default_image

3 years ago

September 16, 2022

नेपाल विरुद्ध भारत : मिडफिल्ड युद्धमा खेलको छिनोफानो

234 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

समूह चरणका सुरुवाती दुई खेलमा सहज जित आत्मसात गरेपनि भारतको प्रदर्शन विगतको जस्तो थिएन । प्रशिक्षक सुरेन क्षेत्रीले भारतले जितको नतिजा निकालेको कारण चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका थिए । समूह चरणको अन्तिम खेलमा बंगलादेशले भारतविरुद्ध एकपक्षीय प्रदर्शन गर्दै इतिहासकै पहिलो हार चखायो, तर पनि प्रशिक्षक क्षेत्री टोलीको प्रदर्शनलाई लिएर खास चिन्तित छैनन् ।

बंगलादेशविरुद्ध ३-० को फराकिलो हार बेहोर्दा भारतको आक्रमण शून्यजस्तै थियो । काउन्टर अट्याकमा पाएका केही अवसर बाहेक भारतले खासै डरलाग्दो अवसर नै सिर्जना गर्न सकेको थिएन । त्यसअघिका खेलमा भने भारतको मिडफिल्डले खेल जिताएको थियो । आक्रमणमा भारत यसपटक निकै फितलो देखिएको छ ।

प्रशिक्षक क्षेत्रीले सबै खेलमा आफ्नो सुरुवाती ११ परिवर्तन गरेका छन् । भारतले जितेका दुवै खेलमा बेन्चबाट मैदान प्रवेश गर्दै गोल गरेकी फरवार्ड सौम्या गुगुलोथले कुनै खेल सुरुवात गर्न पाएकी छैनन् । बंगलादेशविरुद्ध पनि उनी ५६ औं मिनेटमा मात्र मैदान प्रवेश गरेकी थिइन् । उनले केही अवसर पनि सिर्जना गरिन् । नेपालविरुद्ध उनले सुरुवात गर्ने सम्भावना छ ।

भारतले यस प्रतियोगितामा ४-३-३ को रणनीति अबलम्बन गर्दै आएको छ । आक्रमणमा रहेका तीन खेलाडी भने एक आपसमा पोजिसन परिवर्तन गरेर खेल्ने क्षमता राख्छन् । तर दाङमेइ ग्रेसबाहेक रेनु रानी र सन्ध्या रंगनाथनको प्रदर्शन अपेक्षित रहन सकेको छैन । भारतको कमजोर आक्रमणलाई मिडफिल्डको उत्कृष्ट प्रदर्शनले छायाँमा पारेको छ । बंगलादेशविरुद्ध त्यही मिडफिल्ड नचल्दा भारत दबाबमा पर्यो ।

बंगलादेशले ३ खेलाडी सम्मिलित मिडफिल्डको सहयोगमा भारतीय मिडफिल्डलाई चुप राख्यो । मारिया मान्दालाई रक्षात्मक मिडफिल्डमा खेलाएको बंगलादेशले मोनिका चक्मा र सन्जिदा अख्तरलाई पनि रक्षात्मक भूमिकामा राम्रो प्रयोग गर्यो । आक्रमणमा विंगरको भूमिकामा देखिने मोनिका र सन्जिदाले बल भारतसँग हुँदा मारियाको दायाँ र बायाँ भागमा रहेर भारतीय मिडफिल्डलाई जम्न दिएनन् । पूरा ९० मिनेट नै लगातार बलमा डटेका यी तीन खेलाडीको मिहिनेतलाई कप्तान सविना खातुनले आक्रमणमा लगातार अवसर सिर्जना गरेर सहयोग गरिन् ।

भारतका लागि सुरुवाती दुई खेलमा जमेको मिडफिल्ड भने बंगलादेशविरुद्ध चल्न सकेन । अन्जु तामाङ, रतनबाला देवी र प्रियंका देवी नाओरम रंगशालाको मिडफिल्डमा हराएको देखिन्थे । बंगलादेशको तीव्र गतिमा दबाब राख्ने रणनीतिविरुद्ध उनीहरु टिक्न सकेनन् । रतनबाला दोस्रो हाफको सुरुवातमै परिवर्तन भइन् भने अन्जुले विगतका खेलझैं आक्रमणमा मिल्ने अवसर नै पाइनन् । बंगलादेशी प्रशिक्षक गोलाम रोब्बानी छोटोनको मिडफिल्ड कब्जा गर्ने रणनीति सफल भयो ।

