9 years ago
January 16, 2017
पोखरा (हाम्रो खेलकुद) – ‘संयुक्त राष्ट्र संघले विश्वमा शान्ति र समृद्धिका लागि खेलकुद भनेको छ । समाजमा सकारात्मक परिवर्तन गर्ने खेलकुद हो तर अझै पनि बुझेका मान्छेमा नै खेलले बिग्रन्छ भन्ने मानसिकता कायमै छ । खेलले कहिल्यै बिगार्दैन, समय व्यवस्थापन गर्न नसक्दा चाहिँ हानी हुन्छ ’ नेपाल ओलम्पिक कमिटि सदस्य तेज गुरुङले मंगलबार पोखराका खेलकुद पत्रकारमाझ यस्तो धारणा राखे ।

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले आयोजना गरेको दुई दिने खेलकुद पत्रकारिता तालिमको समापनपछि सामूहिक तस्विर खिचाउँदै पदाधिकारी, प्रशिक्षक तथा सहभागीहरु । तस्विर सौजन्य – उमेश पुन
नेपाल खेलकुद पत्रकार मञ्च, कास्की समन्वय शाखाले पोखरामा सञ्चालन गरेको फुटबल र क्रिकेट खेल सम्बन्धी दुई दिने तालिमको समापन अवसरमा उनले व्यक्तिगत हिसाबमा शारीरिक तन्दुरुस्ती, मानसिक शुद्धता साथै आफ्नो राष्ट्रलाई विश्वमाझ शानका साथ चिनाउने माध्यम नै खेलकुद भएको प्रष्ट पारे । सन् २०२० मा हुने टोकियो ओलम्पिकमा राम्रो प्रदर्शन गर्न तयारी सुरु भएको जनाउँदै उनले यसका लागि पूर्वाधार तयार गर्नु मुलुकको जिम्मेवारी रहेको पनि बताए ।
नेपाल ह्याण्डबल संघका केन्द्रिय अध्यक्ष समेत रहेका गुरुङले मोफसलको खेलकुद अघि बढाउन राजधानीका मिडियाले कञ्जुस्याईं गर्न नहुने समेत धारणा राखे । खेल पत्रकारलाई प्राविधिक पक्षका रुपमा राम्ररी जानकारी हुनुपर्ने भएकाले यसको ज्ञान हुनु अत्यन्त आवश्यक रहेको बताउँदै उनले पत्रकारले नयाँपन र फरकपन दिन सक्नुपर्ने उल्लेख गरे ।
मञ्चका केन्द्रिय अध्यक्ष महेश आचार्यले दुई दिने तालिम सुरुवाती मात्र भएको भन्दै उनले खेलका नयाँ नियम, खेल समाचार लेख्ने शेली, आवश्यक तयारीका बारेमा सदैव ध्यान दिनुपर्ने बताए । आफू १५ वर्षअघिदेखि खेलसम्बन्धी समाचार मात्रै लेख्दै आएपनि अहिलेपनि सिक्ने चरणमा नै रहेको जनाउँदै लेखेर, पढेर, देखेर नै सिकाई प्रक्रिया अघि बढ्ने उल्लेख गरे । आचार्यले मञ्च, कास्कीको निरन्तरको उपयोगी कार्यक्रमले आफू अत्यन्तै हौसिएको भन्दै खुशी बाँडे ।
मञ्च कास्कीका अध्यक्ष केशव पाठकले दुई दिनसम्म दुई खेलसम्बन्धमा दुई–दुई जना अग्रजबाट प्रशिक्षण दिने काम भएको स्मरण गराउँदै सिद्धान्ततः सिकेर नबुझ्ने भएकाले यसपटक व्यवहारिक रुपमा फिल्डमै पुगेको बताए । सहभागीका तर्फबाट बोल्दै आदर्श समाज दैनिकका सहसम्पादक फडिन्द्र अकिञ्चनले आवश्यक ज्ञानको अभावमा समाचार नै बिग्रने अवस्था आउने र यो पत्रकारका साथै मिडिया हाउसकै प्रतिष्ठाको विषय भएको बताए । विषयगत ज्ञानको अभावलाई केहि भएपनि पूर्ति गर्न तालिम सफल भएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिए । क्रियाशील महिला पत्रकार डब्लुडब्लुजे, कास्कीकी अध्यक्ष सरिता तिम्सिना पंगेनीले महिला सहभागिताप्रति सन्तुष्टि जनाउँदै खेलकुदमा महिलाहरु पनि अघि आउने क्रम सुरु भएको उल्लेख गरिन् ।

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा भएको दुई दिने खेलकुद पत्रकारिता तालिममा दोस्रो दिन क्रिकेट खेलबारे फिल्डमै प्रशिक्षण तस्विर – रञ्जन अधिकारी
तालिमको दोस्रो दिन नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले क्रिकेट खेलको समाचार लेखन विधिबारे प्रशिक्षण दिए भने अन्तराष्ट्रिय रेफ्री एवं कास्की जिल्ला क्रिकेट संघका सचिव सञ्जयकान्त सिग्देलले क्रिकेट खेलको प्राविधिक पक्ष, खेलका क्रममा ध्यान दिनुपर्ने कुराहरु, रेफ्रीको भूमिका लगायत सम्बन्धमा जानकारी गराए । कार्यक्रमपछि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा पुगेर प्रशिक्षक सिग्देलले मैदान र खेलाडी पोजिसनबारे जानकारी गराएका थिए भने दुई समूहमा विभाजन गरी क्रिकेट समेत खेलिएको थियो ।
मञ्च कास्कीका अध्यक्ष केशव पाठकले अब खेलकुदको राजधानी बन्दै गएको सन्दर्भमा पोखरेली पत्रकारलाई यस्ता तालिम फलदायी बन्ने विश्वास व्यक्त गरे । कार्यक्रम संयोजक दिननाथ बरालले धन्यवाद ज्ञापन एवं सचिव रञ्जन अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए । तालिमको पहिलो दिन नेपाली राष्ट्रिय महिला फूटबल टीमका प्रमुख प्रशिक्षक कुमार थापा र मञ्चका केन्द्रिय महासचिव प्रकाश तिमल्सिनाले फुटबल खेलबारे सहजीकरण गरेका थिए । तालिममा कास्कीका विभिन्न मिडियामा आबद्ध ४४ जना पत्रकारको सहभागिता रहेको थियो । केहि महिनापछि गल्फ खेलको बारेमा प्रशिक्षण दिने अध्यक्ष पाठकले जनाएका छन् ।
कास्की जिल्ला खेलकूद विकास समितिको विशेष सहयोग एवं नेपाल खेलकूद पत्रकार मञ्चको प्राविधिक सहयोगमा भएको तालिममा सहारा क्लब पोखरा, साईमन पार्टी प्यालेस, क्षेत्रिय खेलकुद विकास समिति र कास्की जिल्ला क्रिकेट संघको सहयोग रहेको थियो ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]