default_image

9 months ago

August 4, 2023

सावित्राको ८ संघर्ष : सिम्पानीकी ‘माइली’देखि युरोप पुगेकी ‘साम्बा’सम्म

सुबास हुमागाईं, काठमाडौं फरवार्ड सावित्रा भण्डारी आफ्नो नाम भन्दा बढी उपनामले परिचित छिन् । नेपाली फुटबलमा एकपछि अर्को इतिहास लेख्दै आएकी उनी फुटबल वृत्तमा ‘साम्बा’ नामले परिचित छिन् । सानैदेखि आफ्नो नामभन्दा उपनामले परिचित उनी लमजुङको सिम्पानीस्थित पाम्चोक गाउँमा ‘माइली’ का रुपमा चिनिन्थिन् । देश-विदेशमा साम्बा नामले चिनिने सावित्रालाई आजपनि गाउँ पुग्दा छरछिमेकमा माइली भनेरै […]

5473 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

फरवार्ड सावित्रा भण्डारी आफ्नो नाम भन्दा बढी उपनामले परिचित छिन् । नेपाली फुटबलमा एकपछि अर्को इतिहास लेख्दै आएकी उनी फुटबल वृत्तमा ‘साम्बा’ नामले परिचित छिन् । सानैदेखि आफ्नो नामभन्दा उपनामले परिचित उनी लमजुङको सिम्पानीस्थित पाम्चोक गाउँमा ‘माइली’ का रुपमा चिनिन्थिन् ।

देश-विदेशमा साम्बा नामले चिनिने सावित्रालाई आजपनि गाउँ पुग्दा छरछिमेकमा माइली भनेरै बोलाउँछन् । उनलाई बोलाउने नाम नफेरिएपनि, जन्मथलोमा उनको पहिचान बदलिएको छ ।

सावित्राले लमजुङदेखि काठमाडौं यात्रा तय गर्दा उनको उपनाम र पहिचानसँगै गाउँमा महिलालाई हेर्ने दृष्टिकोणमा पनि बदलाव आएको छ । सावित्राले यो यात्रामा निकै संघर्ष गर्नुपर्यो । प्रस्तुत छ सावित्राको संघर्षपूर्ण यात्राको चरणबद्ध ८ फरक पाटो ।

१. परिवार भित्रको संघर्ष

कुनै समय थियो, सावित्रा घरबाहिर खेल्न जाँदा गाउँलेहरुले उनको आमा(बुबालाई आफ्नो छोरीलाई घरभित्र राख्न दबाब दिन्थे । सावित्राले गाउँमा रहेका अन्य केटाहरुसँग खेल्दा गाउँ र गाउँलेको इज्जत जाने भन्दै पटक पटक सावित्राको आमा(बुबाले गाउँलेको खप्की खानुपर्यो । तर जब्बर सावित्रालाई न गाउँलेको भनाइले रोक्यो, न आफ्नो अभिभावकको उनलाई रोक्ने कमजोर प्रयासले नै ।

घरका ६ सन्तानमध्य सावित्रा माइली हुन् । जेठी दिदीले सावित्रा सानै हुँदा विवाह गरेपछि घरको जेठो सन्तानको रुपमा ‘माइली’ ले घरायशी काम पनि गर्नुपर्यो । घर खर्च चलाउन बुबा एक्लै जागिरे भएपछि आमालाई घरधन्दामा सघाउने जिम्मेवारी नै सावित्राको काँधमा आएको थियो ।

घर र गाउँमा नाम माइली भएपनि सावित्रा ‘माइलो’ बनेकी थिइन् । गाउँघरमा ‘पुरुष’ले गर्नुपर्ने भन्ने गोरु जोत्ने देखि खेताला लाग्ने काममा सावित्राले नै घरको प्रतिनिधित्व गर्ने गर्थिन् । ‘पर्म लाउने’ काम अर्थात् एक अर्काको खेतमा काम गरेर आलो पालो खेतीको काम गर्न घरबाट उनी नै जाने गर्थिन् । आफ्नो घरबाट यो सम्भव भएपनि गाउँलेको सामुन्ने १४ वर्षको उमेरमा उनलाई निर्णयमा अडिग रहन सहज थिएन । तर उनको अडानसामु कसैको केहि चलेन ।

२. गाउँ र गाउँले सँगको संघर्ष

सुरुमा उनले गोरु जोत्दा घरबाट भन्दा गाउँलेबाट नै समस्या आयो । छोरीले बारी जोत्दा जमिन भासिन्छ भनेर उनको परिवारलाई त्यसो हुन नदिन दबाब नआएको होइन । तर सावित्राले जिद्दी गर्दै गोरु जोतेर छाडिन् । महिनौं बित्दा पनि जमिन नाभासिएको देखाउँदै उनले आफूलाई प्रमाणित गरिन् । आफ्नो घरको पर्म लाउने भएसँगै घरबाट एक हाल गोरु किनेरै उनी गाउँमा अन्यको बारी पनि जोत्न थालिन् ।

