काठमाडौं (हाम्रो खेलकुद) – नवलपुरमा जारी राइनो गोल्डकप अन्तर्गत शनिबार भएको क्वाटरफाइनलमा जित हासिल गर्दै हिमालयन शेर्पा क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
इन्द्रेणी एकीकृत विकास केन्द्रमाथि ३-२ को जित दर्ता गर्दै शेर्पाले अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो हाफमै २-० ले पछाडी परेपनि शेर्पाले उत्कृष्ट पुनरागमन गर्न सफल रहयो । इन्द्रेणीका लागि खेलको १६ औं मिनेटमा अनुप गुरुङले सुरुवाती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा रोशन रानामगरले गोल गरेपछि शेर्पा २-० ले पछाडी परेको थियो ।
पहिलो हाफको २ मिनेट बाँकी रहँदा त्रिदेव गुरुङले गोल गर्दै शेर्पालाई खेल फर्काए । दोस्रो हाफमा शेर्पाले २ गोल थप्दै जित हासिल गर्यो । ६६ औं मिनेटमा विजय श्रेष्ठले गोल गरेपछि खेल बराबरीमा आइपुग्यो । निर्धारित समयको ५ मिनेट बाँकी रहँदा त्रिदेवले व्यक्तिगत दोस्रो गोल गर्दै शेर्पाको जित पक्का गरे ।
प्रतियोगिताको फाइनल प्रवेशका निम्ति शेर्पाले अब आर्मीको सामना गर्नेछ । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । उपाधि विजेता टोलीले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।