default_image

4 years ago

April 13, 2020

रमा सिंह – ‘नियम बनेपछि सारी लगाएरै फुटबल खेलौंला’

कप्तान कथन – रमा सिंह, पहिलो कप्तान – नेपाली राष्ट्रिय महिला फुटबल टोली कुनै बेला फुटबल खेल मात्रै नभएर नेपालको खेल संस्कृति नै बनेको थियो । सन् १९९० को दशकमा फुटबल प्रतियोगिता हेर्न रंगशाला पुग्ने जमात झैं घर–घरमा रेडियो नेपालको कमेन्ट्री सुन्नेको संख्या पनि कम हुदैन थियो । लोकप्रियताको चरम उचाईमा पुगेकै बेला महिला फुटबलको […]

116 views

0 Bookmark

कप्तान कथन

– रमा सिंह, पहिलो कप्तान – नेपाली राष्ट्रिय महिला फुटबल टोली

कुनै बेला फुटबल खेल मात्रै नभएर नेपालको खेल संस्कृति नै बनेको थियो । सन् १९९० को दशकमा फुटबल प्रतियोगिता हेर्न रंगशाला पुग्ने जमात झैं घर–घरमा रेडियो नेपालको कमेन्ट्री सुन्नेको संख्या पनि कम हुदैन थियो ।

लोकप्रियताको चरम उचाईमा पुगेकै बेला महिला फुटबलको जन्मले फुटबलका पारखीहरूमा जाडोको घाममा भुटेको बदाम खाँदै मैदानमा बलको छलागं हेर्दा बेग्लै जोश जगाएउँथ्यो नै । साथै भविष्यमा अन्तराष्ट्रिय मैदानमा उत्साहजनक सहभागिता जनाउने संकेत पनि दिलाएको थियो । ३५ वर्ष अघि २०३९ साल फागुन १२ गते तत्कालिन राजा वीरेन्द्रको शुभ राज्याभिषेकको सम्झनामा मनाइने शिक्षा दिवसको दिन अन्तर कलेज भलिबल प्रतियोगिता भएको थियो ।

उक्त प्रतियोगितामा विजयी पद्म कन्या कलेज टोली प्रदर्शन खेल खेल्न रंगशालामै हुँदा एन्फाका तत्कालिन अध्यक्ष कमल थापाले फुटबल खेल्न आमन्त्रण गर्नुभयो । फिफाको निर्णय अनुसार राष्ट्रिय संघहरूले महिला फुटबल सुरू गर्नै पर्ने नत्र फिफाले दिने अनुदान रोक्ने विधान पास गरेको कारण हामीले आमन्त्रण पायौं । त्यसपछि काठमाण्डौ, धरान र पोखरामा ३ टोली तयार गरि मैत्री खेलबाट नेपालमा महिला खेलको सुरूवात भएको थियो ।

२०४० सालमा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुदमा समावेश भएपछि पहिलो पटक महिला फुटबलले राष्ट्रिय स्तरमा मान्यता पायो । त्यो नै नेपालमा महिला फुटबल प्रतियोगिताको श्रीगणेश थियो । विजयी भयो मेरै नेतृत्वमा रहेको बागमती अञ्चल । खेल जीवन आफैमा रोमान्चक मात्रै नभएर जिन्दगीको गोरेटोमा जित हासिल गर्न मेहनत गर्नैपर्ने सकारात्मक सोच जगाउने माध्यम पनि हो । अनुशासित जीवन र जस्तोसुकै प्रतिकुल परिस्थितिमा समेत जिन्दगीलाई गतिशिल बनाउने प्रेरणाको मुहान पनि हो, खेल जीवन । नत्र राष्ट्रिय खेलकुदमा खेल्न जिल्ला–जिल्ला जाँदा धर्मशाला र विद्यालयमा पराल ओछ्याएर अनि राडी ओढेर सुत्नपर्ने अवस्थामा पनि खेलाडीहरु आफ्नो होइन देशको मान बढाउन नै किन तल्लिन हुन्थ्ये र ?