घरायशी कामबाहेक सावित्रा खेलकुदमा पनि उत्तिकै रुची राख्ने गर्थिन् । गाउँघरमा फुटबल खेल्ने उनी राष्ट्रपति रनिङ शिल्डमा भलिबल र एथलेटिक्सकी पनि खेलाडी थिइन् । उनले आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दै पदक पनि जितेकी छिन् । तर सावित्राको जीवनमा फुटबल नै टर्निङ पोइन्ट बन्न पुग्यो ।

३. एपिएफ प्रवेशको संघर्ष

गाउँमा केटाहरुसँग फुटबल खेल्ने उनलाई लमजुङको घलेगाँउमा भएको एक प्रतियोगितामा देखेपछि रेफ्री शुक्र तामाङले काठमाडौं जान सल्लाह दिए । स्थानीय प्रतियोगितामा रेफ्री गर्न आएका तामाङ उनको खेलबाट निकै प्रभावित भएका थिए ।

२०७० सालमा एसएलसी सकिएपछि सावित्रा उनै तामाङको सहयोगमा एपिएफ क्लब प्रवेश गर्न सफल भइन् । एपिएफ पुगेपछि सुरुवातमा भलिबल टोलीमा समेत खेलेकी उनी राष्ट्रिय फुटबल टोलीमा परेपछि भने आफ्नो लक्ष्य सोझो बनाइन् ।

४. राष्ट्रिय टोलीमा स्थान बनाउने संघर्ष

त्यसबेला फरवार्ड जमुना गुरुङ घाइते भएकाले सावित्रालाई एपिएफ र राष्ट्रिय टोली दुवैमा प्रभाव जमाउने अवसर जुरेको थियो । सन् २०१४ को साफ महिला च्याम्पियनसिपमा उनी प्रशिक्षक ध्रुव केसीको रोजाइमा परिन् । २०७१ कार्तिकमा भएको उक्त प्रतियोगिताको भुटानविरुद्ध पहिलो खेलमा बेन्चबाट मैदान छिरेको ४ मिनेटमै सावित्राले गोल गरिन् । त्यसपछि उनले पछि फर्केर हेर्नु परेन ।

त्यसपछि नेपाल फर्केर घरेलु लिगमा एपिएफका लागि खेल्दै उनले राष्ट्रिय टोलीमा पनि आफ्नो पहिलो रोजाइमा आफ्नो स्थान पक्का गरिन् । १२ औं दक्षिण एसियाली खेलकुदमा रजत जित्दा टोली भारतसँग फाइनलमा स्तब्ध हुन पुगेको थियो । त्यसयता महिला साफ च्याम्पियनसिप र १३ औं सागमा नेपाल लगातार उपविजेता बन्दै आएको छ । अन्य मैत्रीपूर्ण प्रतियोगिता समेत सावित्राले राष्ट्रिय टोलीबाट ४५ खेल खेल्दै ४४ गोल गरेकी छिन् ।

घरेलु फुटबलमा उनले गोल गरेको तथ्यांक यकिन छैन । तर उनले खेलेको प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि बिरलै अरुको नाममा गएको छ । एन्फाले आयोजना गरेको अधिकांश आधिकारिक प्रतियोगितामा उनी नै सर्वोत्कृष्ट घोषित हुँदै आएकी छिन् ।

५. विदेशी लिग प्रवेशको संघर्ष

नेपालमा आफूलाई पटक पटक प्रमाणित गरेकी सावित्राले देशबाहिर खेल्न भने लामो प्रतीक्षा गर्नुपर्यो । साफ च्याम्पियनसिपमा उनको प्रदर्शनबाट प्रभावित भएर सावित्राले माल्दिभ्सको फुटसल लिगमा खेल्ने अवसर पाइन् ।

नयाँ परिवेश र नयाँ खेल शैलीमा उनलाई खेल्न कठिन त थियो, तर उनले पाएको अवसरको भरपुर सदुपयोग गरिन् । पहिलो सहभागितामै सावित्रा माल्दिभ्स एअरपोर्ट कम्पनिबाट खेल्दै उत्कृष्ट खेलाडी बनिन् ।

अर्को प्रतियोगितामा सावित्रासँगै अनिता बस्नेतले पनि माल्दिभ्स यात्रा तय गरिन् । सावित्राले उक्त प्रतियोगितामा पनि आफ्नो वर्चस्व कायम राख्दै सर्वाधिक गोलकर्ताको उपाधि जितिन ।

माल्दिभ्समा फुटसल खेलेर सुरु भएको उनको अन्तर्राष्ट्रिय लिगको यात्रा सन् २०१९ मा भारतीय लिगमा जोडियो । सन् २०१८(१९ सिजनका लागि सेथु फुटबल क्लबमा अनुबन्धित सावित्राले उत्कृष्ट प्रदर्शन गरिन् । सेथुलाई च्याम्पियन बनाउने क्रममा सावित्राले ३ ह्याट्रिकसहित १५ गोल गरिन् । फाइनलमा २ गोल गर्दै प्लेयर अफ द म्याच चुनिएकी उनलाई दोस्रो सिजनका लागि अनुबन्धन गर्न तछाडमछाड नै भयो ।

