर्ने निर्णय

ओमानविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने जोखिम निर्णय लिएको थियो । ओमानले पछिल्ला दुई खेलमा नेपालले प्रस्तुत गरेको २ सय माथिको योगफल सहजै पूरा गरेको थियो । गत वर्ष नेपालसँगको दोस्रो खेलमा ओमानले २ सय ५० रनको विजयी लक्ष्य ४७.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो । २०१८ मा ओमानले नेपालले प्रस्तुत गरेको २ सय २२ रनको विजयी लक्ष्य ४८ ओभरमा ३ विकेटको क्षतिमा सजिलै पूरा गरेको थियो ।

ओमान लक्ष्य पछ्याउँदा निरन्तर सफल हुँदै आएको छ । २०१९ मा ओमानले खेलेका पाँच ओडिआई मध्य तीन खेलमा लक्ष्य पछ्याउँदा सहज रुपमा जित हात पारेको थियो । २०२० मा पनि ओमानले ६ ओडिआई खेल खेल्दा तीन खेलमा लक्ष्य पछ्याउँदा जित निकालेको थियो । अर्कोतर्फ नेपालले पहिलो खेलमा अमेरिकाविरुद्ध २ सय ३१ रनको विजयी लक्ष्य सफल रुपमा पूरा गरेको थियो ।

त्यसले गर्दा पनि नेपालको ध्यान लक्ष्य पछ्याउनेतर्फ हुनुपर्ने थियो । टस नेपालको पक्षमा आएपनि नतिजा ओमानतर्फ गयो । नेपालको बलिङ प्रमुख हतियार हुँदा पहिला गर्दै ओमानलाई औसत योगफलमा रोक्दै नेपालले लक्ष्य पछ्याउने रणनीति बनाएको भए सायद नतिजा अकै आउन सक्थ्यो ।

४. पावरप्लेमा खराब बलिङ

नेपालले राणनीति भन्दा ५० रन कम बनाएको थियो । नेपालको योगफल २ सय २० रनको आसपासनै हुने गर्दछ । त्यस लक्ष्यमा नेपालले जित निकाल्न सक्थ्यो । त्यसको लागि पावर प्लेमा सानदार बलिङ गर्दै दबाबमा राख्नु पर्ने हुन्छ । तर नेपालको पावर प्ले सम्झन लायक रहेन ।
नेपालले आफ्नो ओेडिआई इतिहासकै खराब पावर प्लेमा बलिङ गर्दै सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै १ सय ८ रन खर्चेको थियो ।

त्यसपछि नेपाललाई खेलमा फर्कने कुनै मौका रहेन । बाँकी ८९ रन बनाउन ओमानले २१.१ ओभर सामना गर्नु परेको थियो । पावर प्लेमै दुई तीन विकेट लिँदै सानदार बलिङ गर्न सकेको भए नतिजा नेपालको पक्षमा आउन सक्थ्यो । दबाबमा विकेट गुम्ने सम्भावना बढी हुन्छ । नेपालका प्रमुख बलर सन्दीप लामिछाने पेटको अस्वस्थताको कारण बलिङ गर्न नसक्नुु ओमानलाई थप फाइदा मिल्यो ।

३. जतिन्दरको उत्कृष्ट शतक

ओमानको जितमा ओपनर जतिन्दर सिंह नायक बने । उनले विष्फोटक ब्याटिङ गर्दै एक्लै सहज जित दिलाए । जतिन्दरले दोस्रो ओभरमै विक्रम सोबलाई १८ रन प्रहार गरेका थिए । त्यो रनले उनको आत्माविश्वास झन् बढ्यो र आक्रामक रुपमा प्रस्तुत भएका थिए । पाँचौं ओभरमा नेपालका प्रमुख तीव्र गतिका बलर सोमपाल कामीलाई तीन चौका र तीन छक्का सहित कुल ३० रन प्रहार गरेपछि नेपाली बलर पूर्णरुपमा दबाबमा परेका थिए ।

