काठमाडौं (हाम्रो खेलकुद) – नेपालको प्रतिनिधित्व गरेको भारतको गुहावटीमा जारी डा.ता एओ अन्तराष्ट्रिय फुटबल प्रतियोगितमा सहभागिता जनाएको एन्फा २१ टोलीले भारतको मिजोरामसँग पराजित भएको छ ।

आइतबार भएको खेलमा एन्फा मिजोरमसँग ३–० गोल अन्तरले पराजित भएको हो । यस हारसँगै एन्फाको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । चार खेल खेलेको एन्फा टोलीको ६ अंक रहेको छ । समूहको शीर्षस्थानमा रहेको मेघालयको ४ खेलबाट १० अंक रहेको छ । मिजोरमको ४ खेलबाट १० अंक छ । मणिपुरको ६ अंक रहेको छ ।
पहिलो हाफमा एन्फाको टोली १–० ले पछि परेको थियो । ४२ औ मिनेटमा मिजोरमका लाललुन्ति उआंगाले पेनाल्टीमा गोल गर्दै भारतीय टिमलाई अग्रता दिलाएका थिए । मिजोरमले दोस्रो गोल पनि पेनाल्टीमै गरेको थियो । गोलरक्षकले मिजोमका खेलाडीमाथि फल गरेपछि पेनाल्टीको मौका पाएको थियो । जसलाई लाहारियाट कुलाले सदुपयोग गरे ।
इन्ज्युरी समयमा रोगुवा कुलाले गोल गर्दै एन्फा टोलीले प्रतियोगितामा दोस्रो हार बेहोर्यो । खेलको दोस्रो हाफमा मिजोरमले परिवर्तन गरेको खेलाडी पनि मैदानमा छिरेर टोलीले २ मिनेट १२ खेलाडीमा खेल्दा केहीबेर विवाद भएको थियो । आयोजकले आवश्यक कारवाही गर्ने भनेपछि खेल सुचारु गरिएको थियो ।
यसअघि नेपाल पहिलो खेलमा मेघालयसँग ३–२ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा त्रिपुरा क्लबलाई ८–० को फराकिलो अन्तरले पराजित गरेको एन्फा टोलीले तेस्रो खेलमा मणिपुरलाई ३–१ ले पराजित गरेको थियो । नेपालले सोमबार समूहको अन्तिम खेलमा नागल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ ।