इटाली (एजेन्सी) – इङ्लिश प्रिमियर लिगको बिजेता चेल्सी फुटबल क्लब इटालीको लिग बिजेता क्लब युभेन्टसका ३४ वर्षीय राइट ब्याक डानी आल्भेसलाई भित्र्याउन इच्छुक देखिएको छ । आल्भेसको नाम यस अघिनै म्यानचेस्टर सिटीसंग जोडिसकेको छ।
बार्सिलोनाका पूर्व खेलाडी अल्भेस २०१६ मा दुई बर्षीय सम्झौतामा युभेन्टससँग जोडिएका थिए । ब्राजिलका फुल ब्याक आल्भेसले युभेन्टसमा राम्रो प्रदर्शन गरेसँगै चेल्सीले उनलाई भित्र्याउने इच्छा देखाएको हो ।
अघिल्लो सिजन विंगरका रुपमा नियमित खेल्ने भिक्टर मोजेसलाई चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टे राइट विंग ब्याकमा खेलाएका थिए भने मार्कस अलोन्सो नियमित लेफ्ट ब्याकका रुपमा खेलेका थिए । राइट ब्याकमा सुधार गर्न चेल्सीले आल्भेसलाई भित्र्याउन प्रयास गरिरहेको बुझिएको छ ।
फ्री एजेन्टको रुपमा युभेन्टससंग संझौता गर्नु अगाडि आल्भेसले ८ वर्ष बार्सिलोनाबाट खेलेका थिए। बार्साले सन् २००८मा आल्भेसलाई सेभियाबाट भित्र्याएको हो।