default_image

4 years ago

October 13, 2021

बंगलादेशविरुद्ध आक्रमक फुटबलको अपेक्षा

244 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । पहिलो पटक साफको फाइनलमा पुग्न नेपाललाई बराबरी वा जितको नतिजा आवश्यक छ ।

पछिल्लो खेलमा भारतविरुद्ध पूर्णत रक्षात्मक रणनीति साथ मैदान उत्रिएको नेपालले १-० ले खेल गुमाएको थियो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सुरुवाती रोजाइमा ५ डिफेन्डरलाई उतार्दा २ सेन्टर मिडफिल्डरले पनि अधिकांश समय रक्षात्मक भूमिका नै निर्वाह गरे । विंगरको भूमिकामा रहेका सुजल श्रेष्ठ र सुमन लामा पनि आक्रमणभन्दा बढी आफ्नै हाफमा व्यस्त रहे । एक्ला फरवार्ड मनिष डाँगीले केहि काउन्टर अवसर पाएपनि राम्रो साथ नहुँदा केहि खतरा दिन सकेनन् ।

प्रतियोगिताको सुरुवाती दुई खेल जित्दै साफ इतिहासमा नै सर्वाधिक सफल सुरुवात गरेको नेपालले भारतविरुद्ध गरेको प्रदर्शनले समर्थकहरुको मन कुँडिएको छ । साफअघि घरेलु मैदानमा भारतविरुद्ध भएको दुई मैत्रीपूर्ण खेलमा नेपालले गरेको प्रदर्शन र आइतबारको खेलको रणनीति आकाश-पाताल फरक थियो । दशरथ रंगशालामा आक्रामक फुटबल खेल्दै बल पोसेसनमा समेत भारतलाई टक्कर दिएको नेपाली टोलीले आइतबार भने पहिलो मिनेटदेखि नै बल राख्ने कुनै मनसाय देखाएन ।

भारतलाई आक्रमण गर्न नदिने सुर लिएर मैदान उत्रेको नेपालले अन्तर्राष्ट्रिय फुटबलमा ‘पार्क द बस’ अर्थात् पूर्णत रक्षात्मक प्रस्तुति दियो । अंक तालिकामा शीर्ष स्थानमा रहेको नेपाललाई भारतविरुद्ध कुनै दबाब थिएन । दबाब थियो त केवल भारतलाई । भारतले नेपालविरुद्ध खेलमा हार बेहोरेको खण्डमा समूह चरणबाट नै बाहिरिनुपर्ने समीकरण थियो । नेपाललाई जित हासिल गरेको भए फाइनलमा स्थान पक्का गर्ने अवसर थियो ।

खेलपछि हारको जिम्मेवारी लिँदै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीहरुलाई कुनै दोष दिन नमिल्ने बताएका थिए । उनले खेलाडीहरु आफ्नो रणनीति अनुसार खेलेको र प्रदर्शनबाट खुसी भएको बताइरहेका थिए । तर समर्थकमाझ भने अलमुताइरीको रणनीतिलाई लिएर चौतर्फी असन्तुष्टि रहयो । राम्रो फुटबल खेल्न सक्छ भन्ने उदाहरण देखिरहँदा एक्कासी टोलीलाई रक्षात्मक रणनीतिमा उतार्नु सबैलाई आश्चर्य पार्ने निर्णय थियो ।

त्यसो त अलमुताइरीले यसअघि प्रतियोगितामा प्रदर्शन भन्दा नतिजा महत्त्वपूर्ण रहेको बताएका थिए । माल्दिभ्सविरुद्ध खेलमा टोलीले अन्तिम समयमा गोल गर्दै जित हासिल गरेको थियो । जसरी भारतविरुद्ध नेपाल दबाबमा परेको थियो, माल्दिभ्सविरुद्ध पनि अवस्था त्यस्तै थियो । तर माल्दिभ्सविरुद्ध भने टोलीले आक्रमण बुन्ने प्रयास गरेका थिए । भारतविरुद्ध खतरा टार्न नै खेलाडी व्यस्त देखिए । भारतविरुद्ध पहिलो हाफमा एकल फरवार्ड मनिष र दोस्रो हाफमा अन्जन विष्ट एक्लै आक्रमणमा तल्लिन थिए । गोल खाएपछि भने रोहित चन्दले केहि आक्रामक भूमिकामा खेलेका थिए । त्यसो नतिजा पनि राम्रै आएको थियो ।

