5 years ago
April 10, 2020
कप्तान कथन
– अनिल गुरुङ, पूर्वकप्तान – नेपाली राष्ट्रिय फुटबल टोली
फुटबलरका रुपमा हेर्ने हो भने मलाई भाग्यमानीको दर्जामा राखे हुन्छ । केही समयअघि मात्र राष्ट्रिय टोलीबाट सन्यास लिएँ । मैले खेलाडी बन्न आफ्ना पूर्वज झैं कहिल्यै संघर्ष गर्नु परेन । यसअर्थमा म आफैंलाई भाग्यमानी मान्छु । मेरा पूर्वज झैं खेलेर बाँच्ने आधार तयार पार्न पनि संघर्ष गर्नु परेन । यस अर्थमा पनि म भाग्यमानी नै हुँ ।
मेरा बुवा भारतीय सेनामा कार्यरत हुनुहुन्थ्यो । बुवा मात्र कहाँ हो र, बुवाका पाँचै जना दाजु–भाइ पनि भारतीय सेनामै कार्यरत । सबैको चाहना मलाई पनि लाहुरे नै बनाउने थियो । त्यसैले होला खेलमा लाग्न हौसला नै मिल्यो । लाहुरे चाहिने जस्तो बलिष्ठ शरीर बनाउन नै सही । मेरा दाई र दिदी बुवासँगै भारतमा बस्नु भयो । म भने पुस्तैनी थलो स्याङ्जाको दरौसीमा नै हुर्कें । ४ कक्षाभन्दा माथि पढ्न भने पोखरा झरेँ । त्यसपछि मेरो खेल जीवनमा पंखेटा नै लाग्यो ।
विद्यालयस्तरीय हरेक खेलमा मेरो सहभागिता रहन्थ्यो । चाहे फुटबल होस् वा एथलेटिक्स । म त अलराउण्ड खेलाडी नै थिएँ । मैले जुन विद्यालयबाट फुटबल खेलें सधैं पहिलो नै भइयो । साथै टोले कपहरुमा पनि खेलिन्थ्यो नै । मेरो खेल निखार्ने पोखराको सहारा क्लबको योगदानलाई पनि बिर्सन सक्दिन ।
सहारा क्लबले एकेडेमी स्थापना गरेपछि प्रशिक्षणका लागि खुल्ला आव्हान गरियो । सुरुमा ४ सय जना छानियौं । त्यो समूहलाई पछि ३० जनामा घटाइएको थियो । एकेडेमीमा बसेर मैले कृष्ण थापा, शम्भु केसी जस्ता गुरुसँग सिक्ने मौका पाएँ । त्यसले मलाई एउटा कुसल फुटबलर बन्न असाध्यै मद्दत पनि पुर्यायो ।
सन् २००७ मा राष्ट्रिय टोलीको जर्सी पहिरिनु अगाडि मैलै यु–१९ र यु–२३ मा राष्ट्रको प्रतिनिधित्व गरिसकेको थिएँ । दशौं दक्षिण एसियाली खेलकुदमा यु–२३ टोलीको सदस्य भएर खेल्ने मौका पनि पाएँ । तर, पाकिस्तानविरुद्धको खेलमा १–० ले अगाडि रहेको बेला असम्भव झैं लाग्ने आत्मघाती गोलका कारण हामी बराबरीमा मात्र आएनौं, खेल नै गुमायौं । त्यो सोच्दा अहिले पनि चित्त दुख्छ ।
सन् २००७ मा मस्कटमा ओमानविरुद्ध खेलिएको विश्व कप छनोट खेलबाट म राष्ट्रिय टोलीको रातो जर्सीमा पहिलो पटक सजिएँ । तर, आफ्नो ‘डेब्यु’ खेल नै २–० ले गुमाउँदा खल्लो लाग्ने त भयो नै । त्यसपछि राष्ट्रका लागि ४३ अन्तर्राष्ट्रिय खेल खेल्दा कुल ९ गोल पनि गरें । विश्वकप छनोट चरणमा घरेलु मैदानमा गोल गर्ने पहिलो भाग्यमानी खेलाडी पनि बनें ।
सन् २००६ मा किर्गिस्तानविरुद्ध यु–१९ टोलीबाट खेल्ने मौका पाएको थिएँ । सन् २००९ मा प्रधानमन्त्री कप जित्दा भने अति खुशी लागेको थियो । फिफा–एएफसीले आधिकारिक मान्यता नदिएपनि सो प्रतियोगितामा राम्रा–राम्रा टोलीको सहभागिता थियो । अघिल्लो दिन सेमिफाइनल जितेको हामीले भोलिपल्टै फाइनल पनि जित्यौं । त्यो फाइनल खेल्दा कता–कता दशरथ रंगशाला हाम्रा लागि सानो भइसकेको हो कि भन्ने पनि लाग्यो ।
