default_image

3 years ago

October 12, 2021

एसओएस, एन्फा हुँदै जन्मभूमि कर्णालीमा गणेशको फुटबल कर्म

सुबास हुमागाईं, काठमाडौं एसओएसमा रहेर हुर्के बढेका विंगर गणेश खड्काले दशकअघि एन्फा एकेडेमीबाट बाहिरिने बितिक्कै ए डिभिजन लिगको शीर्ष क्लब मनाङ मर्स्याङ्दी क्लबमा अनुबन्ध हुँदा सायदै सोचेका थिए, एकदिन फुटबल नभएकै कारण विदेश जानुपर्ने हुन्छ । तर नेपालमा एक समय फुटबल नै नहुने अवस्था भएपछि जीविकोपार्जनकै लागि मनाङ, हिमालयन शेर्पा, नेपाल पुलिस क्लब हुँदै झापा ११ […]

1479 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

एसओएसमा रहेर हुर्के बढेका विंगर गणेश खड्काले दशकअघि एन्फा एकेडेमीबाट बाहिरिने बितिक्कै ए डिभिजन लिगको शीर्ष क्लब मनाङ मर्स्याङ्दी क्लबमा अनुबन्ध हुँदा सायदै सोचेका थिए, एकदिन फुटबल नभएकै कारण विदेश जानुपर्ने हुन्छ । तर नेपालमा एक समय फुटबल नै नहुने अवस्था भएपछि जीविकोपार्जनकै लागि मनाङ, हिमालयन शेर्पा, नेपाल पुलिस क्लब हुँदै झापा ११ बाट खेलेका गणेश कतार पुग्नुपर्यो । नियतिले आज उनलाई यस्तो अवस्था पुर्याएको छ, सायद गणेश नेपाली फुटबलको चारै श्रेणी खेल्ने एन्फा एकेडेमीका पहिलो खेलाडी हुन् ।

फुटबलबाहेक केहि सोच नराख्ने उनी विदेशमा केहि वर्ष काम गरेपछि पुन: नेपाल फर्किए । नेपाल फर्किएपछि उनले एकपटक आफ्नो अभिभावक (आमा/बुवा) खोज्ने प्रयास गरे । एसओएसमा रहेको कागजपत्रबाट आफ्नो काकाको ठेगाना प्राप्त गरेका उनले आफ्नो जन्मभूमि कर्णाली प्रदेश रहेको र बुवा-आमा दुवै जिउँदो रहेको पत्ता लगाए । आफ्नो जन्मभूमिप्रति केहि गर्नुपर्छ भन्ने अठोट बोकेका गणेशको एन्फा एकेडेमीका सहकर्मी रोहित चन्दको आरसी ३२ एकेडेमीसँग भेट भयो । आरसी ३२ र गणेशको लक्ष्य एकै भएपछि दुवै सँगै अघि बढ्ने लक्ष्यसाथ अघि बढे ।

यसै साता आरसी ३२ सी डिभिजन लिगको लागि छनोट भयो । आइतबार भएको छनोटको फाइनलमा टाइब्रेकरमा समाजसेवी क्लब झापालाई पराजित गर्दै आरसी ३२ ले श्रेणी फुटबलमा प्रवेश गर्यो । आफ्नो जीवन नै फुटबलमा समर्पित गणेश यस सफलताले आफू नयाँ जीवन पाएको महसुस गर्छन् । फुटबलमै भर परेको उनको जीवनले अब एउटा आधार पाएको छ । खेलाडी जीवनको उत्तरार्धमा उनले आफ्नै क्षेत्रमा फुटबल विकासका लागि काम अघि बढाउने क्षेत्र पाएको महसुस गरेका छन् ।

फाइनल खेल जितेपछि गणेशसँगै टोलीको खुसीयाली पनि हेर्न लायक थियो । डिफेन्डर विदुर रिजालले अन्तिम पेनाल्टीमा गोल गरेपछि सबै खेलाडी आफ्नो समर्थक भएतिर कुदे । जर्सी खोल्दै खुसी मनाउने क्रममा गणेशजति सायदै कोहि खुसी थियो । खेल सकिएको एक घण्टापछि उनीसँग बोल्दा पनि उनमा बेग्लै भाव झल्कन्थ्यो ।

