default_image

2 years ago

October 23, 2022

एथलेटिक्सकी रानी ‘जयरानी’

190 views

0 Bookmark

विजय नेपाली, पोखरा

गण्डकी प्रदेश राजधानी पोखरामा खेलकुदको महामेला राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण सम्पन्न भयो । विभिन्न बाधा अवरोध र उतार चढावका बीच राष्ट्रिय खेलकुद सम्पन्न भयो । प्रतियोगितामा केहि नयाँ प्रतिभासँगै कीर्तिमान पनि बने । प्रतियोगिता अवधिभर एथलेटिक्सकी युवा खेलाडी जयरानी थारु राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदकको कारण चर्चाको शिखरमा रहिन् ।

बर्दिया मधुवन नगरपालिका २ सुन्दरपुरकी २१ वर्षिया जयरानी माछापुच्छ्रे हिमालको काखमा अवस्थित पोखरा रंगशालामा हरेक पटक ट्रयाक र फिल्डमा उत्रँदा हिमालझैं चम्किइन् । विगतको दुःख पार गरेपछि अहिले उनी हर्षको पथमा छिन् ।

२०७३ सालमा पुर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट आफुलाई डेब्यु गराएकी उनको संघर्षको कथा सामान्य छैन । करिअरको सुरुवातमा ट्रयाकमा जुत्ता लगाएर दौडन कठिन मान्ने उनले खाली खुट्टा कुद्दा उनको चर्चा देशभर भयो । त्यसबेला मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट आफूलाई राष्ट्रिय खेलमा अभ्याएकी जयरानीको लागि नवौं अविस्मरणीय रह्यो । ऐतिहासिक सफलताबीच पनि करिअरको सुरुवाती दिनमा उनले गरेको संघर्षको गाथा उनले बिर्सेकी छैनन् ।

इटहरीको निर्माणाधीन ट्रयाकमा इट्टाको धुलो राखेर बनाइएको एथलेटिक्स ट्रयाक्मा अन्य खेलाडी जुत्ता लगाएर सहभागि हुँदा उनी भने खाली खुट्टा दौडिएकी थिइन् । जुत्ता लगाउने बानी नपरेकोले उनी खाली खुट्टा नै दौडिइन् ।

त्यसबेला व्यक्तिगत स्पर्धामा पदक प्राप्त गर्न नसकेपनि उनले चार गुण १०० मिटर रिलेमा रजत जितिन् । खाली खुट्टामै कुदेका कारण उनको खुट्टामा चोट लागेको थियो । ‘खुट्टा काटेको थियो । दुखेर सहन नसक्ने अवस्था थियो,’ विगत सम्झँदै उनले भनिन् ।

आठौं राष्ट्रिय खेलकुदमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गरेकी उनले कुनै पदक प्राप्त गर्न सकिनन् । प्रदेशबाट सहभागिता जनाउँदा आफ्नो क्षमता प्रस्फुटन गर्न नसकेकी उनलाई २०७५ सालमा त्रिभुवन आर्मी क्लबले एउटा अवसर दियो । जुन अवसरले उनी आफ्नो मात्र होइन बुबाको सपना पनि पूरा हुँदै थियो ।

संयोग पनि कस्तो ? बुबालाई छोरी आर्मी भएको हेर्ने चाहना, अनि छोरीलाई खेलाडी बन्ने । उनको खेल कौशलकै कारण दुवैको सपना एकसाथ पूरा भयो । आर्मीमा आवद्ध भएको चार वर्ष टेक्दै गर्दा उनले राष्ट्रिय खेलकुदमा आर्मीका साथै आफुलाई समेत अब्बल सावित गरिन् ।

गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले पाँच स्वर्ण हासिल गर्दै गर्दा राष्ट्रिय कीर्तिमानीको ह्याट्रिक गरिन् । उनले चार महिना अघि आफैंले स्थापित गरेको राष्ट्रिय कीर्तिमान समेत भंग गर्दै नयाँ कीर्तिमान कायम गरिन् ।

जयरानी एथलेटिक्स तर्फ हर्डल्स विधाकी खेलाडी हुन् । पोखरा उनलाई फलदायी रह्यो । उनले आफ्नो विधामा मात्रै होइन कहिल्यै चाख नदेखाएको लङ जम्पका समेत राष्ट्रिय कीर्तिमान बनाउन सफल रहिन् ।

