default_image

4 years ago

April 5, 2020

उपेन्द्रमान सिंह – ‘फुटबल बाहेक केही जानिन’

138 views

0 Bookmark

कप्तान कथन

उपेन्द्रमान सिंह, पूर्वकप्तान – राष्ट्रिय फुटबल टोली

‘जो खेल्छ, त्यो बिग्रिन्छ ।’ मेरो बाल्यकाल पनि यस्तै सामाजिक सोच बोक्नेहरु कै घेराबन्दीमा बित्यो । त्यसैले मलाई फुटबल खेल्न त्यति सजिलो पनि भएन । खेलप्रति यस्तो नकारात्मक सामाजिक चेत भएको समयमा समेत मैले सानैदेखि फुटबल खेल्न भने थालेँ । त्यसैले प्रहरी विद्यालयमा पढ्न पाएको दिनलाई म सधैं धन्यवाद दिन्छु । त्यहाँ भर्ना भएपछि मात्र राम्रोसँग फुटबल खेल्न थालेँ । मेरो भाग्य, बुवा प्रहरीमा कार्यरत हुनुहुन्थ्यो ।

फुटबल खेल्ने मैदान नै भएको सो विद्यालयमा कक्षा ५ देखि पढ्न थालेपछि नै यो खेलका गुणहरु सिक्ने अवसर पाइयो । त्यही बेलादेखि नै म गोलकिपरका रुपमा खेल्न थालेँ । जिम्न्यास्टिक समेत खेल्ने हुँदा किपिङ गर्न सजिलो पनि भयो । जसले गोलकिपरमा हुनुपर्ने लचकताका लागि मद्दत गर्यो ।  त्यहाँ मैदानदेखि प्रशिक्षणसम्म सबै सुविधा थियो ।

कक्षा १० हुँदा हो सायद, हामी बाल दिवस कपमा विजयी भएका थियौँ । त्यो जितपछि हामीले बंगलादेशमा मैत्रीपूर्ण खेल खेल्ने मौका पायौं । १६ वर्षमुनिको टोलीका लागि दिइने प्रशिक्षणका लागि म छनोट भए । जर्मन प्रशिक्षक होल्गर ओभरम्यानसँग सिक्ने मौका पाएँ । त्यसपछि फुटबललाई नै करियर बनाउने यात्रा सुरु भयो । पहिलो अन्तर्राष्ट्रिय खेल भारतविरुद्ध यु–१६ टोलीबाट खेलेको याद अझै ताजा छ ।

त्यसबेला खेलेका दुई मध्ये हामीले एउटा खेल जित्यौँ । दोस्रो खेल भने टाइब्रेकरमा हार्यौं । त्यही खेल हारेको कारण हामीले एसियन युथ कपमा खेल्न पाएनौँ । तर त्यही प्रतियोगिताले खेलप्रति रहेको मेरो परिवारको नकारात्मक धारणामा परिवर्तन ल्याइदियो, अनि घरबाट सहयोग हुन थाल्यो । छोराले खेलेर पनि राम्रै गरेको छ है भन्ने सोच पलायो । त्यस हिसाबले त्यो समयमा म भाग्यमानी पनि हो ।

सन् १९९१ को दक्षिण एसियाली खेलकुदबाट मेरो अन्तर्राष्ट्रिय खेल जीवन सुरु भयो । श्रीलंकाविरुद्ध मैले डेब्यू म्याच खेलेँ । सन् २००० देखि २००५ सम्म त म राष्ट्रिय टोलीको कप्तान नै भएँ । सन्यास लिँदा पनि म कप्तान नै थिएँ । कप्तान हुँदा जिम्मेवारी धेरै नै हुन्थ्यो । मात्र खेलाडीका रुपमाभन्दा कप्तानको भूमिकासहित मैदानमा छिर्दा थप अभिभारा त रहन्थ्यो नै । साथै सबै खेलाडीलाई मैले विचार पु¥याउनु पर्छ है भन्ने सोच राखेर पनि खेल्नु पथ्र्यो ।