नेपालमा फुटबल गतिविधि अस्पष्ट हुँदा व्यावसायिक जीवन अघि बढाउन नसकेका गणेशलाई व्यक्तिगत जीवनयापनमा पनि कठिनाइ भएको थियो । तर अब व्यावसायिक सफलताले उनको व्यक्तिगत समस्यालाई पनि बिर्साउने आशा राखेका छन् । आरसी ३२ बाट आफ्नो जन्मभूमिमा फुटबल विकास गर्ने लक्ष्य उनको छ । कर्णालीबाट छनोट हुने पहिलो टोली भएसँगै क्लबका पदाधिकारीभन्दा गणेश बढी खुसी देखिन्थे ।

‘सी डिभिजनमा क्लब उक्लेपछि मैले नयाँ जीवन पाएको अनुभूति गरेको छु । मैले अब आफ्नो क्षेत्रमा फुटबलबाट केहि गर्न पाउँछु । अब कर्णालीले पनि आफ्नो आवाज राख्न पाउँछौं । हाम्रो पनि फुटबलमा केहि हक अधिकार रहन्छ । हाम्रो कर्णालीमा रहेका फुटबल संघका मान्छेले आजसम्म के विकास गरे भन्ने खोज्नुपर्ने अवस्था छ,’ उनले भने, ‘सुर्खेतबाट रोहित चन्द हो, अनि म पनि यहाँकै रहेछु भन्ने भर्खर थाहा हुँदैछ । रोहित एउटा स्तरमा पुग्न उसले निकै मिहिनेत गरेको छ । तर हाम्रो संघ र जिल्लाबाट यहाँ प्रतिनिधि टोली हुनुपर्छ । झापाबाट ३-४ टोलीले प्रतिस्पर्धा गर्छन् । त्यसैले फुटबल राम्रो छ । अब हाम्रो क्षेत्रमा पनि फुटबल विकास गर्नुपर्छ ।’

गणेश आफ्नो विगत सम्झंदै केहि भावुक पनि भए । बुवा-आमाले छोडेपछि उनलाई हजुरबुवाले एसओएस इटहरीमा लगेका थिए । त्यहीं हुर्के बढेका उनी आफ्नो जीवनमा एसओएसको महत्त्वबारे बताउन नसक्ने बताउँछन् । त्यसो त उनले आफ्नो शरीरमा खोपेको एसओएसका संस्थापक हर्मन माइनरकै ट्याटुले पनि उनको जीवनमा कति महत्त्वपूर्ण छ भन्ने दर्शाउँछ ।

‘मैले सानैदेखि फुटबल बाहेक केहि जानिन । एसओएसमा हुर्किएको मैले त्यहाँको अवस्थाबारे केहि भन्नु नपर्ला । म मरेको मान्छेलाई एसओएसले जोगाएको हो । एसओएसको बारेमा जति नै तारिफ गरेपनि कम हुन्छ । तर जब एन्फा एकेडेमीमा प्रवेश गरें, मैले केहि सोचेर आएको थिइनँ । ममा फुटबलको प्यासन थियो । त्यसैले फुटबल खेल्छु भन्ने थियो । यो बन्छु वा त्यो बन्छु भन्ने थिएन,’ उनले विगत सम्झिए ।

एकेडेमी छोड्ने बितिक्कै गणेशसँगै उनको ब्याचका स्टार विशाल श्रेष्ठ, जगजित श्रेष्ठ, शिव श्रेष्ठ, लगायत खेलाडीहरु मनाङ मर्स्याङ्दीमा अनुबन्धित भएका थिए । त्यसपछि हिमालयन शेर्पा, नेपाल पुलिसबाट समेत खेलेका उनी निरन्तर लिग नहुँदा विदेशिनु पर्ने अवस्था नै आयो । फुटबलबाहेक केहि नजानेको अवस्थामा गतिविधि नै नभएपछि गुजारा चलाउन बाध्य भएर विदेश जानुपरेको दुख उनले साटे ।

