एजेन्सी – बोरुसिया डर्टमन्डले बोरुसिया मुन्चेग्लाडवाचलाई पराजित गर्दै जर्मन बुन्डेस लिगामा उच्च प्रदर्शनलाई निरन्तरता दिएको छ । डर्टमन्डले बोरुसियालाई २–१ ले पराजित गर्दै उच्च प्रदर्शनलाई निरन्तरता दिएको हो ।
बोरुसियामाथिको जितसँगै डर्टमन्डले दोस्रो र तेस्रो स्थानमा रहेको बोरुसिया र बायर्न म्युनिखसँगको ९ अंकको अग्रता बनाएको छ । डर्टमन्डसँग पराजित भएसँगै बोरुसियाले अंक दुरी घटाउने मौका गुमाएको छ ।
यता, साविकको विजेता बायर्नले एक खेल कम खेलेको छ । डर्टमन्डको १७ खेलबाट ४२ अंक जोडेर शीर्ष स्थानमा रहँदा बोरुसिया मुन्चेग्लाडवाचको समान खेलबाटै ३३ अंक तथा एक खेल कम खेलेको बायर्नको ३३ अंक नै छ ।
घरेलु मैदान सिग्नल इडुना पार्कमा शुक्रबार राति भएको खेलमा डर्टमन्डको जितमा जाडोन सान्चो र मार्काे रिउसले गोल गरे । पराजित टिमका लागि क्रिस्टोफ क्रामेरले एक गोल गरे ।
घरेलु टोलीले खेलको ४२औं मिनेटमा जाडोन सान्चोको गोलबाट खेलमा सुरुवाती अग्रता बनाएको थियो । उनले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मारियो गोट्जेको पासलाई गोलमा परिणा गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा मुन्चे ग्लाडवाचका क्रिस्टोफले गोल गरेपछि खेल १–१ को गोल बराबरीमा पुगेको थियो ।
५४औं मिनेटमा मार्काे रिउसले मारियो गोट्जेको पासमै गोल गरेपछि घरेलु टोलीले खेलमा २–१ को अग्रता बनायो । त्यसपछि थप गोल निस्कन नसक्दा डर्टमन्डले खेल २–१ ले जित्न सफल भयो ।