default_image

3 years ago

December 21, 2020

विमलको चोटबाट नेपाली खेलकुदले सिक्नुपर्ने पाठ

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर गत शुक्रबार राष्ट्रिय टोलीको प्रशिक्षणका क्रममा अभ्यास खेलमा घाइते हुन पुगे । एक वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका विमलको घुँडामा गम्भीर चोट लागेपछि शल्यक्रिया गर्नुपर्ने भएको छ । स्विडिस प्रशिक्षक योहान कालिनले राजिनामा दिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यवाहक प्रशिक्षकको भूमिकामा बालगोपाल महर्जनलाई राष्ट्रिय […]

124 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर गत शुक्रबार राष्ट्रिय टोलीको प्रशिक्षणका क्रममा अभ्यास खेलमा घाइते हुन पुगे । एक वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका विमलको घुँडामा गम्भीर चोट लागेपछि शल्यक्रिया गर्नुपर्ने भएको छ ।

स्विडिस प्रशिक्षक योहान कालिनले राजिनामा दिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यवाहक प्रशिक्षकको भूमिकामा बालगोपाल महर्जनलाई राष्ट्रिय टोलीको जिम्मेवारी सुम्पिएको छ । गत महिना बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेलमा पनि महर्जनले नै कार्यवाहक प्रशिक्षकका रुपमा टोली सम्हालेका थिए । त्यसबेला कालिनले ३५ जना खेलाडी बन्द प्रशिक्षणमा बोलाएकोमा चोट र कोरोना संक्रमणका कारण केहि खेलाडी उपलब्ध नहुँदा महर्जनले २५ खेलाडीलाई बंगलादेश लगेका थिए ।

यसपटक भने कालिनको राजिनामापछि महर्जनले बन्द प्रशिक्षणमा ५८ खेलाडीलाई सहभागी गराउने निर्णय गरे । बन्द प्रशिक्षणमा नै सिधै ५८ खेलाडी बोलाउँदा २४ नयाँ खेलाडी थपिए । कोरोना संक्रमणका कारण फुटबल गतिवधि ठप्प भएको अवस्थामा गत वर्ष भएको लिग र अन्य प्रतियोगिताको आधारमा खेलाडी छनोट गरिएको महर्जनको भनाइ थियो ।

बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलेका ३५ खेलाडीमा विक्रम लामाले भने शल्यक्रिया गर्नुपर्ने भएपछि यसअघि नै उपलब्ध नरहने जानकारी दिएका थिए । प्रशिक्षणमा सहभागी २४ नयाँ खेलाडीलाई पनि महर्जनले पहिलो दिनदेखि नै पुरानो टोलीसँग मिसाएर प्रशिक्षण गराए । पहिलो दिन प्रशिक्षणमा विमल घर्तीमगर, विराज महर्जन, आदित्य चौधरी, सन्जोग राई, लगायत खेलाडीले अघिल्लो महिना बंगलादेशको सामना गरेको टोलीसँग प्रशिक्षण गरेका थिए ।

झन्डै १ वर्ष मैदानबाहिर रहेका खेलाडी र म्याच फिटनेस रहेका खेलाडीलाई एकसाथ प्रशिक्षण गराउँदा फरक नपर्ने महर्जन बताउँछन् । ‘बंगलादेशबाट फर्केको खेलाडी र अन्य खेलाडीको फिटनेस स्तर १९/२० मात्र छ । टिममा परेपछि सबैलाई हेर्नुपर्छ । हामीले सुरुवाती दुई साता छनोट भएकाले सबै खेलाडीलाई अघि नै भनिसकेको थियौं । हामीसँग सबै पोजिसनमा धेरै विकल्प रहेकाले क्रमवद्ध रुपमा छनोट गरेका छौं,’ उनले भने ।

महर्जनले नेपाली खेलाडीमा अफ सिजनमा आफूलाई फिट नराख्ने बानि रहेको बताए । ‘ कमै खेलाडीले नियमित रुपमा आफूलाई फिट राख्छन् । प्रशिक्षण सुरु हुने बेलामा मात्र तयारी गर्ने खेलाडीको बानि छ । हामीले अहिले फिटनेस मापन गर्न विभिन्न टेस्ट गरिरहेका छौं । अब जो फिट छ र खेल्न सक्छ, त्यो खेलाडी नै टोलीमा रहन्छ,’ महर्जनले भने । उनले नयाँ आएका खेलाडीको फिटनेस स्तर सन्तोषजनक रहेको बताए ।