म कप्तान हुँदा नेपाली फुटबलमा विवाद पनि देखिए । जसले मलाई अप्ठेरोमा पार्यो । विवादका कारण राष्ट्रिय टोलीमा धेरै नै समस्या आएको थियो । राष्ट्रिय टोलीले खुला मञ्चमा अभ्यास गर्नु पर्यो । त्यस्तो अवस्थामा एउटा खेलाडीको सोच कस्तो हुन्छ भन्ने कल्पना त भोग्ने खेलाडीले मात्र होइन सबैले गर्न सक्छन् । त्यो समय सम्झँदा अहिले पनि दुःख लाग्छ । नेपाली फुटबल निकै दुःख पाउँदै अगाडि बढेको छ ।

अहिले पनि मलाई आफूले दोस्रो पटक खेलेको छैठौं साफको याद निकै आउँछ । त्यो सन् १९९३ बंगलादेशमा भएको खेल हो । हामीले साफ उपाधि जित्दाको त्यो खुसी  त कहिल्यै पनि बिर्सन सकिन्न । फाइनलमा टाइब्रेकरमा भारतसँग जित्दाको क्षण त सम्झनलायक छ । त्यो सम्झँदा अहिले पनि म उत्साहित हुन्छु । त्यो त सम्झनामा सम्हालेर राख्नुपर्ने इतिहास नै हो । त्यसबेला नेपालले एउटै मात्र स्वर्ण पदक फुटबलमा जितेको थियो । त्यसमा आफूले पेनाल्टी रोकेको सुनाउन पाउँदा अहिले पनि मन खुशीले भरिलो बनेर आउँछ ।

अर्को आठौं साफको फाइनलमा हामी जितको नजिक पुग्दा समेत हार्न विवस भयौं । पूरा समय बल नेपालकै पक्षमा थियो । दुई वटा पहेँलो कार्ड पाएर मैले त्यो खेल गुमाएको थिएँ । त्यसमा खेल्न नपाउँदाको दुःख अझै छ । माल्दिभ्सलाई हामीले सेमिफाइनलमा जितेका थियौँ । बंगलादेशसँग भने फाइनलमा पराजित हुन पुग्यौँ । मैले कार्ड नखाएको भए, खेल्न पाएको भए त्यो खेल जित्न सक्थ्यौँ कि जस्तो पनि लाग्छ । तर, बितेका दिन कहिल्यै फर्कदैनन् ।

देशमा नाममा खेल्न पाउँदाको आनन्दले फुटबलर भएकोमा गर्व लाग्छ । सबैले चाहेर पाउने अवसर पनि त होइन यो । फुटबल खेलाडी भएर राष्ट्रका लागि खेल्न पाउनु नै मेरो सफलता हो । खेल्न पाएपछि कमाएको नाम, इज्जत अमूल्य छ । रंगशालामा खेल्दाको समय दर्शकले मायाका साथ गरेका हुटिङको सद्भावले खुशी लाग्छ । सबैले नेपाल नेपाल भन्दै कराएको अझै याद आउँछ । जहाँ जन्मिएपनि एउटा फुटबलर पाउने सम्मान यस्तै हुन्छ जस्तो लाग्छ ।

हामी खेल्ने समयभन्दा अहिले फुटबल सबै दृष्टिकोणबाट राम्रो छ । ३-४ वर्षदेखि लिग नहुँदा भने खल्लो लाग्छ । हामीले नाम इज्जत र देशका लागि खेल्यौँ । अहिले खेलेरै बाँच्न सकिने दिन आएको छ । क्लबले ५० हजारदेखि १ लाख रुपैयाँसम्ममा खेलाडी अनुबन्ध गर्न थालेका छन् । कुनै खेलाडीले त एउटै खेलको २० हजार रुपैयाँ पनि लिइरहेका छन् ।

