एजेन्सी – युवा फरवार्ड किलियान एम्बाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वन अन्तर्गत शनिबार निम्सलाई ३-० ले पराजित गरको छ ।

क्रिस्टोफर एन्कुन्कुले खेलको ४० औं मिनेटमा मार्को भेराट्टीको लामो पासलाई सदुपयोग गर्दै पीएसजीलाई अग्रता दिलाए । दोस्रो हाफको ६९ औं मिनेटमा जुआन बर्नाटको क्रसमा एम्बाप्पेले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको एक मिनेट समय बाँकी रहँदा एमबाप्पेले एन्कुन्कुको पासलाई सदुपयोग गर्दै जित सुनिश्चित गरे ।
लिग वनको २० खेलमा एमबाप्पेले २२ गोल गरेका छन् । उनी लिगको सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छन् । उनले सबै प्रतियोगिताको ३१ खेलमा २७ गोल गरेका छन् । पीएसजीले लिगको २५ खेलमा ६८ अंक जोडेको छ । दोस्रो स्थानको लिलभन्दा पीएसजी १७ अंकले अगाडी छ । लिलले २६ खेलमा ५१ अंक जोडेको छ ।