महर्जनले यसो भनिरहँदा लामो समयपछि मैदान फर्केका खेलाडीलाई भने त्यति सहज हुने देखिन्न । सुरुवाती दुई साता सिधै खेलाडी छनोट भन्नुले थप दबाब हुने अनुमान गर्न सकिन्छ । एक त लामो समय मैदानबाहिर रहनु र दोस्रो सिधै छनोटका लागि थप शक्ति लगाउनुपर्ने हुनाले खेलाडीको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्छ ।

व्यक्तिगत रुपमा फिटनेसमा ध्यान दिनु र म्याच फिट हुनु भिन्न पक्ष हो । विगतमा बंगलादेशविरुद्ध खेलअघि पनि टोली लामो समय मैदानबाहिर रहेकाले महर्जनले अधिकांश समय फिटनेसमा नै ध्यान दिएको बताएका थिए । टोलीले बंगलादेश पुगेर मात्र रणनीतिक अभ्यासमा जोड दिएको थियो ।

यसपटक भने झन्डै २ दर्जन नयाँ खेलाडी आउँदा सिधै छनोट खेल्नुपर्दा दोहोरो दबाबले खेलाडी घाइते हुने सम्भावना बढेको छ । एक त नियमित खेलेका खेलाडीसँग सोहि स्तरमा जुध्नुपर्ने । अर्को छनोट भएकाले टोलीमा पर्न थप परिश्रम गर्नुपर्ने स्थिति ।

खेलकुद फिजियोथेरापिस्ट सुरज भुषाल प्रशिक्षण सुरु गर्नुअघि खेलाडीको फिटनेस र स्वास्थ्य परिक्षण नगर्नुले पनि यस्तो समस्या आउने बताउँछन् । ‘हामीले प्रशिक्षण सुरु गर्नुअघि खेलाडीको स्वास्थ्य अवस्था र फिटनेस स्तर मापन गर्न जरुरि छ । अझ अहिलेको समयमा कतिपय खेलाडी एक वर्षपछि मैदानमा पस्दैछन् । सबै खेलाडीले एकै स्तरमा खेल्न सक्दैनन्,’ उनले भने, ‘अघिल्लो महिना अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडी र एक वर्षपछि प्रशिक्षण गरेका खेलाडीलाई एकै ठाउँमा प्रशिक्षण गराउँदा पक्कै फरक हुन्छ । सुरुवातमा फिटनेसको स्तर मापन गरेर मात्र प्रशिक्षण गराउनुपर्छ ।’

भुषाल गत वर्ष लिग उपाधि जितेको मछिन्द्र क्लबका फिजियो समेत हुन् । विमलले पछिल्लो पटक मछिन्द्रबाट लिगको अन्तिम खेल खेल्दै लामो समयपछि पुनरागमन गरेका थिए । उक्त खेलमा पनि उनी पूरा समय मैदानमा रहेका थिएनन् । विमलको चोटको कारण शारीरिक अवस्था मात्र नभएर उनीमाथि थपिएको मानसिक दबाब पनि हुनसक्ने भुषालले बताए ।

‘विमल नेपालले पाएको उत्कृष्ट फरवार्डमध्यमा पर्छन् । उनको स्तरबारे हामी सबै परिचित छौं । तर उनी झन्डै एक वर्षपछि मैदानमा आएका छन् । उनको शारीरिक अवस्था कस्तो छ भन्ने हेक्का राख्नुपर्छ । उनको कार्डियोभास्कुलर इन्डुरेन्स, हार्ट रेट, फिटनेस लेभल पक्कैपनि खस्केको हुन्छ । मैदानबाहिर लामो समय बसेको खेलाडीले जिममा गरेको अभ्यासका भरमा म्याच फिटनेस पाउन सक्दैन,’ उनले भने ।

‘विमल राष्ट्रिय टोलीको नियमित खेलाडी थिए । लामो समय मैदानबाहिर रहेको उनलाई टोलीमा फर्कन मानसिक दबाब पनि हुन्छ । यस्तो अवस्थामा लामो समयपछि मैदान फर्कंदा विमल मात्र होइन, सबै खेलाडीलाई केहि समय दिनुपर्छ । अझ अघिल्लो महिना अन्तर्राष्ट्रिय खेलमा खेलेका खेलाडीसँग उनलाई उतार्नुले शारीरिक र मानसिक दुवै रुपमा असर गर्छ,’ भुषालले थपे ।