क्लबस्तरिय फुटबलमा मैले ब्रिगेड ब्वाइज,थ्री स्टार क्लब , मनाङ मर्स्याङ्दी र एनआरटीका लागि खेलेँ । सन् २००९ देखि ११ सम्म तीन सिजन भारतको आइ लिगमा खेलेपछि फेरी मनाङमै आबद्ध भएँ । अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएपनि राष्ट्रियस्तरका खेलमा भने अझै सक्रिय नै छु । सन् २०१५ मा म राष्ट्रिय टोलीको कप्तान चुनिए, एउटा खेलाडीको सबैभन्दा ठूलो सपना पुरा भए जस्तै लाग्यो ।
सन् २०१८ मै एशियन छनोट चरणमा फिलिपिन्ससँग खेलेपछि मैले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे । दशरथ रंगशालामा आफ्ना समर्थकहरु माझ खेलबाट बिदा लिने सपना पुरा हुन सकेन । त्यस्तो अवसर गुमाउनु पर्दा मन त रुन्छ नै । हाम्रा पूर्वजले समेत पाएको मौका मैले यति समृद्धकालमा मेरो भाग्यमा लेखिएको रहेनछ । विविध कारणले गर्दा लिग नियमित हुन सकिरहेको छैन । गोल्डकप र अन्य नकआउट प्रतियोगितालाई आधार मानेर राष्ट्रिय टोली बनाउनु परिरहेको छ । नेपालको फुटबलले अब योभन्दा दूर्गति व्यहोर्न नपरोस्, यही कामना छ ।
लाग्छ, खेलेर मैले माया गर्ने समर्थकहरु पनि निकै कमाएको छुँ । नाम र दामको कमी हुन दिएन, यो खेलले । आइ लिग खेल्दा तीन सिजनकै लागि नै ६३ लाख रुपैयाँ हात पर्यो । नेपाली खेलाडी भएर यस्तो आम्दानी कल्पना बाहिर नै हुनसक्ला । तर, मेहनत गर्न सके असम्भव भन्ने केही हुँदैन । एक सिजनका लागि सिलोङ लाजोङका लागि आइ लिग खेल्छु भनेर गएको मलाई एकै पटक तीन सिजनका लागि अनुबन्धित गरियो । विदेशी भूमिमा मलाई मात्र होइन, सारा नेपाली खेलाडीमाथि गरिएको विश्वासको रुपमा लिन्छु, म त्यसलाई ।
हुन त मैले युकेमा पनि खेल्न ट्रायल दिएँ तर सफल भइन । तरपनि लाग्छ मेहनत गरे अवश्य फल मिल्छ । आइ लिगमा सिलोङ लाजोङले त्यति धेरै रकम दिएपछि मेरो दिमागमा कसरी राम्रो खेलेर त्यो विश्वासलाई साकार पार्ने नै भन्ने घुमिरहन्थ्यो । मैले भाइचुङ भुटियाको इस्ट बंगाल र सुनील क्षेत्रीको डेम्पोविरुद्ध गोल पनि गरेँ । भर्खर दोस्रो श्रेणीबाट माथि उक्लिएको टोलीलाई सम्मानित स्थान दिलाएँ । लाग्छ, ममाथि गरिएको विश्वासलाई पुरा गरें ।
हुनत मेरा बुवाको रासन कार्डको आधारमा मैले भारतबाट पनि खेल्न पाउने रहेछुँ । हुनसक्थ्यो, भारतको राष्ट्रिय टोलीबाट खेलेको भए नाम र दाम अझै बढी पनि कमाइन्थ्यो । यस्तै लाग्छ कहिले काहीँ । तर, त्यसमा मलाई कुनै पछुतो छैन । गर्व छ बरु, नेपालको रातो जर्सीमा सजिने अवसर पाएँ । मैले नेपालका लागि खेलेर कमाएको समर्थकको संख्या पनि कम छैन ।
