एजेन्सी – सन् २०२० मा हुने युरोकपको छनोट खेलमा इटालीले लिक्टेनस्टाइनमाथि आधा दर्जन गोलसहित प्रभावशाली जित निकालेको छ ।

घरेलु टोलीले १० खेलाडीमा समेटिएको लिक्टेनस्टाइनलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । इटालीको फराकिलो जितमा फावियो क्वाग्लिएरिल्लाले दुई तथा स्टेफानो सेन्सी, मार्काे भेराटी, मोइस किन र लियोनार्दाे पाभोलेटीले समान १ गोल गरे ।
एकपक्षीय बनेको खेलमा इटालीले पहिलो हाफमा चार र दोस्रो हाफमा २ गोल गर्न सफल भएको थियो । खेलको १७औं मिनेटमा घरेलु टोलीले स्टेफानोको गोलबाट गोलको खाता खोलेको थियो । ३२औं मिनेटमा मार्काे भेराटीको गोलबाट इटालीले अग्रता दोब्बर बनायो ।
३५औं मिनेटमा फावियोले पेनाल्टीमार्फत गोल गरेपछि इटालीले खेलमा ३–० को अग्रता बनायो । पहिलो हाफको इन्ज्युरी समयमा लेचेस्टाइन १० खेलाडीमा समेटियो । डिफेन्डर ड्यानियल कउफमानले इटालीका भेराटीको प्रहारलाई गोललाइनमा हातले रोक्ने प्रयास गरेपछि रेफ्रीले सोझै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएको थिए ।
त्यसमै प्राप्त पेनाल्टीमा फावियोले सहजै गोल गरेपछि इटालीले पहिलो हाफमै ४–० को आरामदायी अग्रता बनायो । यससँगै ३६ वर्षीय फावियो इटालीबाट एक खेलमा दुई गोल गर्ने पाका खेलाडी बनेका छन् ।
६९औं मिनेटमा मोइस किनले तथा ७६औं मिनेटमा लियोनार्दाेले गोल गरेपछि इटालीले ६–० को शानदार जित निकाल्यो । फराकिलो जितसँगै इटालीले समुह ‘जे’ मा दुई खेलबाट ६ अंक जोडेको छ । पराजित लिक्टेनस्टाइन अंकविहीन हुदै छैटौ स्थानमा छ ।
यही समूहको अर्काे खेलमा ग्रीस र बोस्निया हर्जगोभिनाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । यस्तै फिनल्यान्डले अर्मेनियालाई २–० ले हरायो । दुवै टोलीको समान ४ अंक भएपनि गोल अन्तरमा ग्रीस दोस्रो तथा बोस्निया तेस्रो स्थानमा छ । फिनल्यान्ड चौथो तथा अर्मेनिया पाँचौ स्थानमा छ ।