‘एकेडेमी छोडेपछि मनाङबाट सुरुवाती रोजाइमा नै खेलेको थिएँ । तर नेपालमा व्यवस्थापनको कमजोरीका कारण नै नेपालमा फुटबल हुन सकेन । जसरि अभिभावकले आफ्ना सन्तानलाई राम्रो बाटो देखाउनुपर्ने थियो, हाम्रो अभिभावक एन्फाले त्यसो गर्न सकेन । बाहिरि रुपमा एन्फाले केहि गरेको जस्तो देखिन्छ, तर भित्रि रुपमा हेर्दा फुटबलमा रहेका सबैलाई कति कठिन छ । हामीजस्तो फुटबलमै भर परेकाले के गर्ने ?’ उनले दुख पोखे, ‘अहिले २८-२९ वर्षमा आएर आफ्नो परिवार थाहा पाएँ । त्यसअघि ६ वर्ष लिग नहुँदा के गर्ने? एक समय राष्ट्रिय स्तरको खेलाडी भएको मान्छेलाई भाडा माझ्ने, खेति किसानी गरेर खान मनले मानेन । त्यसैले विदेश जाने निर्णयमा पुगें ।’

गणेशले विदेशबाट फर्केपछि एक समय बी डिभिजन पनि खेले । ब्वाइज युनियनको जर्सीमा उत्रेर दोस्रो श्रेणीको लिग खेल्नु उनको लागि बाध्यता थियो । आफ्नो धैर्य गर्न नसक्ने बानीले उनलाई कहिँ कतै घाटा परेको गणेश स्वीकार्छन् । तर यसै बानीले गर्दा नै आफूले जन्मभूमिबारे थाहा पाएको पनि बताउँछन् ।

‘मैले बी डिभिजनमा खेल्नु एउटा बाध्यता थियो । मैले त्यसअघि झापा फुटबल क्लब एक्कासी छोडेको थिएँ । झापा गोल्डकपको फाइनलमा आर्मीविरुद्ध खेलका लागि टोलीमा नपरेपछि मैले खेलदौरान नै मैदान छाडें । नियमित सुरुवातमा खेलिरहेको मलाई एक्कासी टिमबाहिर राख्दा एकदम नराम्रो लाग्यो । पुलिस क्लब छोडेर झापाबाट खेल्न आएको मलाई त्यस्तो गरेपछि आत्मा नै एकदम रोयो । खेल सुरु हुनेबितिक्कै मैले त्यहीं क्लब छोड्ने निर्णय गरें र निस्किएँ,’ उनले सुनाए ।

‘म त्यसबेला एकदम धैर्य गर्न नसक्ने थिएँ । मैले आफ्नो गल्ति पनि स्वीकार्नुपर्छ । म केही धैर्य गर्न सक्ने भएको भए म सायद त्यहीं हुन्थें । र सायद धैर्य गर्ने भएको भए परिवारबारे केहि थाहा पाउँदिन थिएँ,’ उनले थपे, ‘दुर्भाग्य भन्नुपर्छ त्यसपछि लिग पनि भएन । झापा छोड्ने निर्णय गर्नु र लिग पनि नहुँदा निकै कठिन भयो । अनि विदेश जानुको विकल्प पनि देखिन । त्यसैले विदेश गएँ ।’

विदेशबाट फर्किएपछि परिवार खोज्ने क्रममा उनी सुर्खेत पुगे । त्यहाँ उनको भेट आरसी ३२ र रोहितका दाइ रविन चन्दसँग भयो । ‘२८-२९ वर्षपछि मैले मेरो बुवालाई भेटें । आमालाई पनि भेटें । म कर्णाली प्रदेशको रहेछु भन्ने थाहा भयो । त्यसपछि मैले रोहित चन्दको दाई रविन चन्दले मलाइ त्यो ठाउँमा धेरै सहयोग गर्नुभयो,’ उनले भने, ‘व्यक्तिगत रुपमा निकै कठिन समय थियो । मलाई कर्णालीमा केहि गर्नु थियो र त्यसमा रविन दाइ र आरसी ३२ ले आधार दिनुभयो । त्यसको लागि म निकै आभारी छु ।’

