default_image

4 years ago

January 8, 2020

दुर्लभ इतिहास अनि सरल सन्तोष

137 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

नेपाली फुटबलको शीर्ष डिभिजन लिगमा १ सय गोल पूरा गर्ने पहिलो खेलाडी बने सन्तोष साहुखल । बुधबार पुलिसविरुद्ध पहिलो हाफमा बराबरी गोल फर्काउँदै उनले ए डिभिजन लिगमा गर्विलो इतिहास रचे । तर, मैदानमा उपस्थित अन्य खेलाडी, समर्थक, आम दर्शक र पत्रकार नै भन्दापनि सन्तोषको प्रतिक्रिया निकै सामान्य थियो । यहाँसम्म की विपक्षी प्रशिक्षकले पनि उनको यो दुर्लभ उपलब्धिका लागि बधाई दिँदै केहि शब्द खर्चंदा सन्तोष आफैंमा भने उक्त भाव देखिएन । उनको प्रतिक्रिया सदाझैं सामान्य नै थियो ।

उनको उपलब्धिलाई लिएर पत्रकार सम्मेलनमा गरिएको हरेक प्रश्नमा सन्तोषले फिस्स हाँस्दै जवाफ दिन्थे । त्यो पनि बढीमा एक वाक्य । अझ कुनै बेला त एक दुई शब्दमै उत्तर सिमित हुन्थ्यो । पुलिसविरुद्धको बुधबारको खेल २–२ को बराबरीमा टुंगिदा दुवै बराबरी गोल कप्तान सन्तोषले गरेका थिए ।

९९ गोल पुरा गरेपछिको तेस्रो खेलमा आइपुग्दा बल्ल उनी सयौं गोल पुरा गर्न सफल भए । बुधबार दुई गोल गर्दै १ सय १ गोल गरेका सन्तोषलाई फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि विशेष महत्त्वका साथ खेलपछि बधाई दियो । खेलको म्यान अफ दी म्याच ट्रफी लिइसकेकपछि सन्तोषलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बुके र एन्फाको मफलर ओडाएर सम्मान गरे । उनको पूर्व क्लब थ्री स्टारका अध्यक्ष अरुणमान जोशी र उपाध्यक्ष जयकृष्ण श्रेष्ठले पनि क्लबको तर्फबाट बधाई दिए ।

साच्चै भन्नुपर्दा सन्तोषको उपलब्धि घरेलु फुटबलमा ठूलो र ऐतिहासिक थियो । उनका समर्थकले पनि उनको सयौं गोलको क्षणलाई विशेष यादगार बनाउनका लागि ब्यानर बोकेर रंगशाला पुगेका थिए । सन्तोषले पहिलो र दोस्रो हाफमा गोल गर्दै आफ्नो खेल जीवनमा कोसेढुंगा मात्र पुरा गरेनन्, क्लबको सम्भावित हारलाई पनि टारे ।

जब सन्तोष चम्किन्छन्, तब टोलीले निराश हुनु पर्दैन । कम्तिमा जारी लिगमा त्यस्तै देखिएको छ । सन्तोषले सुरुवाती दुई खेलमा ३ गोल गरे टोली दुवै खेलमा जित्यो । त्यसपछिका दुवै खेलमा उनी गोल गर्न असफल भए र टोलीले पनि हारको सामना गर्नुपर्यो । टोलीको पाँचौं खेलमा उनले २ गोल गरे र टोलीले हार्नुपरेन । जारी लिगमा ५ गोलसहित सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा उनी शीर्षस्थानमा छन् ।

चिसो मौसममा हौसिँदै सन्तोषको प्रतिक्रिया लिन पोष्ट म्याच कन्फ्रेन्समा खेलकुद पत्रकारहरुको उल्लेख उपस्थिति थियो । त्यसो त पछिल्ला दुई चरणमा पनि सन्तोषकै सयौं गोलका लागि अन्य दिनको तुलनामा पत्रकारको संख्या बढी नै रहेको थियो । सयौं गोल गरेपछि ऐतिहासिक पलको बखान कसरी गर्छन भनेर केहि मध्यान्तर पछि त केहि खेलपछि नै भएपनि पोस्ट म्याच कन्फरेन्समा उपस्थित थिए ।