जयरानीकै शब्दमा भन्ने हो भने नवौंको लङ जम्प विधालाई उनले सहभागिता जनाएर अनुभव बटुल्ने अवसरको रुपमा लिएकी थिइन् । तर यो विधामा प्रशिक्षण नै नगरी उनले सहभागीता जनाएको तीन वटै व्यक्तिगत स्पर्धामा राष्ट्रिय कीर्तिमान रच्दै स्वर्ण हात पारिन् । व्यक्तिगत तीन स्वर्ण र रिलेमा आर्मीलाई दुई स्वर्ण दिलाउँदै उनले सहभागिता जनाएको सबै ५ इभेन्टमा स्वर्ण जित्न सफल भइन् ।

हर्डल्समा आफ्नो समय सुधार गर्दै कीर्तिमानी गर्ने लक्ष्य राखेपनि लङजम्पमा भने स्वर्णको समेत आशा गरेकी थिइनन् । ‘यस्तो हुन्छ र ३ वटामा कीर्तिमानी गर्छु भनेर त आश नै थिएन । तर भाग्य भनौं की के भनौं ३ वटामा कीर्तिमान नै बन्यो, ‘मुसुक्क मुस्कुराउँदै जयरानीले भनिन्, ‘मेरो टार्गेट ४ सय मिटर हर्डल्स र एक सय मिटर हर्डल्समा कीर्तिमानी गर्छु भन्ने थियो । मैले ति दुई वटामा कीर्तिमानी गर्छु भनेर नै ट्रेनिङ गरेको थिएँ । लङजम्पको चाहिँ कहिल्यैपनि प्रशिक्षण नै गरिन । यसमा पनि मेडल त लाग्छ तर स्वर्ण नै जित्छु भन्ने १ प्रतिशत पनि सोचेको थिइनँ ।’

कहिल्यै नसिकेको खेलमा समेत कीर्तिमान बनाउँदा जयरानी फुरुङ्ग छिन् । कीर्तिमान बनाउनुको श्रेय उनी आर्मीलाई दिन्छिन् । प्रदेशबाट आफुलाई प्रतिनिधित्व गराएको भए आज यो अवस्थामा आइनपुग्ने भन्दै उनले प्रदेश र विभागमा धेरै फरक पाएको सुनाइन् ।

आर्थिक अभावले च्याम्पियनसिम गुम्यो

‘विभागमा र प्रदेशमा धेरै नै फरक पाएको छु । पहिला यसरी अहिलेको जस्तो ट्रेनिङ थिएन । त्यो मात्रै कहाँ हो र ? मेरो घरदेखि गुरुहरुको घर निकै टाढा भएकाले आउजाउमै समस्या थियो ।’

बर्दियामा आफूलाई खेलक्षेत्रमा सुमित्रा चौधरी र विश्वराज चौधरीले ल्याएको बताइन् । ‘उहाँहरुले (विश्वराज र सुमित्रा) आफूले गरेजति र थाहा पाएजतिको प्रशिक्षण दिनुभयो । तर, खेल सामाग्री नै नभएर होला प्रदर्शनमा सोचेजस्तो सुधार हुन नसकेको । अहिले विभागमा आएदेखि प्रदेश भन्दा बढी नै सुविधा छ । खेल सामग्री देखि प्रशिक्षणको लागि कुनै समस्या छैन । ’ उनले भनिन्, ‘बाहिर भएको भए यस्तो गर्न सक्थें जस्तो लाग्दैन आफैंलाई । मलाई विभागभित्र आएर धेरै सजिलो भयो । खेल प्रशिक्षणका लागि कुनै समस्या नै भएन् ।’

विगतमा आर्थिक अवस्था कमजोर भएकै कारण खेलहरु गुमाउन परेको उनको भनाइ छ । विगतलाई सम्झँदै उनी भन्छिन्, ‘आर्थिक अवस्था कमजोर हुँदा कतिपय राम्रो गेमहरु गुमाए । प्रदेशबाट खेल्दा आफ्नो आर्थिक अवस्थाले नभ्याउने । मेरो घरको अवस्था कमजोर छ, भनेको समयमा पैसा ल्याउन सक्ने स्थिति नै थिएन । मेरो मात्रै होइन अहिले पनि प्रदेशबाट खेल्ने प्राय खेलाडीहरुको समस्या भनेकै यहि हो ।’