२०१९/२० सिजनका लागि गिकुलम केरला पुगेकी सावित्राले यसपटक १६ गोलका साथ सर्वाधिक गोलकर्ता बन्दै गोकुलमलाई पनि च्याम्पियन बनाइन् ।

६. चोटबाट पुनरागमनको संघर्ष

लगातार उत्कृष्ट प्रदर्शन गरिरहेकी सावित्राको राष्ट्रिय लिगका दौरान तीन वर्षअघि घुँडामा गम्भीर चोट लाग्यो । दायाँ खुट्टाको एसिएलमा चोट बोकेकी सावित्राको शल्यक्रियाका लागि तत्कालिन एन्फा नेतृत्वले कतार फुटबल संघको सहयोग माग्यो । केही महिना प्रतीक्षा गर्नु परेपनि कतारको उपचार र सावित्राको आत्मविश्वासले पुनरागमनको बाटो सम्भव भएको थियो ।

झन्डै डेढ वर्ष चोटबाट फर्कन संघर्षका क्रममा उनी अधिकांश समय कतारमा नै रहिन् । विश्व स्तरीय अस्पेटारमा शल्याक्रिया र रिह्याब गरेपछि सावित्रा मैदान फर्कने तयारीका साथ नेपाल आएकी थिइन् । उनले राष्ट्रिय लिगमार्फत सुखद पुनरागमन पनि गरिन् । पहिलो चरण सकिएपछि विश्राम भएको लिग दोस्रो चरणमा नयाँ कार्यसमितिले गर्न नसक्दा एपिएफ पुरानो नतिजाकै आधारमा च्याम्पियन घोषित भयो ।

७. भारतमा प्रमाणित गर्नुपर्ने संघर्ष

राष्ट्रिय लिग, साफ च्याम्पियनसिप हुँदै आफ्नो फिटनेस प्रमाणित गरेकी सावित्रालाई गोकुलमले विश्वास गरेपछि उनी पुनस् भारत प्रस्थान गरिन् । तर चोटअघि लगातार च्याम्पियन बनेको छवी कायम राख्ने चुनौती उनीसामु थियो ।

यसपटक क्लबले अफ्रिकी फरवार्डलाई पनि टोलीमा समावेश गरेका कारण उनलाई पहिलो रोजाइमा स्थान बनाउन संघर्ष गर्नु थियो । तर सावित्राले आफ्नो मिहिनेत निरन्तर कायम राखिन् र पुनस् एकपटक आफूलाई प्रमाणित गरिन् । यसपटक पछिल्ला प्रदर्शनभन्दा पनि राम्रो ।

सावित्राले गोकुलमलाई च्याम्पियन बनाउने क्रममा १० खेलमा २९ गोल गरिन् । उनी सर्वाधिक गोलकर्तासहित ५ खेलमा प्लेयर अफ द म्याच समेत घोषित भइन् ।

८. युरोपको सपना पूरा गर्ने संघर्ष

भारतीय लिगमा एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्ने क्रममा विदेशी क्लबको नजर उनीमाथि पर्न थालिसकेको थियो । खेलपछि विभिन्न देशबाट आएका क्लब प्रतिनिधि र एजेन्टले उनलाई भेट्न चाहन्थे । तर उनी हाललाई लिग जित्ने लक्ष्यमा केन्द्रित रहेको बताउँथिन् ।

सावित्राको व्यवस्थापन टोलीलाई दैनिकजसो विभिन्न एजेन्टको खबर आउँथ्यो । नेपालमै रहेका कहिले पनि उनलाई विदेश लाग्ने ढाडस दिए, तर सावित्रालाई लिग जित्नु थियो । गोकुलमलाई उपाधि दिलाएर नेपाल फर्किएपछि उनलाई पुरुष टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले एक एजेन्टसँग सहकार्य गर्न भने ।

बेलायत निवासी लिन्डीवे ग्वेन्यासँग उनले सहकार्य गर्ने निर्णय लिइन् । त्यसपछि उपलब्ध विकल्पमध्य हापोएल रानानालाई सावित्राले आफ्नो लागि उपयुक्त रहने निर्णय गरिन् । क्लबको योजना सुनेर प्रभावित उनले अन्तत: युरोपेली फुटबल खेल्ने यात्रा सुरु गरेकी छिन् । युरोप पस्ने संघर्ष पूरा भएको छ, तर उनको लक्ष्य ठूलो छ । आउने दिनले उनको संघर्षको प्रतिफल कस्तो हुन्छ बताउने नै छ ।

April 28, 2024

महिला लिग छनोटमा कर्णालीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् । १८ […]

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

Success

Thank you for your time.