सन्तोषको कोशेढुंगा र उनको प्रतिक्रिया लामो समयसम्म पनि यादगार बन्ने सबैलाई थाहा थियो । तर, उनको प्रतिक्रिया भने आश्चर्यलाग्दो रहयो, उनले यस सफलतालाई निकै सामान्य ढंगले लिए । ‘सय गोल खासै त्यस्तो केहि लागेन अरु बेला जस्तो हो । मेरो लागि टोली जित्नुपर्छ भन्ने थियो,’ उनले भने,‘ बराबरी गर्न सक्यौं । जित्न पाएको भए अझै राम्रो हुने थियो ।’

त्यो गोललाई विशेष रुपमा व्याख्या गरिदेलान् भन्ने आशामा प्रश्न सोध्ने अधिकांश खेल पत्रकारले सयौं गोलमा नै केन्द्रित भएर प्रश्न गर्न थाले । तर, उनलाई त्यसको असर खासै परेन । फिस्स हासेर फेरि पनि उनले जवाफ दिए, ‘मैले त्यस्तो केहि सोचिन । गोल गर्दा अरु बेला जस्तो हुन्छ त्यहि हो ।’

केहि बेरसम्म एकै किसमको प्रश्न दोहोरिएपछी अलिक उदार हुँदै उनले भने,‘ नयाँ खेलाडीलाई यो उपलब्धिले मोटिभेसन होस् र त्यो कीर्तिमान तोड्न सकुन् ।’

सन्तोषले सयौं गोललाई सामान्य मानेपनि २०६० सालको लिगमा उनको पहिलो गोलको सामना गर्ने संकटा क्लबका तत्कालिन गोलकिपर उज्वल मानन्धर बुधबार दर्शक दिर्घामा थिए । उक्त खेलमा सन्तोषले थ्री स्टारका लागि गोल गरेपनि खेल भने टोलीले ३–२ ले गुमाएको थियो । उज्वललाई सन्तोषको त्यो पहिलो गोल पनि सम्झना रहेछ । उनले भने,‘ लामो प्रहारबाट उसले स्तरीय गोल गरेको थियो । आज जुन पोस्टमा
(टुँडिखेलतर्फको गोलपोष्ट) सयौं गोल गरेको हो, त्यसै पोस्टमा उसले पहिलो गोल पनि गरेको थियो । तर गोलको स्तर हेर्दा त्यो गोल वास्तवमै हेर्नलायक थियो ।’

सन्तोषले त्यो उपलब्धीको खासै व्याख्या नगरेपनि पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापा र उनकै सहोदर दाजु एवं च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले सयौं गोलको महत्वको चर्चा गरे । प्रशिक्षक थापाले भने ‘लिगमा सयौं गोल गर्नु सामान्य कुरा होइन । सन्तोषले त्यो पुरा गरेका छन् । यो ठूलो उपलब्धी हो । उनलाई धेरै धेरै बधाई छ ।’ ठट्यौली पारामा उनले थपे,‘ सयौं गोल गर्नका लागि हाम्रै खेल कुरे जस्तो भयो । यसअघिका २ खेलमा गोल गर्न सकेका थिएनन् । उनको भाग्य नै भन्नुपर्छ , आजै २ गोल गरे । आज केही लक्की पनि भए । उनको खुट्टैमा बल पर्यो । हाम्रो गल्तिमा उनलाई लक लागेजस्तो भयो ।’

सन्तोषका दाजु बालगोपालले भने एउटा प्रशिक्षक र दाजुका नाताले पनि उनको उपलब्धीमा गर्व लागेको बताए । ‘उसलाई यो सामान्य लागेको होला । तर म उसको सफलतामा खेलाडी हुँदा देखि नै खुसी हुँदै आएको छ,’ उनले थपे,‘ यो निकै ठूलो उपलब्धि हो । यो कीर्तिमान तोड्न वर्षौं लाग्न सक्छ । सन्तोषलाई धेरै धेरै बधाई छ ।’

नेपालमा स्तरीय फरवार्डको कमी रहेकोले पनि लामो समयसम्म पनि सन्तोषको उपलब्धिलाई तोड्न कठिन हुने बालगोपालको ठम्याई छ । ‘यो सफलताका लागि वर्षौं खेल्नुपर्ने हुन्छ । एकै स्तरमा लामो समय खेल्नुपर्ने हुन सक्छ,’ उनले अगाडि भने,‘ नेपालमा अहिले फरवार्डको अभाव छ । हालको लिगमा पनि विमल रानाबाहेक गोल गर्ने खेलाडी देखेको छैन । अधिकांश क्लबले विदेशी फरवार्डमा नै भर परेको देख्छु । नेपाली फरवार्डले नै यो कीर्तिमान तोड्न निकै मिहिनेत गर्नुपर्छ ।’