विष्फोटक ब्याटिङ गरेका उनले ३४ बलमै ८५ रन बनाएका थिए । नेपाली स्पिनरले राम्रो पूनरागमन गरेपनि उनले बाँकी १५ रन जोड्न २६ बल खेल्नु परेको थियो । जतिन्दरले ६२ बलमा १२ चौका र ६ छक्का सहित १ सय ७ रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै टोलीको जित सहज बनाए । सुरुवातमै जतिन्दरको विकेट लिन सकेको भए नतिजा अकै हुन सक्थ्यो ।

२. आसिफले साथ नपाउनु

नेपालको हारको एक कारण आसिफ शेखले साथ नपाउनु हो । आसिफले एकतर्फबाट राम्रो इनिङ खेलेका थिए । तर अर्कोतर्फबाट लगातार विकेट गुमेको थियो । खराब सर्ट छनोट र गैर जिम्मेवारी ब्याटिङ ओमानविरुद्ध पनि निरन्तरता पायो । आसिफले एक्लै ९० रन बनाउँदा अन्य बाँकी १० खेलाडीले कुल ९९ रन बनाउन सकेका थिए ।

जसमा सन्दीप लामिछाने १६ र करण केसीको २१ गरि ३७ रन सामेल थियो । आसिफसँग राम्रो साझेदारी गर्ने कुनैपनि ब्याट्सम्यान हुन सकेनन् । ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । रोहित र आसिफले तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए । क्रिकेटमा साझेदारी बिना ठूलो योगफल बन्दैन । एक ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शनले मात्र जित सम्भव हुँदैन । विशेष गरि प्रमुख ब्याट्सम्यान ज्ञानेन्द्र, कुशल र विनोद चल्न सकेनन् । जसको कारण कम योगफलमै समेटिएको थियो । जुन योगफल घरेलु टोली ओमानविरुद्ध जित निकाल्न पर्याप्त थिएन ।

१. पाँच ब्याट्सम्यान खेलाउने निर्णय

नेपालको हारको कारण कप्तान र टिम म्यानेजमेन्ट बढी लिनुपर्ने हुन्छ । ब्याटिङ नेपालको कमजोर पक्ष हो । तर नेपाल जम्मा पाँच ब्याट्सम्यानका साथ मैदान उत्रेको थियो । ओपनर आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी र रोहित कुमार पौडेल ब्याट्सम्यानको रुपमा थिए । नेपालले एक अतिरिक्त ब्याट्सम्यान खेलाउनु पर्ने थियो ।

अनुभवी शरद भेषावकर र आरिफ शेख राम्रो विकल्प थिए । शरद अनुभवी खेलाडी हुँदा दबाबमा राम्रो प्रदर्शन गर्न सक्थे । टोलीमा युवा खेलाडीको बाहुल्यता हुँदा पनि शरदको आवश्यक देखिन्छ । शरद पार्टटाइम स्पिनरका रुपमा राम्रो विकल्प पनि हुन् ।

अमेरिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका रोहित र कुशल ओमानविरुद्ध चाँडै आउट भए । आसिफले ९० रन जोड्दै उत्कृष्ट ब्याटिङ गरेका थिए । कप्तान ज्ञानेन्द्र २१ र विनोद भण्डारी ६ रनमा आउट भए । ज्ञानेन्द्र टोलीका प्रमुख ब्याट्सम्यान हुन् । तर लगातार असफल हुँदै आएका छन् । कुशल मल्ल, सोमपाल कामी र करण केसीलाई नेपालले बलिङ अलराउन्डरको रुपमा खेलाएको थियो ।

कुशल यसअघिका तीनै खेलमा एक एक रनमा आउट भएका थिए । ओमानविरुद्ध पनि ४ रनमा आउट भए । विक्रम सोब र सुशान भारी मध्य नेपालले एकलाई बेन्चमा राख्न सक्थ्यो । आरिफ शेख ब्याटिङ अलराउन्डरको राम्रो विकल्प थिए । अलराउन्डरमाथि बढी विश्वास र एक कम ब्याट्सम्यान खेलाउनु हारको कारण देखिन्छ ।

स्पिनर सन्दीप लामिछानेले ओमानविरुद्ध खेलको सुरुवातमा नै घाइते भएपछि बलिङ गरेका थिएनन्

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.