काठमाडौं, फागुन ६
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही फरक दृश्य देखियो । भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक दिलाएका पुरुष फुटबल टोली रजत पदकमा चित्त बुझाएको महिला फुटबल टिम त्रिभुवन विमानस्थलबाट स्वदेश फर्किएका थिए ।
दिउसो १ बजे घरेलु उडानबाट विमानस्थलमा ओर्लिएका महिला टिमलाई स्वागत गर्न एन्फाका पदाधिकारी र महिला कमिटिका सदस्यहरु विमानस्थल पुगेपनि त्यहाँ मिडिया र समर्थक शुन्य नै थियो । भने करिव पाँचबजेतिर स्वर्णपदक दिलाएर घरेलु उडानबाटै स्वदेश फर्किएका पुरुष टिमलाई स्वागत गर्न विमानस्थलमा एन्फाका पदाधिकारीसहित विशिष्ट व्यक्तित्वहरु, मिडियालगायत हजारौको सङ्ख्यामा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।
यसलाई सहजै बुझ्न सकिन्छ दक्षिण एसियाली खेलकुद साग र महिला साफ च्याम्पियनसिप फुटबलमा मा लगातार फाइनल खेल्ने नेपाली महिला फुटबल टिम मिडिया र समर्थकको कम चासोमा परे । २३ वर्षपछि उपाधि दिलाएर फर्किएको फुटबल टोली सबैको चासोको विषय बन्यो । विजेता टोलीलाई एन्फाले नगरपरिक्रमा गरायो भने महिला टिम विमानस्थलमा ओर्लिएपछि उनीहरु आ–आफ्नै सुरमा बाटो लागिन् ।
दक्षिण एशियाली खेलकुद साग र महिला साफ च्याम्पियनसिपमा नेपाली महिला टिम अहिलेसम्म पदकविहीन हुनु परेको छैन । अझ भन्नुपर्दा नेपाली महिला फुटबल टिम दक्षिण एसियाली खेलकुद र महिला साफ च्याम्पियनसिपमा विजेता बन्न नसकेपनि नेपाल फाइनल खेल खेल्ने टिम हो । फाइनलमा नेपाल लगातार भारतसँग पराजित हुदै आएको छ ।
नेपाली महिला टिमले सागमा दुई पटक रजतपदक तथा तीनपटक भएको महिला साफ च्याम्पियनसिपमा तीनैपटक रजत पदक दिलाएको थियो । जबकी पुरुष फुटबल टिमले अहिलेसम्म साफ च्यािम्पयनसिपको उपाधि दिलाउन सकेको छैन । साग फुटबल तेस्रोपटक जितेको हो । यसअघि नेपालले सन् १९८४ र १९९९ मा स्वर्णपदक जितेको थियो ।