सन्तोषले लिगमा पहिलो गोल गर्दा आफू बेन्चमा रहेको बालगोपालले स्मरण गरे । ‘सन्तोषले पहिलो गोल गरेको दिन मलाई याद छ । म थ्री स्टारको बेन्चमा थिएँ । आज पनि बेन्चमा नै छु तर फरक भूमिकामा, उनले थपे,‘ १६ वर्षपछि उनले सयौं गोल पुरा गर्दा खुसी लागेको छ । ’

सन्तोषले जारी लिगमै मछिन्द्रविरुद्धको गोललाई भने आफ्नो सम्झनालायक गोलको रुपमा रहेको बताए । आज विहान उठ्दा र खेल सकिएपछि के सोच्नु भयो भन्ने अर्को एक प्रश्नका जवाफमा उनले भने, ‘उठ्दा टोलीलाई कसरी जिताउने भन्ने थियो । खेल सकिएको सिठ्ठी बज्दा ला बराबरी पो भयो भन्ने लाग्यो ।’

२०६० सालबाट लिग खेल्न थालेका सन्तोषले डेढ दशकभन्दा लामो समयपछि सय गोलको कोसेढुंगा पार गरेका हुन् । एन्फाका आन्तरिक कलहका कारण पटक पटक लिग आयोजना हुन नसक्दा सन्तोषले आफ्नो खेल जीवनमा दस पटक मात्र लिग खेल्ने अवसर पाए । अहिले यो लिग खेल्न पनि उनी जापानबाट स्वदेश फर्केका हुन् ।

उनले लिगमा ५० गोल पुरा गर्दा भने विशेष महसुस गरेको अनुभव भने साटे । ‘सुरेन्द्र (तामाङ) दाईहरुले ५० गोल पुरा गर्दा हो म पनि त्यसरी नै गोल गर्नुपर्छ भन्ने लागेको थियो । ५० गोल गर्दाको क्षण भने विशेष लागेको थियो ,’ उनले सम्झिए,‘ त्यसपछि भने त्यस्तो स्कोर तिर गइन । सयौं गोल गर्दा नी खास केहि लागेन । सेलिब्रेसनका बारेमा केहि सोचेको पनि थिइन ।’

सन्तोषले डेढ दशकमा चार क्लबको जर्सी लगाए । च्यासल उनको चौथो क्लब हो । त्यसअघि रुस्लान थ्रीस्टार, एपीएफ र मनाङ मर्स्याङ्दी क्लबबाट नेपालको शीर्ष श्रेणीको लिग खेले । पाँच वर्षदेखि जापान बस्दै आएका सन्तोष जापानमा एनपीओ रिलेमा खेलाडी र प्रशिक्षकका रूपमा कार्यरत छन् । उनको टिम एसएस इजु जापानको आठौं श्रेणीको लिग जे ८ मा खेल्छ । त्यसले पनि आफुलाई फिट रहन मद्दत गरेको सन्तोषले बताए ।

लिगमा उनी पछि सर्वाधिक गोल गर्ने खेलाडीमा बसन्त थापा (८१ गोल ) छन् । रमेश बुढाथोकी, सुरेन्द्र तामाङ र जिवेश पाण्डेले लिगमा ५० गोल पुरा गरेका छन् । अहिले उमेरले ३१ वर्ष पुगेपनि खेल्ने शैली र फिटनेसको तुलनामा उनी नेपालका युवा खेलाडीभन्दा कम छैनन् । राष्ट्रिय टोलीमा अवसर पाए खेल्ने सम्भावना बारे सोध्दा भने उनले जापानमा समय मिलाउन सके र यहाँ प्रशिक्षकले बोलाएको खण्डमा भने सकारात्मक नै रहेको अभिव्यक्ति दिए ।

सन्तोषले लिगको पहिलो खेलमा नै २ गोल गरेपछि उनी शतकनजिक पुगेपछि लेखिएको फिचर शतकको संघारमा ‘जर्सी नम्बर ९’ पढ्न यहाँ थिच्नुहोस

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.