मलाई मनपर्ने खेलाडी भनेको ओलिभर कान हो । जर्मन गोलकिपर कान निकै आँटिला थिए । नेपाली खेलाडीमा म मणि शाहको फ्यान हुँ । सन् १९९१ देखि उहाँसँगै खेल्न पनि पाउँदा निकै खुशी लागेको थियो । मलाई हामीसँगै खेल्ने देवनारायण चौधरीको पनि खुबै याद आउँछन् । उसमा निकै पागलपन थियो । मैदानमा पनि यस्तो कराउँथ्यो । सबै खेलाडीलाई यता उता भन्दै कराइरहेको हुन्थ्यो । उसको हेडिङ नै सबैले सम्झन्छन् । उस्तै परे सेन्टरबाटै पोस्टसम्म हेडिङ हानिदिन्थे । उसले गल्ती गर्दा म गाली गर्थे । मैले गाली गर्दा उल्टो मलाई गाली गथ्र्यो । रमाइलो थियो त्यो समय

सन् १९९४ मा बैंककमा पनि गएर फुटबल खेलें । सन् १९९७ मा गोवा, सन् २००१ मा रमरगञ्जबाट पनि खेलेँ । त्यो समय पाँच सय डलर, हजार डलरमा क्लबमा संलग्न हुनु चानचुने कुरो थिएन । मैले त्यति रकम लिएर खेलेँ । हामीले पाउने सम्मानले पनि थप केही राम्रो गर्न उर्जा दिने रहेछ । सन् १९९३ मा बेस्ट गोलकिपर पाउँदा त्यसपछिका दिनमा मलाई निकै हौसला मिल्यो । पछि गोरखा दक्षिणबाहु, त्रिशक्ति पद, रुपक स्मृति, जेसिसले दिएको ट्यालेन्ट अफ नेसन अवार्ड लगायत पुरस्कार र सम्मान पनि पाएँ । खेलाडीले राष्ट्रका लागि खेलेर पाउने खुशी नै मानिसहरुले गर्ने सम्झना नै त हो । पुरस्कार पनि त्यसैको एउटा रुप हो । नेपालमै पहिलोपटक खेलाडी भएर कार पुरस्कार पनि पाएँ ।

आफ्नो खेल जीवन सम्झँदा अहिले निकै खुशी लागेको छ । खेलाडी भएर के पाए के गुमाए भन्दा पनि दर्शकबाट पाएको माया नै सबैभन्दा प्यारो लाग्छ । फुटबलर नै भएर कहिँले कहाँ कहिले कहाँ पुगियो । त्यो समय आँखामा फुटबलभन्दा अरु केही भएन । अहिले पनि फुटबलमै छु । खेल्दा मात्र होइन । खेलबाट सन्यास लिँदा पनि खेलसँगै जोडिएको छु । प्रशिक्षक पनि भएँ ।

मध्यपुरमा क्लब नै खोलेर पनि ‘डी’ डिभिजनबाट ‘ए’ डिभिजनसम्म पुर्यायौँ । अहिले ‘बी’ मा छौँ । यसैले सबै रुपमा अहिले पनि फुटबलमै जोडिएको छु । फुटबलमा लागेको २८ वर्ष भयो । यो २८ वर्षमा अहिले खेलसँग जोडिएकोले खुशी छु । १५ वर्षजति खेलेँ । सन् २००५ मा सन्यास लिएँ । त्यसपछि प्रशिक्षणमा लागेँ । अहिले व्यवस्थापनमा पनि छु । जतिसम्म सक्छु फुटबलमै लागिरहन्छु । मैले जीवनमा जानेको यहि फुटबल नै त हो ।

साभार– फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक स्मारिकाबाट गरिएको हो । मिसनसँग हाम्रो खेलकुद डटकमले अनलाइन सहकार्य गरेकाले आउने दिनमा स्मारिकामा रहेका अन्य लेख क्रमश: प्रकाशित हुनेछ ।

समर्पण फुटबलरका अन्य लेखहरु :

गणेश थापा – ‘फुटबलप्रति कुनै गुनासो छैन’

बाबुराम पुन – ‘मनबाट देशको माया कहिल्यै टाढा गएन’

अच्युतकृष्ण खरेल- ‘जति खेलियो कप्तानी नै गरियो’

राजुकाजी शाक्य – ‘रगत मै बगेको छ, फुटबल’

दीपक अमात्य – ‘जहाँ बसे पनि चिन्ता नेपाली फुटबलकै’

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.