बुधबार बंगलादेशविरुद्ध खेल्दा नेपाली टोलीलाई जित वा बराबरी आवश्यक छ । तर टोलीको स्तर हेर्दा नेपालले आक्रमक फुटबल खेलेर नै टोलीलाई हराउन सक्ने देखिन्छ । साफ च्याम्पियनसिपमा बंगलादेशको लागि पनि प्रदर्शन राम्रो भएको छैन । ३ खेलमा १ जित, १ बराबर र १ हारसहित टोली ४ अंक जोड्दै चौथो स्थानमा छ । नेपाललाई हराए मात्र बंगलादेश फाइनल पुग्छ । पहिलो खेलमा श्रीलंकालाई पेनाल्टी गोलमा १-० ले हराएको बंगलादेशले भारतलाई १-१ को बराबरीमा रोकेको थियो । तेस्रो खेलमा भने माल्दिभ्सले २-० को जित दर्ता गरेको थियो ।

बंगलादेशसँग नेपालले पछिल्लो एक वर्षमा ४ पटक खेलेको छ । दुई खेल बराबरी हुँदा १ खेल नेपाल र १ खेलमा बंगलादेश विजयी भएका छन् । साफ च्याम्पियनसिपकै कुरा गर्ने हो भने, नेपालले १ दशकयता बंगलादेशसँग हार बेहोरेको छैन । कागजी रुपमा पनि नेपाली टोली बंगलादेशभन्दा बलियो नै छ । त्यसैले प्रशिक्षक अलमुताइरीले बंगलादेशविरुद्ध आक्रामक फुटबल नै खेल्नुपर्छ । खेलाडीको स्तर हेर्दा नेपालले फाइनलको लागि मोमेन्टम बनाउन भएपनि राम्रो फुटबल खेल्नुपर्छ ।

प्रशिक्षक अलमुताइरी मैदानभित्र रणनीति बुन्न जति माहिर छन्, त्योभन्दा बढी मैदानबाहिर मानसिक द्वन्द्वका लागि पनि परिचित छन् । विपक्षी टोलीका प्रशिक्षकलाई आफ्नो अभिव्यक्तिबाट प्रभाव पार्न खोज्ने उनको रणनीतिले केहि हदसम्म सफलता पनि पाएको छ । तर त्यसो गरिरहँदा उनले दीर्घकालीन रुपमा त्यसले कस्तो असर पार्छ पनि सोच्नुपर्छ ।

बंगलादेशविरुद्ध खेलअघि अलमुताइरीको स्थानमा सहायक प्रशिक्षक किरण श्रेष्ठ पत्रकार सम्मेलनमा आएका थिए । श्रेष्ठले सटिक जवाफ दिँदै टोलीले जितका लागि खेल्ने बताएका थिए । मैदानभित्र व्यस्त रहने अलमुताइरी बाहिर पनि चलायमान छन् भन्ने प्रष्ट नै छ ।

अलमुताइरीले भनेजस्तै साफ च्याम्पियनसिपमा प्रदर्शन भन्दा नतिजा पक्कै महत्त्वपूर्ण हुन्छ । तर सधैं प्रदर्शन नै नगरी नतिजा हासिल गर्न भने सम्भव हुँदैन । जसरि माल्दिभ्सविरुद्ध अन्तिम समयमा नेपालले गोल निकाल्यो, ठिक विपरित भारतविरुद्ध खेलमा नेपालले अन्तिम समयमा गोल खाएको थियो । गोल खाएपछि टोलीले फर्काउन प्रयास पनि गर्यो । तर अवसर निकाल्दा निकाल्दै टोलीको समय सकिएको थियो ।

त्यसैले क्षमता भएको टोलीलाई रक्षात्मक फुटबल खेलेर विपक्षीलाई घाटा हुने नतिजा निकाल्न निर्देशन दिनुभन्दा सकारात्मक फुटबलबाट आफ्नो लागि नतिजा निकाल्न ध्यान दिनुपर्छ । प्रदर्शनसँगै नतिजा निकाल्ने हो भने टोलीको उच्च मनोबल र समर्थकको हर्षसँगै नेपालले फाइनल यात्रा गर्न पाउनेछ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.