नेपालले यदि सेमिफाइनलमा नतिजा आफ्नो पक्षमा पार्ने हो भने भारतीय मिडफिल्डलाई रोक्नुपर्ने हुन्छ । तर हालसम्मको खेल हेर्दा नेपाली टोली भारतविरुद्ध मिडफिल्डमा तुलनात्मक रुपमा निकै कमजोर देखिन्छ । नेपालले जारी प्रतियोगितामा ४-४-२ को रणनीतिमा खेल्दा दीपा शाही र सरु लिम्बुलाई खेलाएको छ । दुवै आफ्नो करिअरमा आक्रामक मिडफिल्डरको भूमिकामा खेल्दै आएकोमा यसपटक सेन्टर मिडफिल्डको भूमिकामा छन् । सुरुवाती दुवै खेलमा निकै कम दबाब खेप्नुपरेको यो मिडफिल्डलाई भारतको तीन मिडफिल्ड खेलाडी रोक्न हम्मे-हम्मे पर्ने देखिन्छ ।

यसैपनि रक्षात्मक रुपमा कमजोर सेन्टर मिडफिल्डमा नेपालका विंगर अनिता बस्नेत र अनिता केसीले खास सहयोग गर्ने देखिन्न । पछिल्ला खेलमा अधिकांश समय आक्रमणमै बिताएका यी दुई आफ्नो आक्रामक खेलका लागि परिचित छन् । रक्षात्मक रुपमा केही सहयोग पुर्याउन सक्ने विमला चौधरी आजको खेलमा विकल्प हुन सक्छिन् । सेन्टर मिडफिल्डमा इन्दिरा राई र दीपा राई पनि रक्षात्मक रणनीतिका लागि प्रयोग हुने सम्भावना छ ।

नेपालले पुरानै सुरुवाती ११ लाई निरन्तरता दिँदा ‘हाई रिस्क हाई गेन’ अर्थात् ‘धेरै जोखिम या त धेरै सफलता’ को पथ पनि लिन सक्छ । सेन्टर मिडफिल्डमा आक्रामक खेलाडी राख्दा विपक्षी डिफेन्सलाई दबाब दिन सकिन्छ । तर त्यसका लागि आक्रमणमा खेल्ने खेलाडीले पाएको अवसर चुकाउनु हुँदैन । सँगसँगै सेन्टर मिडफिल्डका खेलाडी रक्षात्मक जिम्मेवारीका लागि पनि चलायमान रहनुपर्छ ।

भारतले सेन्टर डिफेन्समा कप्तान आशालता देवी र मनिषा पन्नालाई प्रयोग गरेको छ । राइट ब्याकमा भने भारतले सबै खेलमा खेलाडी परिवर्तन गरेको छ । डालिमा छिब्बर उपलब्ध नरहेपछि कमजोर भएको उक्त पोजिसनमा मिचेल कास्टान्हा, जुली किशन र ऋतु रानीलाई प्रयोग गरिएको छ । लेफ्ट ब्याकमा भने रन्जना चानु नै निरन्तर रहनेछिन् ।

यता नेपालले डिफेन्समा कुनै परिवर्तन गर्ने देखिन्न । हिरा भुजेल र अमृता जैशी लेफ्ट र राइट ब्याकमा रहँदा पुनम जर्घा मगर र गीता राना नै सेन्टर डिफेन्समा रहनेछन् । कप्तान एन्जिला तुम्बापो सुब्बालाई अन्जना रानामगरले गोलरक्षक पोजिसनमा प्रतिस्पर्धा दिएपनि प्रशिक्षक थापाले पुन: एकपटक एन्जिलामाथि विश्वास राखेका छन् । महत्त्वपूर्ण खेलमा एन्जिलाको प्रदर्शन पछिल्लो समय सम्झनलायक रहेका छैनन् । विराटनगरको साफ फाइनल, १३ औं सागको फाइनल खेल र फिलिपिन्सविरुद्ध एसियन कप छनोटको खेल लगायतमा उनको प्रदर्शन कमजोर रहेको थियो । उनलाई पनि आज भारतविरुद्ध बलियो प्रदर्शनको खाँचो छ ।

नेपालले आक्रमणमा सावित्रा भण्डारीको फिटनेस अवस्था हेरेर निर्णय गर्नेछ । अमिशा कार्कीले आक्रमणमा स्थान बनाउने पक्का छ । सावित्राले सुरुवात गर्न नसके रेखा पौडेल र रश्मीकुमारी घिसिङमध्य एकजना खेल्नेछन् । युवा र अनुभवी खेलाडीको सम्मिश्रणमा बलियो देखिएको नेपाली टोली कागजमा खेलाडी स्तर हेर्दा केही कमजोर पक्कै छ । तर घरेलु मैदान र समर्थकमाझ नेपाली टोली बलियो हुनेछ । बंगलादेशविरुद्ध हारले पिडामा रहेको भारतमाथि थप समस्या दिने नेपाली टोलीको प्रयास रहनेछ ।

यो पनि :

भारतविरुद्ध खेलअघि यस्तो छ सावित्राको अवस्था

नेपाललाई भारतविरुद्ध इतिहास रच्ने अवसर

November 14, 2025

नव जागृती र कार्केविहार राष्ट्रिय लिगमा छनोट

रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]

November 14, 2025

फुटबल विजेताललाई नगद होइन, बोरा–बोरा अलैँची 

दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

Success

Thank you for your time.