‘त्यहाँ रहेर हामीले कर्णाली प्रदेशबाट पनि टिम एन्फाको डिभिजनमा चढाउने योजना बनायौं । त्यसपछि मलाई आफू जन्मेको भुमिलाई केहि गर्छु भन्ने भयो । आफूले जानेको फुटबलबाट नै आफू जन्मेको ठाउँलाई पहिचान दिने प्रयास गरेको छु,’ गणेशले हर्षित हुँदै सुनाए, ‘ आजको जितले केहि हदसम्म आत्मसन्तुष्टि मिलेको छ । मैले धेरै नखेलेपनि आफ्नो अनुभवले खेलाडीहरुलाई सहयोग गर्न सकें । मैले जन्मेपछि इटहरी गएर आफ्नो जन्मस्थानलाई केहि गर्न सकेको थिइनँ । आज एकदम खुसी लागेको छ ।’

नेपालमा शीर्ष क्लबबाट लिग र थुप्रै प्रतियोगिता खेलेका गणेश आरसी ३२ बाट सी डिभिजन छनोट खेल्दाको अनुभव भने फरक रहेको बताउँछन् । आरसी ३२ को कप्तानी गर्दै सी डिभिजनमा चढाउँदा गणेशले आफ्नो अनुभव टोलीलाई दिए । तर सँगसँगै धेरै कुरा सिक्ने अवसर पनि पाए ।

‘नेपालमा फुटबल केही नै छैन । जतिसक्दो खेलाडीले आफ्नो मिहिनेत गरेर खेल्ने हो । यहाँ हाम्रो टोलीमा प्रशिक्षक विष्णु गुरुङ दाइ र निशान श्रेष्ठले खेलाडीको मनोबल उच्च पार्न निकै मिहिनेत गरेका छन् । यो स्तरको फुटबलमा हाम्रा प्रशिक्षकले गरेजस्तो काम कसैले पनि गर्दैन,’ उनले सुनाए, ‘रणनीतिक होस् या मानसिक रुपमा, हामीले निकै राम्रा प्रशिक्षक पायौं । सामान्यतया बल रोक्ने र हान्ने जस्तो आधारभूत सिकाउन नै समय लाग्छ । तर हामी एकदम व्यवस्थित ढंगले फुटबल खेलेका छौं ।’

व्यक्तिगत रुपमा एक समय जीवनयापनमै गणेश कठिन अवस्थामा पुगेका थिए । तर आफ्नो नजिकका साथीभाइ र सहकर्मीबाट राम्रो साथ र सहयोगले नै उनमा नयाँ जोश पलायो । अब आरसी ३२ नै उनको लागि नयाँ आधार बनेको छ ।

‘हाम्रो रविन चन्द दाई, विशाल श्रेष्ठ, विशन गौचन, निराजन खड्का, संजिव श्रेष्ठ दाइहरुले निकै सहयोग गर्नुभएको छ । मैले यस्तो भनिरहँदा कतिलाई हाँसो लाग्ला, कतिलाई रुन आउला । म अहिले त्यस्तो अवस्थाबाट गुज्रिरहेको छु,’ फेरी टोलीको जित सम्झेर मुस्कुराउँदै भने, ‘तर आज जित्यौं नि । यो जितले म एकदम खुसी छु । अब मेरो लागि बाटो खुलेको अनुभव भएको छ । अब मेरो लागि पनि क्लबको एकेडेमीमा गएर प्रशिक्षण गर्ने आधार भएको छ । जीविकोपार्जनका लागि कमाइ गर्ने आधार पाएको छु ।’

नेपालमा फुटबल गतिविधि नै नहुँदा खेलाडीहरुलाई निकै असर परेको गणेश बताउँछन् । कम्तिमा फुटबल गतिविधि चलायमान भइरहे खेलाडीलाई सहज हुने उनको बुझाइ छ । उनी फेरीपनि आरसी ३२ को प्रशंसा गर्नथाले ।

‘अहिले कम्तिमा बी डिभिजन, सी डिभिजन भएपनि लिग त भएका छन् । म आफैं आरसी३२ बाट लिग खेलिरहेको छु । रविन दाई, हाम्रो प्रशिक्षक दिलिप अन्सारीले एउटा स्थान दिनुभएको छ,’ उनले भने, ‘यो स्तरमा पनि क्लबले निकै राम्रो पारिश्रमिक दिइरहेको छ । चौथो श्रेणीको फुटबल लिगमा यो पारिश्रमिक धेरै नै राम्रो हो । कम्तिमा खेल आयोजना भइरहने हो भने हामी बाँच्छौं नि ।’

