5 years ago
April 29, 2021
सुबास हुमागाईं, काठमाडौं
नेपाली खेलकुदमा क्रिकेटबाट भित्रिएको फ्रेन्चाइज शैलीको प्रतियोगिता अहिले फुटबलमा चलिरहेको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा जारी लिगको दोस्रो चरणको खेल सम्पन्न भए ।

दुई वर्षअघि प्रतियोगिता घोषणा हुने बेलामा नै लिगले नेपाली फुटबल विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने महत्त्वाकांक्षी लक्ष्य राखेको थियो । होम एण्ड अवे पद्दतिमा सात प्रदेशका सात टोली समेटेर गर्ने योजनासहित अघि आएको लिगको समय बित्दै जाँदा अस्तित्व खुम्चदै गयो । एक समय लिग आयोजनामै प्रश्न नउठेको होइन, तर ढिलै भएपनि लिग आयोजना हुने भयो ।
लिगले सोचे जस्तो पहिलो सिजन वृहत नहुने भयो । सिंगल राउन्ड रोबिनमा हुने लिग कोरोना संक्रमणका कारण बन्द रंगशालामा नै गर्नुपर्ने अवस्था आयो । यसका बाबजुद पनि आयोजकले आर्थिक भार बेहोर्दै लिगलाई जारी राख्ने निर्णय लियो । छोटो अवधिकै भएपनि टोलीहरुले अक्सनमा किनेका खेलाडी र विदेशी खेलाडीसहित तयारी गरे । मोफसलका अन्य प्रतियोगितामा डिभिजन लिगका क्लबहरुले खेलाडी प्रयोग गर्दा तयारीमा पनि असर पर्न गयो ।
लिगको सुरुवाती दिनदेखि नै विदेशी खेलाडीमा आयोजकले जोड दिँदै आएको थियो । आयोजकको दावी थियो नेपाली फुटबलमा उच्च स्तरका विदेशी खेलाडी आउनेछन् । तर लिगमा अधिकांश टोलीले नेपाली फुटबलमा नै खेल्दै आएका विदेशी खेलाडी प्रयोग गर्ने निर्णय गरे । केहि टोलीले भारतीय लिगको अनुभव बोकेका खेलाडी पनि समेटे, तर प्रदर्शन तुलानात्मक रुपमा हेर्ने हो भने नेपाली खेलाडी जतिको पनि हुन सकेको छैन ।

त्यसो त केहि विदेशी खेलाडी निकै ढिला नेपाल आएका कारण यहाँको वातावरणमा भिज्न कठिनाइ भएको हुनसक्छ । केहि खेलाडी चोटका कारण नै मैदानमा छैनन् । तर नेपाली फुटबलमा नै खेलिरहेका विदेशी खेलाडी अनुबन्ध गर्दा भने टोलीहरुको स्तरमा खासै भिन्नता देखिएको छैन ।
विराटनगर सिटीले स्पेनी फरवार्ड पेड्रो मान्जीलाई अनुबन्ध गर्यो । भारतमा तहल्का मच्चाएका मान्जीको सुरुवाती दुई खेलको प्रदर्शन बिर्सनलायक रहेको छ । विराटनगरका भारतीय प्रशिक्षक यान ल पनि मान्जीले आफ्नो स्तरअनुसार खेल्न नसकेको स्वीकार्छन् । उनले आउने खेलमा आफ्नो टोलीको प्रदर्शन सुधारिने र मान्जीको स्तरमा शंका गर्न नसकिने बताएका छन् ।
विराटनगरबाट नै खेल्दै आएका डिफेन्डर अलरीच सिवेले भने दुवै खेलमा राम्रो प्रदर्शन गरेका छन् । उनले यसअघि शेर्पाको जर्सीमा ए डिभिजन खेलेका थिए । मनाङ र मछिन्द्रबाट ए डिभिजन लिग जितेका आडेलाजा सोमिडेले पहिलो खेलमा गोल गरेपनि दोस्रो खेलमा भने अपेक्षित प्रदर्शन गर्न सकेनन् ।