त्यसको २ बर्ष पछि २०४२ सालमा वीरगन्जमा तेस्रो राष्ट्रिय खेलकुदमा पनि बागमती नै विजयी भयो । त्यसबेला नेपाल टेलिभिजन भर्खर स्थापना भएको थियो , स्वर्गीय राजा वीरेन्द्रको प्रत्येक वर्ष हुने ५ विकास क्षेत्रको भ्रमणको क्रममा मध्यमाञ्चल विकास क्षेत्रको भ्रमण चलेको थियो । म राजाको भ्रमण टोलीमा थिए साथै बागमती अञ्चलबाट फुटबल पनि खेल्दै नै थिएँ ।

भ्रमण टोलीमा भएको कारणले खेल अवधिभर म वीरगन्ज बस्न सक्ने अवस्था थिएन, म टोलीलाई बिदा गर्न बसपार्क पुगें । बसपार्कमा प्रशिक्षक बिनोद कर्माचार्य गुरूले सबै खेलाडीको सामु सेमिफाइनलमा खेल्नै पर्ने कसम खुवाए । आउँछु त भनेर वाचा गरेँ तर, जान सकिन । तर, टोली फाइनलमा पुग्यो । गुरूले फोन गरेर जसरी भए पनि आउन भने तर त्यसबेला नेपाल टेलिभिजनका हाकिम निर शाह जस्तो कठोर व्यक्तिलाई कसरी भन्नु ?

त्यसबेला बल्लतल्लत उहाँलाई मनाएर म वीरगंज गएँ । नाइट बस चढेर फाइनल कै बिहान वीरगंज पुगें । फाइनल खेलें । मेरै एक गोलले टोली विजयी भएपछि त्यही रात नाइट बस चढेर फर्किएँ । अनि फेरी राजाको सवारीको रिपोर्टिङमा लागें ।

त्यसदिन वन विभागअन्तर्गतका संस्थानको निरीक्षण कार्यक्रम थियो । जब राजा रानीको सवारी भयो , मलाइ देखेर राजा वीरेन्द्रले अचम्म मान्दै सोधी बक्सियो, ‘वीरगन्ज गएको हैन कसरी आइपुग्यौ ?’ अनि तत्कालिन बडामहारानीलाई भनिबक्सियो, ‘रमाकै गोलले बागमतीले जितेछ ।’ त्यतिबेला मलाइ फेरी भनि बक्सियो, युवाहरुको यस्तै मेहनतले देश विकाशको गतिमा दौडिन्छ, ‘किप इट अप’ । यस्तै प्रोत्साहनले नै म देश प्रतिको माया र कर्तब्यबाट कहिले विमुख हुन सकीन ।

त्यसबेला निर शाहसँग एक दिनका लागि बिदा माग्दा उहाँले भन्नु भएको शब्दले कहिले काहीँ मन चसक्क पनि पार्छ । ‘अब कहाँ तपाईंले छोटोछोटो हाफ प्यान्ट लगाएर फुटबल खेल्ने ? छाडी दिनुस् फुटबल–सुटबल !’ खेल्न छोड भन्दा मलाई रत्तिभर पनि रिस उठेन किनकी म आफै पनि फुटबल छोड्ने मनस्थितिमा थिएँ  र मेरो बुवाको पनि दुई डुगांमा खुट्टा नराख्न सल्लाह थियो । तर छोटोछोटो हाफ प्यान्ट लगाएर भन्ने शब्दप्रति मेरो दिमागले आपत्ति जनायो र ओठले फ्याट्ट बोल्यो । ‘नेपालमा सारी लगाएर फुटवल खेल्ने नियम बनेछ भने सारी नै लगाएर खेल्छु नि ।’