सुर्खेतमा आउँदाको सुरुवाती दिनको स्मरण गर्दै गणेशले आफ्नो पिडाको समय सम्झिए । ‘विदेश गएर फर्केपछि पनि फुटबलबाहेक केहि सोच्न सकिन । दुई वर्ष हुँदैछ म सुर्खेतमा आएको । आफू जन्मेको ठाउँ भनेपछि बेग्लै महसुस भयो । तर त्यहाँ बसेर केहि गर्छु भनेर मात्र पनि नहुने,’ उनले भने, ‘ आफूले जानेको फुटबल अनि आरसी ३२ ले मलाई केहि गर्ने अवसर दियो । त्यसैले यसमा नै ध्यान दिएर लाग्न थालें । अब हामी माथि चढेका छौं । यो भन्दा ठूलो कुरो केहि छैन । सानैदेखि माया गरेको फुटबलमा अब केहि गर्ने अवसर आएको छ । अहिले म ३३-३४ वर्ष पुगें । मेरो जीवनमा फुटबल नै हो जानेको । अब आफ्नै प्रदेशको टिम पनि छ ।’

जीवनमा अनेक परिस्थितिको सामना गर्नुपरेका गणेशलाई कुनै पछुतो भने छैन । ‘तर जे भयो राम्रो भयो । आफू जन्मेको भूमिमा बसोबास गर्दै आएको छु । आफ्नो बुवाआमा हुनुहुन्छ भन्ने थाहा पाएको छु । जीवनको झन्डै तीन दशक अनाथ थिएँ भनेर हिडेको मान्छे, अहिले बुवाआमा हुनुहुन्छ भन्ने छ । भलै वहाँहरु आ-आफ्नो जीवनमा व्यस्त हुनुहुन्छ, मनमा आनन्द छ,’ उनले भने ।

‘सायद मैले पहिले खोजेको भए भेट्थें पनि होला तर खासै थाहा भएन । पछि विदेशबाट फर्केपछि एसओएसको कागजात हेर्दा काकाको नाम थाहा पाएँ । काकाको घर पाम्का भन्ने ठाउँ रहेछ भन्ने थाहा भएपछि आफैं गएँ । वहाँहरुलाई भेटेपछि आ-आफ्नो जीवनमा खुसी हुनुहुँदो रहेछ । ठिकै छ सबै । वहाँहरु जिउँदो हुनुहुन्छ, त्यसमा खुसी छु । गरेर खाने त आफैंले न हो । वहाँबाट केहि आशा छैन,’ उनले सुनाए ।

गणेश आफैं पनि अहिले अभिभावक भएका छन् । चार महिनाअघि छोरीको जन्म भएपछि आफ्नो भाग्य फिरेको गणेश बताउँछन् । ‘अहिले त म आफैं पनि परिवारको मान्छे । छोरी पनि छ । तर अलिकति तनावमा पनि छु । छोरी धेरै नै विमारी परिरहन्छिन् । त्यसैले पनि यो प्रतियोगिता चढ्नु मेरो लागि व्यक्तिगत रुपमा पनि निकै महत्त्वपूर्ण थियो । एकातर्फ छोरीको कारण केहि तनाव थियो, तर जसोतसो हामी सफल भयौं । म आफूलाई भाग्यमानी पनि ठान्दछु । मेरो छोरीको जन्मपछि धेरै राम्रो पनि भएको छ,’ उनले भने ।

‘विगतमा पनि म राम्रो फुटबल खेल्थें, तर सफलता खासै पाएको थिइनँ । तर अहिले छोरी आएपछि म पुरानो गणेश खड्का त होइन, तर आफूमा केहि गर्न सक्छु भन्ने आत्मविश्वास छ । छनोटमै पनि मैले धेरै समय मैदानमा बिताएको होइन, तर जब म मैदानमा छिर्छु केहि गर्छु भन्ने हुन्छ,’ उनले अनुभव सुनाए, ‘फाइनलमा पनि देख्नुभयो, अन्तिम १० मिनेट छिरेको थिएँ, राम्रो गरें । जित्न पनि सक्यौं । त्यसअघिका खेलमा पनि म प्रवेश गरेपछि जित हासिल गर्न सफल भएका थियौं । मेरो छोरी नै भाग्य बोकेर आएको जस्तो लाग्छ ।’