‘सबै धनी त हुँदैन नी । मलाई पनि केहि खेलहरु हुँदा त्यहि समस्या परेको थियो । एउटा च्याम्पियनसिप नै भएको थियो । पैसा अभावका कारण म सहभागिता हुन सकिन् । मेरा साथिहरुपनि यहि कारणले आउन पाएनन् ।’

आमा बुबासहित ११ जना परिवारमा उनी मात्रै खेलाडी हुन् । उनका ३ जना दाई र १ दिदीको विवाह भइसकेको छ । उनीसहित ४ जना घरमै छन् । ‘खेलकै माध्यमबाट आर्मीमा जोडिए । आर्मीमा आबद्ध भएको साउनमा चारवर्षमा टेकें । मेरो खेलमा पहिलादेखि नै राम्रो थियो । तर स्वर्ण पदक कुनैमा पनि टच भएन ।’

सातौंलाई सम्झँदै उनी भन्छिन्, ‘सातौंमा पर्सनल इभेन्टमा कुनैमा पनि मेडल टच भएन् । काठमाण्डौंमा जुनियर गेम खेल्न आउँदा नै आर्मीबाट खेल्न पर्छ भन्ने गरेको थियो । मेरो बाबाको चाहाना नै आर्मीमा जागिर खानु थियो । पछि आर्मीले नै खेलको कोटा पठाएर भर्ना गराइदियो, ’ त्यसैमा थपिन, ‘त्यतिबेला व्यक्तिगत स्पर्धामा मेडल टच गर्न सकिन । किनकि त्यतिबेला धेरै राम्रो खेलाडी थिए । आठौंमा प्रदेश नं. ५ बाट खेले त्यहाँपनि खासै राम्रो हुन सकेन ।’

सानैदेखि एथलेटिक्समा

‘मलाई खेल खेल्न निकै मन पर्थ्यो । हाम्रो स्कुल निमावि भएकै कारणले रनिङ शिल्डहरुमा कतै भाग लिन पाइन्न थियो । म ८ मा पढ्दा बल्ल हाम्रो विद्यालय मावि भएको थियो । एकदिन स्कुलमा दौड रहेछ, म घरमै बसेको थिएँ । दाई र म एउटै कक्षामा थियौं । अनि दाईले बेलुका घरमा आएर भन्नुभयो आज त दौड थियो नि स्कुलमा भनेर । म पनि दौडन्थे नि म त सबलाई जित्दिन्छु भने । अर्को दिन स्कुल जाँदा कोको दौडिन्छौ भन्दा म पनि गए र सबैलाई जितें ।’

राष्ट्रिय प्रतियोगितामा आफ्नो परिचय स्थापित गरिसकेकी जयरानी अब दक्षिण एसियाली खेलकुद र एसियाली खेल हुँदै ओलम्पिकसम्मको सपना बताउँछिन् । ‘अब एसियाली खेलकुद हुँदैछ । त्यसको लागि तयारी गर्नुपर्नेछ । अन्तर्राष्ट्रिय खेलमा अनुभव बटुल्दै पदक जित्ने सोचेको छु । हेर्दै जाउँ कहाँसम्म पुगिन्छ,’ उनले सुनाइन् ।

बर्दियाकै केशरीको प्रोत्साहन

जयरानीले सानो हुँदा बर्दियाकै केशरी चौधरीको नाम सुनेकी थिइन् । केशरी चौधरीले एक समय नेपाली एथलेटिक्समा तहल्का नै मच्चाएकी थिइन् । राष्ट्रिय क्रिकेट टोलीमा समेत समावेश केशरीको नाममा रहेको एथलेटिक्सको दुई राष्ट्रिय कीर्तिमान अहिले जयरानीको नाममा छ । हाल दुबईमा रहेकी केशरीले जयरानीको हौसला अभिवृद्धि गर्न नगदसहित प्रोत्साहन नै गरिन् ।