फुटबलको राष्ट्रिय टोलीमात्र नभएर आउने दिनमा अन्य खेलमा पनि यस्तो समस्या आउन सक्छ । लामो समय मैदानबाहिर रहेका खेलाडीले सिधै पूर्ण गतिमा प्रशिक्षण गर्नु वैज्ञानिक हिसाबले सहि हुँदैन । शरीर लामो समय विश्राममा रहेपछि पुन: पुरानो अवस्थामा आउन समय लाग्छ । त्यसैले आफ्नो शरीरको अवस्था मापन गरेर योजनावद्ध ढंगले प्रशिक्षणमा फर्कनु आवश्यक हुन्छ ।

फिजियो भुषाल पनि अब खेलकुद सुचारु भएसँगै सम्बन्धित खेलाडी र प्रशिक्षकले यसमा ध्यान दिनुपर्ने बताउँछन् । ‘ हामी कोरोनाका कारण लामो समयपछि खेलकुद गतिविधि फर्किएको समाचार सुनिरहेका छौं । अब आउने दिनमा खेलाडीले पहिला आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिएरमात्र आफूलाई खेलमा फर्काउनुपर्छ । ९-१० महिना विश्राममा अथवा सेल्फ फिटनेस गरेको खेलाडीले सिधै पूर्ण रुपमा फर्कनु खतराले भरिपूर्ण हुन्छ । जसरि चोटबाट सिधै फर्कंदा समस्या बल्झन्छ, त्यस्तै लामो विश्रामबाट फर्कंदा पनि स्वास्थ्यमा समस्या आउन सक्छ,’ उनले थपे ।

फिजियो भुषालले यस्तै समस्यालाई ध्यानमा राख्दै नेपालमै पहिलो पटक खेलकुदलाई लक्षित गर्दै उनी कार्यरत अर्थोप्लास्ट रिह्याब सेन्टरले स्पोर्ट्स फिजियोथेरापी युनिटको स्थापना गरेको जानकारी दिए । ‘हामीले नेपाली खेलकुदमा चोट लागेका खेलाडीलाई ठिक पार्ने मात्र होइन, चोट नै लाग्न नदिन यस खेलकुद युनिट नै स्थापना गरेका छौं । अहिलेको अवस्थामा झन् कोरोनाको विश्रामपछि खेलाडीले पहिला फिटनेसमा ध्यान दिनुपर्छ । आफू कुन स्थितिमा छु भन्ने थाहा भएपछि मात्र प्रशिक्षण योजना बुन्नुपर्छ,’ उनले थपे ।

कोरोनाका कारण नेपाली खेलकुदमा बिस्तारै केहि खेलले प्रशिक्षण सुरु गरेका छन् । केहि खेलले प्रतियोगिताको योजना पनि अघि सारेका छन् । खेलाडी मैदान फर्कंदै गर्दा चोटका खबर पनि संगै आउनुले चिन्ता भने थपेको छ । यसमा खेलाडीसँगै प्रशिक्षकले पनि उत्तिकै ध्यान दिन जरुरि छ । खेलाडीको अवस्था हेरेर मात्र प्रशिक्षण योजना बनाउनुपर्छ ।

खेलाडीको स्तरले भन्दापनि पहिला उसको फिटनेसको स्तरबारे ख्याल राख्नुपर्छ । शारीरिक रुपमा फिट भएमात्र खेलाडीले आफ्नो स्तर अनुसार प्रदर्शन गर्न सक्छ । यदि प्रशिक्षककै लागि अथवा दबाबमा खेलाडी अनफिट भएपनि मैदान प्रवेश गर्छ भने त्यसले शारीरिक र मानसिक दुवै पक्षमा असर गर्छ ।

सुरुवातमा शारीरिक फिटनेसलाई प्रथामिकतामा राखेर प्रशिक्षण सुचारु गर्नु अहिलेको आवश्यकता हो । सुरुवातमै छनोटमा पर्ने दबाब दिने हो भने फिटनेस भन्दा छनोटमा ध्यान दिँदा खेलाडीले चोट बोक्ने सम्भावना झनै बढ्छ । विमलको चोट उनको फिटनेसको स्तर मात्र नभएर प्रशिक्षकहरुले खेलाडीको अवस्थाबारे हेक्का नराख्नुको नतिजा पनि हो । त्यसैले पनि प्रशिक्षक र खेलाडीले एक आपसमा समन्वय गरेर अघि नबढे विमलको चोट प्रशिक्षण सुरु भएसँगै घाइते खेलाडीको सुचिमा अर्को एक नाम हुने डर बढ्नेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.