दोस्रो राष्ट्रिय महिला फुटबल पछि सन् १९८६ मा नेपालले पहिलो पटक एसियाली प्रतियोगितामा खेल्ने अवसर पायो । पहिलो महिला राष्ट्रिय कप्तानको रूपमा मेरै नेतृत्वमा हंगकंगमा आयोजित छैटौ एशियाली महिला फुटवल प्रतियोगितामा नेपालले डेब्यु गर्यो । हामी मैदानमा उत्रियौ । नेपालको घांस पनि नभएको मैदानमा फुटबल खेल्ने बानी परेको हाम्रा लागि हंगकंगको बिहानै बेलुकै पानी हालेर तयार पारिएको मैदान नौलो अनुभूति थियो । लचक लचक हुने त्यो मैदानमा दौड्नका लागि त्यति सहज थिएन, हाम्रा लागि ।

नेपालसँगै सोही साल डेब्यु गरेको हंगकंगलाई खेल अवधिभर हामीले दबाबमा राखेर खेल्न सकेपनि पछि अफ साइड भनेर छोडिएको बललाई गोल मानिए पछी हाम्रो हार निश्चित भयो । हुन त नेपालको पहिलो सहभागिता जित्न भन्दा पनि अनुभव बटुल्न निक्कै सफल भयो । इतिहास रच्न पनि ।

त्यसको लगतै १९८९ मा सातौ एसियाली महिला फुटवल प्रतियोगितामा पनि नेपालले सहभागिता पायो । दोश्रो राष्ट्रिय महिला कप्तानको रूपमा कमला हिराचनको नेतृत्वमा नेपाली टोली फेरी अन्तराष्ट्रिय मैदानमा उत्रियो । तर त्यसको १० बर्षसम्म नेपालको एसियाली महिला फुटवल प्रतियोगिताको सहभागितामा ताल्चा नै लाग्यो ।

१० बर्ष पछि सन् १९९९ मा फिलीपिन्समा आयोजित १३ औ एशियाली महिला फुटवल प्रतियोगितामा फेरी नेपालले सहभागि हुने मौका पायो । तेस्रो  राष्ट्रिय महिला कप्तानको रूपमा मीरा चौधरीको नेतृत्वमा गएको सोही टोलीमा सहभागी पेमा लामा पहिलो अन्तराष्ट्रिय गोल गर्ने नेपाली महिला खेलाडी समेत बनिन् । तर त्यसपछि फेरी नेपाली महिला फुटबल को एसियाली सहभागितामा भोटे ताल्चा नै लागेको छ । जुन अहिलेसम्म खुल्न सकेको छैन ।

हंगकंगमा पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको बेला बिश्वकै सर्वोच्च शिखर सगरमाथाको देशबाट आएको भन्दा मलेसियाको टिमको कप्तानको भनाई थियो । कति पटक सगरमाथा चढ्यौ ? पहाडको भिरमा कसरी फुटबल खेल्छौ ? मानौ हामी यति बहादुर छौ की भिरमा ड्रिब्लिङ गर्छौ । सगरमाथा हाम्रो मामा घर हो दिनदिनै दौडदै पुग्छौ । हंगकंगको पत्र पत्रीकाले ‘पहाडका फुटबल सुन्दरी’ शिर्षकमा हाम्रो खेलको तारिफ गर्दै हंगकंगसंगको खेलको सचित्र बणर्न गरेको प्रसंग खेलाडीको मनोबल बढाउन काफी थियो ।

हंगकंग पछि लगत्तै भारतको गोरखपुरमा आयोजित अल इन्डिया इन्भिटेसन खेलमा भाग लिदा पनि त्यहाँका प्रमुख पत्रिकाहरूले ‘पहाडोसे उतरी फूटबल परी ’ शिर्षकमा लेख लेखे पछि हामी बसेको होटेल बाहिर प्रशंसकहरूको भिड छिचोलेर मैदानमा पुग्न हामीलाई हम्मे परेको थियो । गोरखपुरमा हामी फाईनलसम्म पुग्यौ । तर, फाईनलमा भारतको उडीसा राज्यसँग हार्यौं ।