काठमाडौं रेजर्सले नियमित नेपाली फुटबलमा खेल्दै आएका क्यामरुनी जोडी मेसुके ओलोमोउ र स्टेफान समिरलाई आक्रमणको जिम्मेवारी दिएको थियो । दुवैको प्रदर्शन औसत रहेको छ । डिफेन्समा आइभोरियन फ्लोरेन्ट कोअराले पनि खासै प्रभाव जमाउन सकेको स्थिति छैन ।
विदेशी खेलाडीको हकमा ललितपुरका प्रशिक्षक प्रदीप हुमागाईंले दोस्रो खेलपछि स्तर फरक नरहेको बताएका थिए । उनले नेपाली खेलाडी होस् या विदेशी, जो खेलाएपनि खासै फरक नरहेको अभिव्यक्ति दिए । त्यसैले पनि होला ललितपुरले आफ्नो दोस्रो खेलमा क्रोएसियाका फरवार्ड भिलिम पोसिन्कोभिचलाई बेन्चमा राखेर अन्तिम मिनेटमा मात्र उतारेको थियो । अजरबैजनका नुर्लान नोब्रुजोभले केहि सम्भावना देखाएपनि निर्णायक मोडमा चुक्दै आएका छन् । नाइजेरियन डिफेन्डर पिटर सेगुन कागजी प्रक्रिया पूरा नहुँदा अझै खेल्न पाएका छैनन् ।
विदेशी खेलाडीको हकमा चितवन भने निकै अभागी सावित भएको छ । पहिलो खेलको सातौं मिनेटमा नै इजिप्टका अहमद बोगीलाई चोटका कारण गुमाएको टोलीले अब नयाँ खेलाडी ल्याउने तयारी गरिरहेको छ । इजिप्टकै मिडफिल्डर एल सायेद सबानले पनि पहिलो खेलमा चोट बोकेपछि पहिलो हाफ मात्र खेले ।

दोस्रो खेलमा गोरान जर्कोभिचलाई दोस्रो फरवार्डको रुपमा प्रयोग गर्दै प्रशिक्षक मेघराज केसीले मिडफिल्ड बलियो पार्ने प्रयास गरेका थिए । त्यसले गर्दा पनि चितवनको आक्रमण त्यति सुदृढ देखिएन । चितवनका लागि डिफेन्डरद्वय विकास खवास र विकास तामाङ दुवै घाइते भएका कारण पनि टोलीमा समस्या थपिएको हो ।
बुटवल लुम्बिनीका लागि फरवार्ड अर्मान्ड बेडमले राम्रो प्रदर्शन गर्दै आएका छन् । च्यासलबाट मोफसलको प्रतियोगिता खेलिसकेका उनले पहिलो खेलमा गोल गरेका थिए । दोस्रो खेलमा पनि उनको प्रदर्शन राम्रो नै रहयो । घानाका मिडफिल्डर विलियम ओपोकु र नाइजेरियाली डिफेन्डर करीम ओमोलाजाले आफ्नो जिम्मेवारी पूरा गरेका छन् । त्यसैले पनि टोली शीर्षस्थानमा रहेको छ ।

धनगढीले नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणलाई अनुबन्ध गरेपछि दुई विदेशी खेलाडी मात्र खेलाउन पाएको हो । पहिलो खेलमा चल्न नसकेका आफिजले दोस्रो खेलमा २ गोल गर्दै टोलीलाई जित दिलाए । डिफेन्डर अर्नेस्ट ताम्पी पहिलो खेलमा घाइते भएपछि दोस्रो खेलमा खेल्न सकेनन् । उनी फेरी खेल्न नसक्ने सम्भावना रहेको छ ।
लिगको दोस्रो चरण समाप्त हुँदा विदेशी खेलाडीबाट अपेक्षा गरेअनुसार प्रभाव देखिएको छैन । नयाँ टोली र वातावरणमा भिज्न समय लाग्न सक्छ, र त्यसैले पनि अब आउने खेलहरुमा यी खेलाडीको प्रभाव देख्न सकिन्छ । विशेषगरी दुवै खेलमा बराबरीमा रोकिएको चितवन विदेशी खेलाडीसँगै थप राम्रो हुने देखिन्छ । विराटनगर मान्जीको गोलको प्रतिक्षामा रहँदा ललितपुर पिटर सेगुनको आगमन र नुर्लानबाट परिणाम खोजिरहेको हुनेछ ।
दोस्रो चरणको खेल सकिँदासम्मको अंक तालिका:

December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]