काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आगामी मार्च दोस्रो साता विराटनगरमा महिला साफ च्याम्पियनसिपको पाँचौ संस्करण आयोजना गर्दैछ । हालसम्म नेपालको यात्रामा सधैं भारत नै बाधक बन्दै आएको छ । भारतबाहेक अन्य टोलीले प्रतियोगिताको उपाधि पनि जित्न सकेको छैन ।
पछिल्लो संस्करण नेपाल पहिलो पटक सेमिफाइनलमा बाहिरिएको थियो । त्यसअघिका संस्करणमा नेपाल उप्विजता बन्दै घर फर्केको थियो । नेपालले पहिलो पटक यस प्रतियोगिता आयोजना गर्दैछ । पहिलो उपाधि पछ्याइरहेको नेपाल घरेलु मैदानमा उपाधि जित्न प्रशिक्षणमा होमिइसकेको छ । प्रशिक्षक हरि खड्काले ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेर प्रशिक्षण थालिसकेका छन् ।
केहि महिनाअघि मात्र म्यानमारमा आयोजित ओलम्पिक छनोटमा नेपालले भारतलाई बराबरीमा रोक्यो । अग्रता लिनका बाबजुद नेपालले खेल जित्न सकेन । भारतले बराबरी गोल फर्काएपछि पनि नेपालले अवसर प्राप्त गरेको थियो । तर अग्रपंक्तिले त्यसको फाइदा उठाउन नसक्दा नेपालले जित दर्ता गर्न सकेन । प्रशिक्षक खड्का बराबरीका बाबजुद पनि नेपालले प्रतियोगिताबाट थुप्रै सकारात्मक पक्ष लिन सकेको बताउँछन् ।
‘हाम्रा खेलाडी विगतमा मानसिक रुपमा निकै कमजोर देखिन्थे । भारतविरुद्ध बराबरीले टोलीमा हौसला थपिएको छ । अहिले हामी खेलाडीलाई मैदानभित्र मात्र नभएर मैदान बाहिर पनि उत्तिकै तयार पारेका छौं । प्राविधिक पक्षसँगै खेलाडीको फिटनेस, इन्ड्युरेन्स र स्ट्रेन्थमा पनि ध्यान दिएका छौं । लामो समय रहेकाले हामीले योजनावद्ध रुपमा अगाडी बढ्ने जमर्को कसेका छौं,’ प्रशिक्षक खड्काले भने ।
टोलीकी कप्तान निरु थापाले पनि विगतभन्दा टोली अहिले फरक रहेको बताइन । ‘हाम्रो टोली विगतभन्दा फरक छ । युवा र अनुभवी खेलाडीको मिश्रण छ । ओलम्पिक छनोटको नतिजाले टोलीलाई निकै हौसला पुगेको छ । हामीले उपाधिको लागि निकै मिहिनेत गरेका छौं र घरेलु दर्शकको साथले त्यो प्राप्त गर्न सहयोग पुग्ने विश्वास छ,’ कप्तान थापाले भनिन् ।
प्रशिक्षणका तस्बिरहरु हेर्न यहाँ थिच्नुहोस्