‘फेरी म आफैं क्रिस्टियानो रोनाल्डोको एकदम ठूलो फ्यान । उनको नाम पनि क्रिस्टिना राखेको छु । म छोरी पाएपछि आफूलाई भाग्यमानी ठानिरहेको छु,’ गणेशले भने ।

व्यावसायिक रुपमा नेपाली फुटबलको व्यवस्थापनबाट ठगिएका गणेशले त्यसको कारण व्यक्तिगत रुपमा पनि निकै कठिनाई भोगे । अब व्यक्तिगत र व्यावसायिक जीवन दुवैलाई अघि बढाउन उनले नयाँ बाटोमा अघि बढ्दैछन् ।

‘अब मेरो लक्ष्य भनेको धेरै भन्दा धेरै खेलाडी खोज्नु हो । हाम्रो स्थानीय स्तरबाट खेलाडी खोज्ने काम हो । अब रविन दाइले मलाई लगाउने नै गाउँबाट खेलाडी खोज्ने हो । मेरो आम्दानी गर्ने गर्ने आधार यहि क्लबका लागि काम गरेर अघि बढ्ने हो,’ उनले भने, ‘ अहिले पनि यो छनोट खेल्न आउँदा मैले दुई खेलाडी गाउँका प्रतियोगिताबाट नै लिएर आएको हो । अब त क्लब माथि चढेपछि एउटा सिस्टम बनाउने हो र त्यसै अनुसार आफू चल्ने हो । एकडेमीबाट खेलाडी उत्पादन गर्ने हाम्रो योजना छ ।’

आरसी ३२ का संस्थापक रविन चन्द, जो रोहितका दाइ र व्यवस्थापक पनि हुन्, उनले गणेशलाई अब क्लबको एकेडेमी र प्राविधिक पक्ष जिम्मा दिने सोच रहेको बताए । ‘गणेश र रोहित एकै ब्याचका खेलाडी, उ कस्तो खेलाडी हो भन्ने हामी सबैले देखेका छौं । नेपालमा फुटबल नहुनुको दुर्भाग्य भनौं उसले सोचेजस्तो करिअर अघि बढाउन सकेन । तर क्षमता भएको मान्छे हो,’ उनले भने,’ सुर्खेतकै भन्ने थाहा पाएपछि हामीले सहकार्य गरौं भनेका थियौं । अब क्लब माथि चढेको छ । उनलाई लिएर नै क्लब अघि बढ्नेछ ।’

२०७१ मा स्थापित भएको आरसी ३२ ले अब सुर्खेतमा नै स्थानीय स्तरको संलग्नतामा एकेडेमी संचालन गर्ने प्रयास गरिरहेको छ । यसअघि गरिएको प्रयासमा खासै साथ नपाएपनि अब भने क्लबले सी डिभिजन उक्लेपछि त्यो हासिल गर्न सकिने रविनको विश्वास छ ।

खेलाडीका रुपमा आफ्नो उच्च प्रदर्शन देखाउने ठाउँ नपाएका गणेश फुटबलभन्दा टाढा रहन सकेनन् । भाग्यवश उनको भेट आफ्नै प्रदेशको आरसी ३२ सँग भयो । दुवैको लक्ष्य एक भएकाले नै अब कर्णाली फुटबलको विकासमा आरसी ३२ ले राम्रो सारथी पाएको छ । सी डिभिजन छनोट भएसँगै अब क्लबले खेलाडी उत्पादनमा ध्यान दिने लक्ष्य राखेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा कागजमा मात्र सिमित गतिविधिलाई अब आरसी ३२ ले चलायमान बनाउने अवसर छ । कम्तिमा कर्णालीको गाउँमा रहेका केहि प्रतिभाले अब अवसर पाउने भने पक्का छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.