पहिलो पल्ट काठमाण्डौमा आमन्त्रण महिला फुटबल हुदै थियो । नेपालका ६ अञ्चल र भारतको २ टोलीको सहभागिता रहेको सो प्रतियोगिताको फाईनलमा बागमती र भारतको दार्जंलिग भिडेका थिए । रंगशाला खचाखच भरिएको थियो । जाडो मौसममा दशरथ रंगशालाको पूर्वी प्यारापिटमा बसेर खेलको आन्नद लिनुको मज्जा फुटबलका पारखीलाई मात्रै थाहा छ । यस्तै पारखी मध्येका एक मेरो बुवाले छोरीको म्याचको आनन्द लिन पुग्दा, आनन्द लिनु भन्दा पनि खेलाडीमाथि गरिएको सस्तो र अभद्र टिप्पणी सुन्दा नरमाइलो मान्नु भयो ।

त्यसबेला घरको वातावरणले मलाई झण्डै झण्डै फुटबलबाट सन्यास लिने अवस्थामा पुर्याएको थियो । कतिपय अवस्थामा पूर्र्वी प्यारापिट तिर बल आउट भएमा थ्रो गर्न जान समेत खेलाडीहरू डराउथे । अपशब्द संगसंगै स–साना ढुंगाहरू पनि बर्साउँथे, दर्शक ।

नेपाली महिला फूटबलको ३५ बर्षको ईतिहासमा खेलाडी थुप्प्रै जन्मिए तर खेलमा महिलालाई दिगो रूपमा समेट्ने कार्यक्रम नहुँदा २–४ बर्ष खेलेर छोड्नेहरू धेरै भए । ३५ वर्ष अगाडी फुटबल मैदानमा उत्रिएका मध्ये कल्पना शर्माले पहिलो महिला फिफा रेफ्री बन्ने साहस गरिन् । ललिता श्रेष्ठ र अरूणा गुरूङका रुपमा जम्मा–जम्मी २ जना महिला प्रशिक्षक उत्पादन गर्न मात्रै सफलता पायो, नेपाली महिला फुटबलले । तर अहिले नेपाली महिला फुटबल एसियाली खेलबाट बन्चित भएर दक्षिण एसियालीस्तर सिमित भएको छ ।

महिला फुटबलको इतिहासको पहिलो ५ वर्ष अत्यन्त उत्साहवर्दक थियो तर त्यसपछिका वर्षहरू त्यती उत्साहजनक थिएनन् । महिला र पुरूष खेल प्रतिको विभेद र खेल पदाधिकारीहरूको बढ्दो राजनैतिकरण अन्यक्षेत्रमा जस्तै महिला फुटबलमा देखिन थाले पछि यसको विकासको गति कछुवाको चालमा सिमित भयो ।

साभार– फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक स्मारिकाबाट गरिएको हो । मिसनसँग हाम्रो खेलकुद डटकमले अनलाइन सहकार्य गरेकाले आउने दिनमा स्मारिकामा रहेका अन्य लेख क्रमश: प्रकाशित हुनेछ ।

समर्पण फुटबलरका अन्य लेखहरु :

गणेश थापा – ‘फुटबलप्रति कुनै गुनासो छैन’

बाबुराम पुन – ‘मनबाट देशको माया कहिल्यै टाढा गएन’

अच्युतकृष्ण खरेल- ‘जति खेलियो कप्तानी नै गरियो’

राजुकाजी शाक्य – ‘रगत मै बगेको छ, फुटबल’

दीपक अमात्य – ‘जहाँ बसे पनि चिन्ता नेपाली फुटबलकै’

उपेन्द्रमान सिंह – ‘फुटबल बाहेक केही जानिन’

बालगोपाल महर्जन – ‘खेलाडी जीवनभन्दा प्रशिक्षक बन्न कठिन’

हरि खड्का- ‘फुटबलको नशाले कहिल्यै छोड्दैन’

राकेश श्रेष्ठ – ‘नेपालका लागि खेल्नु नै अमूल्य कमाइ’

अनिल गुरुङ -‘फुटबलबाट नाम र दाम दुवै कमाए’

‘फुटबलले जीवन बुझायो’ – विराज महर्जन

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.