आफूले आदर्श मानेको खेलाडीले सम्मान गर्दा हौसला बढेको जयरानी बताउँछिन् । ‘केशरी दिदीको नाम सानो हुँदा धेरै सुनेको थिएँ । खेलमा लागेपछि दिदीजस्तो खेलाडी हुन्छु भन्ने सोच थियो । मैले वहाँसँग प्रतिस्पर्धा गर्न त पाइनँ, तर वहाँकै कीर्तिमान तोड्दा निकै खुसी छु । दिदीले पनि मलाई हौसला दिनुभएको छ, यसले मनोबल बढेको छ,’ जयरानीले सुनाइन् ।

पाँच स्वर्ण ३ कीर्तिमान

जयरानीले ४०० मिटर हर्डल्समा राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जितिन् । उनले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गरिन् । जयरानीले आफ्नै नामको कीर्तिमान सुधार गरेकी हुन् । चार महिनाअघि ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७ दशमलब २ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।

त्यसपछि १ सय मिटर हर्डल्स १५.६९ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै उनले दोस्रो स्वर्ण जितिन् । यसअघि जयरानीले यसै स्पर्धाको हिट चरणमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । उनले १५.१६ सेकेन्डमा दूरी पूरा गर्दै हिट चरणमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।

महिला लङ जम्पमा ५ दशमलव ५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितिन् । यसअघि कीर्तिमान राखेकी निशा चौधरीलाई पछि पार्दै जयरानीले स्वर्ण जितेकी थिइन् । गत असारमा निशाले ५ दशमलव ४७ मिटर जम्प गर्दै शिला चौधरीले सन् २०१८ मा राखेको ५ दशमलव ४५ मिटर जम्पको कीर्तिमानलाई भंग गरेकी थिइन् ।

जयरानीले चार गुणा १०० मिटर (४०० मिटर) रिलेमा पनि आर्मीको टोलीबाट स्वर्ण जितिन् । ४ गुणा ४०० मिटर रिले दौडमा पनि जयरानीले आर्मीलाई स्वर्ण दिलाइन् । अन्तिम स्पर्धा रहेको यस ४ गुणा ४०० मिटर रिले कुदेपछि उनी ट्रयाकमै ढलेकी थिइन् ।

June 22, 2024

अपहिल केडिसी रनमा नरेन्द्र र पूर्णलक्ष्मी पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकाद्वय नरेन्द्रसिंह रावत र पूर्णलक्ष्मी न्यौपाने राष्ट्रिय खुल्ला अपहिल केडिसी रनमा शनिबार पहिलो भएका छन् । २१ किलोमिटर दूरीको दौडमा नरेन्द्र पुरुषतर्फ र पूर्णलक्ष्मी महिलामा पहिलो भएका हुन् । नरेन्द्रले निर्धारित दूरी १ घण्टा १९ मिनेट ५१ सेकेन्डमा पूरा गरे । दोश्रो भएका करण रावलले १ घण्टा २१ मिनेट ५५ […]

June 22, 2024

राजपुरालाई हाफ म्याराथन उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबकी राजपुरा पछाईले राष्ट्रिय खुल्ला महिला हाफ म्याराथन प्रतियोगिताको‌ उपाधि जितेकी छिन् । राजपुरा १ घण्टा १९ मिनेटमा दौड पूरा गर्दै उपाधि जितेकी‌ हुन् । पुलिसकै राममाया बुढा दोस्रो भइन् । १ घण्टा २३ मिनेट १० सेकेण्डमा दौड पूरा गरकी थिइन्।नेपाल एपिएफ क्लब पुष्पा भण्डारी तेस्रो भइन्। १ घण्टा २५ […]

May 18, 2024

कान्तिपुर हाफ म्याराथन – राजपुराको ह्याट्रिक, दीपकलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी राजपुरा पछाईं र त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले १२ औं कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । राजपुराले लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्दा दीपक पहिलो पटक विजेता बनेका हुन् । महिलातर्फ राजपुराले १ घण्टा २२ मिनेट २५ सेकेन्डको टाइमिङ निकाल्दै उपाधि जितिन् । गत वर्ष उनी […]

Success

Thank you for your time.