फेसबुक मै झन्डै डेढ लाख फ्यान फलोअर्स हुनु चानचुने कुरो पनि होइन । र, पनि म सेलिब्रेटि भएँ भन्ने घमण्ड पनि कहिल्यै रहेन । तर, आजकालका भाइहरु अलि बढी व्यावसायिक भएका हुन् कि ? सफलताको घमण्डले उनीहरुलाई चाँडै छुन्छ कि जस्तो चाहीँ लाग्छ । कुनै पनि खेलाडीका लागि घमण्ड राम्रो होइन । यसले समभन्दा अगाडि ‘करियरमा ब्रेक’ लगाउँछ ।
मनमा सधैं नेपालले साफ च्याम्पियनसिप जितोस् भन्ने कामना छ । जुन मैले खेल्दा सम्भव हुन सकेन । सन् २०१३ मा हामी जित नजिक पुगेका पनि थियौं । तर, आफ्नै मैदानमा अफगानिस्तानसँग सेमिफाइनलमा हार्दा आँखा र मन थाम्न सकिएन । आँसुले ओठ भिजायो तर, मौका बारम्बार आउँदैन भन्ने पाठ भने सिकियो ।
जीवन नै हो, चलिरहन्छ नै । हिजो हाम्रा दिन थिए, भोलि अन्य कसैको । भोलिका दिन यो सफलता अवश्यै हात पर्छ भन्ने विश्वास मनमा गडेकै छ । खेलाडीका रुपमा मैदानमा सक्रिय नरहेपनि बालबालिकालाई यो खेलमा लाग्न प्रोत्साहित गरिरहन्छु । भिन्दै कुरा, बाँच्नका लागि अरु उद्यम नै किन गर्न नपरोस् ।
साभार– फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक स्मारिकाबाट गरिएको हो । मिसनसँग हाम्रो खेलकुद डटकमले अनलाइन सहकार्य गरेकाले आउने दिनमा स्मारिकामा रहेका अन्य लेख क्रमश: प्रकाशित हुनेछ ।
गणेश थापा – ‘फुटबलप्रति कुनै गुनासो छैन’
बाबुराम पुन – ‘मनबाट देशको माया कहिल्यै टाढा गएन’
अच्युतकृष्ण खरेल- ‘जति खेलियो कप्तानी नै गरियो’
राजुकाजी शाक्य – ‘रगत मै बगेको छ, फुटबल’
दीपक अमात्य – ‘जहाँ बसे पनि चिन्ता नेपाली फुटबलकै’
उपेन्द्रमान सिंह – ‘फुटबल बाहेक केही जानिन’
बालगोपाल महर्जन – ‘खेलाडी जीवनभन्दा प्रशिक्षक बन्न कठिन’
हरि खड्का- ‘फुटबलको नशाले कहिल्यै छोड्दैन’
December 5, 2024
दिपक बोहोरा,पाँचथर छ वर्ष पछि आयोजना हुन लागेको फाल्गुनन्द गोल्डकपमा १० टोलीको सहभागिता रहने निश्चित भएको छ। योसँगै आयोजक फिदिम स्पोर्टिङ क्लबले पुरस्कार राशी दोब्बर बृद्धि गरेका छन् । सदरमुकाम फिदिममा बिहीवार पत्रकार सम्मेलन मार्फत आयोजकले प्रतियोगिताको जानकारी दिएको छ। फाल्गुनन्द गोल्डकपको ११ औं संस्करण पुस ६ गतेबाट १५ गते सम्म फिदिम माविको खेल मैदानमा […]
December 4, 2024
हिमाल खरेल, बिर्तामोड दस दिनपछि हुने बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि अस्थायी प्यारापिट निर्माण सम्पन्न भएको छ । १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ । त्यस्तै, प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि […]
December 4, 2024
एजेन्सी – बार्सिलोनाले स्पेनिस ला लिगामा मंगलवार सानदार जित निकालेको छ। शीर्षस्थानको बार्सिलोनाले उसकै मैदानमा मालोर्कालाई ५-१ ले हराउँदै दोस्रो स्थानको रियल म्याड्रिडसँगको अंक दूरीलाई पुनः बढाएको छ। बार्सिलोनालाई सहज जित दिलाउन राफिन्हाले २, फेरान टोरेस, फ्रेंक डि जोङ र पोउ भिक्टरले समान १ गोल गरे।मालोर्काका भेडाट मक्यूले १ गोल फर्काए । बार्सिलोनाले १२ औं […]