एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार एभरटनले आर्सनललाई पराजित गर्दै लिग तालिकाको शीर्ष ४ मा प्रतिस्पर्धा रोमान्चक बनाएको छ । पहिलो हाफको एकमात्र गोलमा एभरटन १-० ले विजयी रहयो ।

घरेलु मैदान गुडीसन पार्कमा भेट्रान डिफेन्डर फिल जागिएल्काले १० औं मिनेटमा गरेको गोल नै खेलमा निर्णायक सावित भयो । ३६ वर्ष २ सय ३३ दिनको उमेरमा गोल गरेका जागीएल्का प्रिमियर लिग इतिहासमा एभरटनका लागि गोल गर्न दोस्रा पाका खेलाडी पनि बने । यसअघि सन् १९९९ मा रिचार्ड गोहले ३७ वर्ष १ सय ३८ दिनको उमेरमा साउथह्याम्पटन विरुद्ध गोल गरेका थिए ।
यस नतिजासँगै शीर्ष ४ को भिडन्तमा टोटेनहमलाई फाइदा पुगेको छ । आर्सनलले ३२ खेलमा ६३ अंक जोड्दै चौथो स्थानमा झरेको छ । टोटेनहम ३२ खेलमा ६४ अंकसाथ तेस्रो स्थानमा छ । चेल्सी ३२ खेलमा ६३ तथा म्यानचेस्टर युनाइटेड ३२ खेलमा ६१ अंकसहित शीर्ष ६ स्थानमा रहेका छन् ।
एभरटन ३३ खेलमा ४६ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ । सातौं देखि दशौँ स्थानसम्म १ अंकको मात्र फरक रहेको छ । लिगको शीर्षस्थानमा लिभरपुलले ३३ खेलमा ८२ अंक जोडेको छ । सिटिले दोस्रो स्थानमा एक खेल कम खेल्दै ८० अंक जोडेको छ ।